चाडपर्वमा भिडभाड, सामाजिक दूरीको बेवास्ताले बढ्यो जोखिम
कोरोनाको संक्रमण फैलन सक्ने त्रास बढिरहेका बेला नयाँ वर्ष मनाउन १ वैशाखको बिहान विराटनगरको बजार क्षेत्रमा भिडभाड देखिएको छ ।
सामाजिक दूरीको ख्याल नै नगरी गरिएको भिडलाई प्रहरीले नियन्त्रण गरेको छ । नगरका विभिन्न चोकहरुमा बिहान उज्यालो नहुँदैदेखि तरकारीका फुटपाथ पसलहरु राखिएका थिए ।
प्रहरीले कडाइ गरेको गुद्री बजारमा पनि मानिसको अत्यधिक भिड थियो । बजार क्षेत्रमा खाद्य वस्तु, तरकारी र मासु खरीद बिक्री गर्नेको बिहान ८ बजेसम्म भिड थियो ।
भिड बढेपछि प्रहरीले बजार बन्द गराएको छ । प्रहरीले माइकिङ गरेर खुलेका पसल बन्द गराउँदै र फुटपाथका सब्जी व्यापारीलाई हटाएको छ ।
“स्वस्थ्य रहे नयाँ वर्ष मनाउन पाइन्छ, एक दिनको मिठो खानाको आशामा कोरोना संक्रमणको जोखिम बढ्छ”, प्रदेश सरकारका विज्ञ समूह सदस्य सोम अधिकारीले भने, “विश्व स्वास्थ्य संगठनले सचेत गराइरहेका बेला सर्वसाधारणले त्यसलाई बेवास्ता गरेको देखिन्छ ।”
सरकारले आवश्यक खाद्य वस्तु खरीद बिक्री गर्न दिने निर्देशन गरेको छ । तर, खरीद बिक्री गर्नेहरुले सामाजिक दूरीको पालना गरेको पाइँदैन ।
मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारी मानिसमै सामाजिक दूरीको चेतना नभएको बताउँछन् । “एक प्रहरी बराबर ५ सय ४३ मानिस पर्छन् कहाँ कहाँ हेरेर सक्नु” उनले भने, “ दूरी कायम गराउन स्थानीय आफै चेतनशीत हुनुपर्ने हो ।”
लकडाउनमा मानिसको आवागमन बढी हुन थालेकाले थप कडाइ गरिंदै लगिएको छ । यस अवधिमा उल्लंघन गर्ने २ हजार सवारी साधनलाई मोरङ प्रहरीले कारवाही गरिसकेको एसपी अधिकारीले बताए ।
लकडाउनको पालना नगर्ने ७ जना मानिसलाई नियन्त्रणमा लिएको र सडकमा हिंड्ने ठूलो संख्यामा मानिसलाई कारवाही स्वरुप केहीबेर उभ्याइएको उनले जानकारी दिए ।