नेपालको उच्च स्थानमा पहिलो पटक भेटियो पाटे बाघ
दुई हजार ५०० मिटरको उचाईमा डडेलधुराको महाभारत क्षेत्रमा राखिएकाे क्यामेरामा पाटे बाघ कैद भएको छ । नेपालमा याे उचाईमा पहिलाे पटक पाटे बाघ भेट्टिएकाे डिभिजनल वन कार्यालय डढेलधुराका डिभिजन वन अधिकृत विष्णु आचार्यले बताए ।
तराई र उष्णप्रदेशीय हावापानीमा मात्र पाइने पाटे बाघ यो उचाईमा पाइएको नेपालको वन क्षेत्रको इतिहासमा पहिलो पटक भएको आचार्यले बताए । यसअघि भुटानको थ्रुम्शिङ्ला राष्ट्रिय निकुञ्जमा दुई हजार ७६५ मिटर उचाईमा पाटे बाघको क्यामरा ट्राप भएको थियो।
तराई भूपरिधि कार्यक्रम, विश्व वन्यजन्तु कोष नेपालको आर्थिक एवं प्राबिधिक सहयोग र डिभिजन वन कार्यालय डडेल्धुराको संयुक्त आयोजनामा गत ६ मार्चदेखि ६ अप्रिलसम्म महाभारत वन क्षेत्रको वन्यजन्तुको अध्ययन गरेर त्यहाँ पाटे बाघको उपस्थितिलाई यकिन गर्ने उद्देश्यले ३२ जोडी क्यामेरा राखिएका थिए ।
हाल उक्त ३२ जोडी मध्ये १ स्थानमा पाटे बाघको तस्वीर ट्रयाप भएको हो । “भेटिएको बाघ आगन्तुक हो वा स्थायी हो, यसका लागि अध्ययन गर्नुपर्दछ”, आचार्यले भने, “स्थानीयले बाघ हिंडेको बताएका थिए, तर रेकर्ड भएको थिएन । अहिले उच्च स्थानमा पनि पाटे बाघ भेटिएको प्रमाण प्राप्त भयो ।”
डढेलधुरा नेपालकै सबैभन्दा बढी वन क्षेत्र भएको जिल्ला हो । करिव एक लाख १५ हजार हेक्टर वन क्षेत्र डढेलधुरामा पर्छ। विश्वमै दुलर्भ मानिएको पाटेबाघको संख्या नेपालमा २३५ छ ।
सन् २०१३ को गणनाअनुसार, नेपालमा बाघको सङ्ख्या १९८ थियो। सन २०१८ को गणना अनुसार चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए ।
नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको र हाल त्यसको सङ्ख्या वृद्धि भएको विभागले जनाएको छ। पाटे बाघ विश्वका १३ देशमा पाइन्छ ।
विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिवद्धता गरेको थियो ।
सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी बाघकाे संख्या भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा दुई छ। इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भूटान, भियतनाम, मलेसिया, म्यानमा, रसिया र लाओसमा बाघ पाइन्छ। विश्वभर बाघको सङ्ख्या भने तीन हजार ८९० रहेको छ ।
क्यामेरामा पाटे बाघको साथै रेड फक्स, चितुवा, घोरल, लार्ज इन्डिएन् सिभेट, लिओपार्ड क्याट, दुम्सी, मृगका प्रजातिहरू, चराहरु लगाएत सयौ महत्वपूर्ण वन्यजन्तुको तस्वीर कैद भएका छन् ।
यसले डडेल्धुरा जिल्लाको महाभारत वन क्षेत्र वन्यजन्तुको उपस्थितीको हिसावले महत्वपूर्ण रहेको डिभिजन वन अधिकृत आचार्य बताउँछन् ।
अब महाभारत वन क्षेत्रलाई कसरी संरक्षण गर्दै अगाडि बढाउन सकिन्छ भन्ने महत्वपूर्ण विषयमा गम्भीरतापुर्वक सोच्न जरुरी भएको डिभिजन वन प्रमुख आचार्य बताउँछन् ।