'एक घण्टाको अभिमुखीकरणको भरमा चेकजाँच गरिरहेकी छु'
काेराेना कथा टीम र हिमालकाे सहकार्य
“मेरो नाम सजिता परियार हो । मेरो घर गोर्खा जिल्लाको सिरानचौर गाउँपालिकामा पर्छ । मेरो ४ वर्षको छोरा छ । अहिले म ४ महिनाको गर्भवती पनि छु ।
म विगत ६ वर्षदेखि अनमी पदमा कार्यरत छु । अहिले कोरोना भाइरसका कारण सरकारले खटाएको ठाउँमा जानैपर्छ । स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरु सुत्केरी वा गर्भवती अवस्थामा पनि बिदा नलिई काम गर्नुपर्ने सूचना आयो । त्यसैले म गर्भवती भए पनि स्वास्थ्य सेवा दिने मेरो काम जारी नै छ । आफ्नो कार्यक्षेत्र भन्दा ४ किलोमिटर टाढा आएर दैनिक कम्तिमा ५० देखि ६० जना बिरामी चेकजाँच गर्नुपर्छ ।
कोरोनाबारे पहिला न कतै सुनेकी थिएँ, न त कतै पढेकी नै । एक्कासी यो फैलिन थालेपछि नगरपालिकाले संचालन गरेको एक घण्टाको अभिमुखीकरणको भरमा चेकजाँच गरिरहेकी छु । सरकारले दैनिक खाजा भत्ता मात्र दिने आश्वासन दिएको छ ।
योसँगै पेशागत जोखिम पनि अत्यास लाग्दो नै छ । हामीले मास्क, पन्जा आदि आफैं किनेर लगाइरहेका छौ । साबुन पानीले हात धोएर, अरुलाई पनि धुन लगाई तीन मीटरसम्मको दूरी कायम गरी, गोलो घेरामा राखेर आफ्नो काम गरिरहेकै छौं । तर कोरोनाको विरामी बढदै गयो भने मेरो आफ्नै ज्यान जोखिममा पर्छ कि भन्ने डर छ। आफू गर्भवती भएकाले पनि झन डर थपिएको छ । एक ज्यानको मात्रै कुरा भएन नि !
अप्रत्याशित महामारीका कारण थपिएको धपेडी तथा अस्थायी, अनिश्चित र असुरक्षित बसाइका बावजुद पनि आफ्नो पेशा अनुसारको कर्तव्य पालना गरिरहेको छु । तर मनले भने घरमा रहेको सानो छोरालाई सम्झिरहन्छ। यस्तो कोरानामय वातावरणमा अबोध बच्चालाई चाहिने स्वास्थ्य र सरसफाई सम्बन्धी आवश्यक कुराहरुबाट पनि वञ्चित बनाएर आफू ड्युटीमा रहुनुपर्दा कुनै बेला त भक्कानिएर रुन मन लाग्छ । तर फेरि सोच्छु, व्यक्तिगत स्वार्थभन्दा पनि माथि पेशागत कार्य हुन्छ । “सेवा नै धर्म हो” भन्ने भनाइबाट प्रेररित भई जेजति समस्या आए पनि आफ्नो कर्तव्य पालना गरिरहेकी छु ।
सबै भोगाइ, पीडा र दु:खबाट माथि उठी असहज परिस्थितिको सामना गर्दै काम गर्दा केही नयाँ सिकाइ पनि भएको छ । अरु केहि नभए पनि समुदायका आम मानिस र म जस्ता स्वास्थ्यकर्मीले बेलाबेलामा हात धुनुपर्ने र सरसफाई गर्नुपर्ने कुरा अहिले यो कोरोनाको कारणले बानी बसाल्नेछ भन्ने आशा लिएकी छु ।"
कथा किन ?
अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ । संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागी हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ । जो अहिले तेस्रो सातामा छ ।
विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ । हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तिकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना । २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखी हिमालखबर पनि जोडिएको छ ।
मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो । भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छैँ ।
संयोजक, कथा कोरोना टीम
@KathaCorona
सम्पादक
himalkhabar.com
@HImal_khabar