दक्षिण एसियामा भारत र पाकिस्तान कोरोनाभाइरसको ‘हटस्पट’, भुटान, माल्दिभ्स र नेपालमा संक्रमित कम
दक्षिण एसियामा भारत कोरोनाभाइरस संक्रमणको सबैभन्दा जोखिमपूण अवस्थाबाट गुज्रिरहेको छ। पाकिस्तानमा पनि संक्रमण दर बढिरहेको छ। भुटान भने सबैभन्दा सुरक्षित देखिएको छ।
भारतमा अहिलेसम्म ३३१ जनाको मृत्यु भइसकेको छ। त्यहाँ नौ हजार २०५ जना संक्रमितमध्ये एक हजार ८० जना निको भएका छन्। त्यहाँ विगत चार दिनदेखि औषत ८०० भन्दा माथिको संख्यामा संक्रमित फेला परिरहेका छन्। ९ अप्रिलमा एकै दिन ४९ जनाको मृत्यु भएको थियो भने हिजो आइतबार ४३ जनाको मृत्यु भयो।
भारतमा संक्रमणको दर बढ्दा दक्षिण एसियाका राष्ट्र जोखिममा पर्ने संभावना बढ्छ। खासगरी नेपाल, भुटान र बंगलादेशमा यसको प्रभाव पर्छ। यी देशबाट कामका लागि भारत जाने र भारतीय पनि आउने गर्छन्।
भारतबाट धार्मिक सभामा भाग लिन केही महीनाअघि नेपाल आएका तीन जनामा भर्खरै संक्रमण भेटिएको छ। यद्यपि अहिले नेपाल, भुटान र बंगलादेशले भारत लगायत सबै देशसँगको सीमा पूर्ण रूपमा बन्द गरेका छन्।
भारतपछि पाकिस्तान बढी आक्रान्त छ। यहाँ अहिलेसम्म ९१ जनाको मृत्यु भएको छ। पाँच हजार २३० संक्रमितमध्ये एक हजार २८ जना निको भएका छन्। पाकिस्तानमा पहिलोपटक फेब्रुअरी २६ मा दुई जना संक्रमित फेला परेका थिए।
मार्च १८ मा एकै दिन दुई जनाको मृत्यु भयो। अप्रिल ११ मा एकै दिन २० जनाको मृत्यु भयो। आइतबार भने पाँच जनाको मृत्यु भयो।
अप्रिल ६ मा त्यहाँ सबैभन्दा बढी ६०९ संक्रमित फेला परेका थिए। त्यस यता नयाँ संक्रमितको संख्या घटेको छ। गत शनिबार ३१६ र आइतबार २१९ नयाँ संक्रमित फेला परेका छन्।
उता बंगलादेशमा संक्रमित धेरै नभेटिए पनि मृत्युदर उच्च भएको छ। त्यहाँ जम्मा ६२१ संक्रमित भेटिएका छन्। जसमध्ये ३४ जनाको मृत्यु भएको छ। तीमध्ये २५ जनाको पछिल्लो एक सातामै मृत्यु भएको हो। संक्रमितमध्ये ३९ जना निको भएका छन्।
बंगलादेशमा आइतबार एकैदिन १३९ संक्रमित भेटिए। यो एकैदिन भेटिएको अहिलेसम्मकै ठूलो संख्या हो। त्यहाँ पछिल्लो पाँच दिनमा ४५७ नयाँ संक्रमित भेटिएका हुन्।
श्रीलंकामा २१० संक्रमित भेटिँदा सात जनाको मृत्यु भएको छ। ५६ जना निको भएका छन्। श्रीलंका सरकारले कोरानाभाइरस संक्रमण भएर मृत्यु भएका सबैको शव जलाएपछि धार्मिक विवाद सुरु भएको छ। मृत्यु भएकामध्ये तीन जना मुसलकान थिए।
जुनसुकै धर्मावलम्बी भए पनि मृत्यु भएका संक्रमितको शव जलाउन सरकारले आदेश जारी गरेको छ। तर, सरकारको आदेशको अल्पसंख्यक र मुसलमान समुदायले विरोध गरेका छन्। त्यहाँका स्वास्थ्यमन्त्री पवित्रा वाणिअराचछीले संक्रमण फैलन नदिन यस्तो निर्णय गरिएको बताएका छन्।
दक्षिण एसियामा माल्दिभ्स, नेपाल र भुटान तुलनात्मक सुरक्षित देखिएका छन्। भुटान सबैभन्दा कम संक्रमित छ। त्यहाँ अहिलेसम्म जम्मा ५ जना संक्रमित भेटिएकामा दुई जना निको भइसकेका छन्। भुटानमा अप्रिल ३ यता नयाँ संक्रमित भेटिएकना छैनन्।
माल्दिभ्समा अहिलेसम्म २० जना संक्रमित भेटिए पनि १४ जना निको भइसकेका छन्। त्यहाँ अप्रिल १ पछि आइतबार एक जना नयाँ संक्रमित भेटिएका छन्।
नेपालमा भने अहिलेसम्म १२ संक्रमित फेला परेकामा एक जना निको भएका छन्। अप्रिल ४ मा नयाँ तीन संक्रमित भेटिएका थिए। त्यसपछि आइतबार थप तीन संक्रमित भेटिएका छन्।
*सच्याइएको