रसायनिक मल आपूर्तिको अड्चनले उत्पादन खस्किने जोखिम, भोकमरीको त्रास
प्रमुख अन्नबाली धानमा किसानले रसायनिक मल हाल्न नपाउने जोखिम बढ्दा कोरोना कहरका कारण शिथिल अर्थतन्त्र थप थलिने मात्र होइन, किसान भोकमरीमा धकेलिन सक्ने देखिएको छ।
बन्दाबन्दीका बीच अहिले देशभरका किसानलाई खेतबारीमा मकै छर्ने चटारो छ। धानपछिको दोस्रो मुख्य अन्नबाली मकैलाई आवश्यक पर्ने मलखादबारे केही सातामा किसानले सोधखोज शुरु गर्नेछन्। मकैलगत्तै धान खेतीको मौसम शुरु हुन्छ। तर, किसानलाई मल उपलब्ध गराउन सरकारी संस्थाहरूले आउने वर्षायाममा किसानले मागे जति रसायनिक मल दिन सक्ने छैनन्।
रसायनिक मल नेपालमा उत्पादन हुँदैन। किसानको मागभन्दा थोरै मात्र गोदाममा बाँकी रहेको र भन्नेबित्तिकै मल भित्र्याउन पनि नसकिने भएकाले यो वर्ष रसायनिक मलको अभाव चर्किने जोखिम छ। किसान कस्तो हैरानीमा पर्दैछन् भने, रसायनिक मल विना नै धानसहितका वर्षे बाली लगाउनुपर्ने हुनसक्छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार, अहिले देशभित्र ६५ हजार टन युरिया, ५५ हजार टन डीएपी र ६ हजार टन पोटास गोदाममा छ। अहिले उपलब्ध डीएपी र पोटास असार अन्तिमसम्मका लागि पर्याप्त हुन्छ। तर, धेरै किसानको खोजीमा पर्ने युरियाले भने जेठ महीनासम्मको मात्रै माग थेग्छ। अर्थात्, कृषि अर्थतन्त्रको बलियो आधार तथा ग्रामीण जीवनको मेरुदण्ड धान बालीका यो वर्ष मल नै उपलब्ध हुनेछैन।
गएको वर्ष वैशाख र जेठमा झण्डै ६० हजार मेट्रिक टन युरिया मल खपत भएको तथ्यांकका आधारमा अहिले सरकारी गोदाममा भएको युरिया जेठसम्म मात्र पुग्छ। धान खेतीका लागि बढी मल आवश्यक पर्ने असार, साउन र भदौमा भने मलको आपूर्ति कसरी हुने भन्ने अनिश्चय छ। यी तीन महीनामा मात्रै कम्तीमा १ लाख १५ हजार मेट्रिक टन युरिया मल चाहिन्छ।
कोरोना भाइरस (कोभिड–१९) महामारीबाट सिर्जित अप्ठ्यारोका कारण रसायनिक मल ल्याउन व्यवधान उत्पन्न भएको छ। तीन फरक बोलपत्र मार्फत झण्डै १ लाख मेट्रिक टन युरिया मल ल्याउन सरकारले गएको पुस र माघमा प्रक्रिया थालेको थियो। तर, बन्दाबन्दीका कारण खरीदका यी काममा अड्चन आएको छ। २५ हजार टन डीएपी पनि भारतको कलकत्तामै अड्किएको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसी अहिले उपलब्ध रसायनिक मलले चैते धान र मकै बालीलाई पुगे पनि थप मल आयात गर्न नसकिए वर्षे धान बालीलाई असर पर्ने देख्छन्। मल अभाव हुने भएपछि सम्बद्ध सरकारी अधिकारीहरुले गोदाममा रहेको मललाई किफायती प्रयोग गर्न सुझाव दिएका छन्। कृषि सामग्री कम्पनीका महाप्रबन्धक नेत्र भण्डारी भन्छन्, “भएको मललाई किसानले फारो गरी प्रयोग गर्नुबाहेक विकल्प छैन।”
कोरोनाले आयातमा अवरोध
रसायनिक मलको आपूर्ति सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी र साल्ट टे«डिङले गर्छन्। गएको माघको पहिलो साता साल्ट टे«डिङले २१ हजार ५०० मेट्रिक टन युरिया मल किन्न बोलपत्र आह्वान गरेको थियो। अवस्था सहज भएको भए आपूर्तिकर्ता कम्पनीले खाडी मुलुक ओमानबाट यो मल नेपालतर्फ पठाइसक्ने थियो। सम्भवतः जेठसम्ममा मल आइपुगिसक्ने थियो। तर, ठेक्का पाएको कम्पनीले अहिलेसम्म उत्पादकबाट मल किनेर नेपालतर्फ पठाउनै सकेको छैन। यसको ठेक्का प्रक्रियामा पनि विवाद छ। त्यसैले मल कहिले आइपुग्ने हो भन्ने अन्योल छ।
त्यस्तै, कृषि सामग्री कम्पनीले थप ५० हजार मेट्रिक टन युरिया मल भित्र्याउन आपूर्तिकर्ता कम्पनी छनोट भइसके पनि सम्झौता हुन सकेको छैन। यसबाहेक ३० हजार मेट्रिक टन युरिया खरीदका लागि बोलपत्र आह्वान गरिए पनि बन्दाबन्दीका कारण बोलपत्र खोलिएको छैन। “मल ल्याउन सकिने विषयमा आपूर्तिकर्ता कम्पनी नै सशंकित छन्, जसका कारण सम्झौता गर्नै सकिएको छैन”, कृषिका महाप्रबन्धक भण्डारी भन्छन्।
मल भन्नेबित्तिकै खरीद गर्न पाइँदैन। अन्तर्राष्ट्रिय आपूर्तिकर्तासँग प्रतिस्पर्धा मार्फत किन्नुपर्ने हुँदा प्रक्रिया थालेको कम्तीमा ६ महीनापछि मात्रै देशभित्र आइपुग्छ। आपूर्तिकर्तासँग सम्झौता भइसकेपछि पनि तीन महीना लाग्छ । जस्तो, कृषि सामग्री कम्पनीले २६ चैतमा २५ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी गरी ४५ हजार मेट्रिक टन रसायनिक मल किन्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। यो मल नेपाल आइपुग्न कम्तीमा सामान्य अवस्थामा भदौसम्म कुर्नुपर्छ। अहिलेकै अनिश्चय कायम रहे त कहिलेसम्म लाग्छ भन्न सकिन्न।
आपूर्तिकर्ताले अरबका देश, चीन आदि स्थानबाट मल खरीद गरी ल्याएर सरकारी कम्पनीलाई आपूर्ति गर्छन्। तर, कोरोना भाइरसका कारण मल उत्पादनको प्रक्रिया नै खल्बलिएकाले अन्तर्राष्ट्रिय बजारमै मल किन्न पाइने हो कि होइन भन्ने आशंका छ। “ठेक्का परेका आपूर्तिकर्ताले नै अन्तर्राष्ट्रिय बजारमा रसायनिक मल किन्न नपाइने हो कि, बजार मूल्य बढ्ने हो कि भनेर डराइरहेका छन्, त्यसैकारण धानबालीका लागि मलको आपूर्ति अनिश्चयमा परेको छ”, भण्डारी भन्छन्।
खरीद गरिसकिएको मल पनि बन्दाबन्दीका कारण अड्किएको छ। साल्ट टे«डिङले खरीद गरेको २५ हजार टन डीएपी मल बन्दाबन्दीपछि कामदार अभावका कारण भारतको कलकत्ता बन्दरगाहमै अड्किएको कम्पनीका सहायक महाप्रबन्धक पंकज जोशी बताउँछन्। कलकत्ताबाट मल नेपाल आइपुग्नै कम्तीमा एक महीना लाग्छ। भारतमा बन्दाबन्दी केही साता लम्बिने संकेत देखिएकाले कलकत्तामा रोकिएको मल नेपाल आइपुग्न पनि थप कुर्नुपर्नेछ। जोशी रसायनिक मल नेपाल भित्रिए पनि गोदामबाट किसानको खेतसम्मै पु¥याउन चुनौती देख्छन्। “बन्दाबन्दीका कारण गोदाममा भएको मल पनि किसानको खेतसम्म नै पु¥याउन नसकिने हो कि भन्ने चुनौती देखिन्छ”, उनी भन्छन्।
अर्थतन्त्रलाई धक्का
कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले स्थानीय सरकारहरुलाई पत्र लेखेर कोरोना महामारीबाट कृषि क्षेत्रमा पर्नसक्ने असर विरुद्ध प्रभावकारी हस्तक्षेप गर्न नसकिए भोकमरी निम्तिन सक्ने चेतावनी दिएका छन्। यसका लागि उनले स्थानीय सरकारहरुको साथ पनि खोजेका छन्। संघीय सरकार र स्थानीय सरकारहरुले जतिसुकै बल गरे पनि मलको अभावमा कृषि उत्पादन बढ्दैन। कृषि उत्पादनमा नबढ्दाको दुष्परिणाम खाद्य असुरक्षादेखि कोरोनाले थलिएको अर्थतन्त्रलाई थप गम्भीर चोट पुग्नेछ।
किसानले समयमा रसायनिक मल नपाए कृषि उत्पादकत्वमा पर्याप्त गिरावट आउँछ। विरुवालाई सप्रिन तथा उत्पादन हुन १६ तत्व चाहिन्छ, जसमध्ये नाइट्रोजन, फोस्फोरस र पोटासको मुख्य भूमिका हुन्छ। युुरियाले नाइट्रोजन आपूर्ति गर्छ भने डीएपीले नाइट्रोजन तथा फोस्फोरस। माटो विज्ञ तथा प्रदेश–५ को कृषि विकास मन्त्रालयका सचिव तेजबहादुर सुवेदी भन्छन्, “समयमा मलखाद दिन नसके अन्न उत्पादन एक तिहाइ ह्रास हुन सक्छ।” उनका अनुसार, एक किलो रसायनिक मल हाल्दा १० किलो उत्पादन बढ्ने अनुमान गरिन्छ। नेपालमा बर्सेनि धान, मकै, गहुँ, कोदो, जुनेलो आदि गरी करीब १ करोड १० लाख मेट्रिक टन अन्न उत्पादन हुन्छ। यसमध्ये आधाभन्दा बढी त हिस्सा त धानले ओगट्छ।
अहिले खरीद प्रक्रिया अगाडि बढाइएका रसायनिक मल धान रोप्ने र गोड्ने वेलासम्ममा नआइपुगे किसानको आय मात्र होइन, राष्ट्रिय अर्थतन्त्रमै झड्का पुग्छ। देशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको भूमिका २७ प्रतिशतजति छ। कृषिको कुल गार्हस्थ्य उत्पादनमध्ये धानबालीको मात्र हिस्सा २१ प्रतिशत हाराहारीमा छ। आर्थिक वर्ष २०७५÷७६ मा अहिलेसम्मकै धेरै ५६ लाख १० हजार मेट्रिक टन धान फल्दा आर्थिक वृद्धिदरमा पनि बलियो टेको पुगेको थियो। चालु आर्थिक वर्ष २०७६÷७७ मा भने धानको उत्पादन १ प्रतिशतजति घटेर ५५ लाख ५० हजार टन मात्रै भएको छ।
रसायनिक मल समयमै आयात हुन नसके उत्पादन कम भएर अर्थतन्त्रमा कम्तीमा एकदेखि दुई प्रतिशतसम्मको गिरावट आउनसक्छ। धान उत्पादन १५ प्रतिशतजति मात्रै घटे पनि कुल गार्हस्थ्य उत्पादनमा करीब १ प्रतिशत गिरावट आउँछ।
कोरोनाका कारण अर्थतन्त्र संकटग्रस्त भएका वेला मल अभावका कारण कृषि उत्पादन पनि घटेमा त्यसले अर्थतन्त्रमा मात्र होइन, खाद्य सुरक्षामा पनि भयावह दुष्परिणाम निम्त्याउनसक्छ। अहिले पनि बर्सेनि रु.३२ अर्बभन्दा बढीको चामल आयात गर्नुपर्छ। मुलुकमा उत्पादन खस्किनेबित्तिकै थप आयात गर्नुपर्ने चुनौती थपिन्छ। तर, भारतसहितका देशमा पनि कोरोनाका कारण उत्पादन तथा आपूर्तिमा संकट आए त्यसले बजारमा खाद्यान्नको मूल्यवृद्धि गराएर गरीबले खरीद गर्न कठिन हुनसक्छ। विश्व खाद्य कार्यक्रमले कोरोना भाइरसका कारण उत्पादन र आपूर्तिको प्रक्रियामा व्यवधान आउँदा विश्व खाद्य संकट निम्तिन सक्ने चेतावनी दिइसकेको छ।