आठ दिनपछि अस्पतालबाट डिस्चार्ज भए बेलायतका प्रधानमन्त्री जोनसन
एक साता लामो अस्पताल बसाइपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतबार साँझ डिस्चार्ज भएका छन्। कोरोनाभाइरस संक्रमण भएपछि उनी अघिल्लो आइतबार (अप्रिल ५) मा लण्डस्थित सेन्ट थोमस हस्पिटल भर्ना भएका थिए।
स्वास्थ्यमा सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज दिएको हो। अप्रिल ५ का नियमित जाँचका लागि भन्दै अस्पताल पुगेका उनलाई भर्ना गरेर राखिएको थियो।
स्वास्थ्यअवस्था नाजुक भएपछि अप्रिल ६ मा उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको थियो। तीन दिन आईसीयूमा राखेपछि उनलाई जनरल वाडमा सारिएको थियो।
उनलाई मार्च २७ मा संक्रमण भएको पुष्टि भएको थियो। १० दिन प्रधानमन्त्री निवास ‘डाउनिङ स्ट्रिट’ मा नै क्वारेन्टिनमा बसेपछि मात्र उनी अस्पताल गएका थिए।
अस्पतालबाट डिस्चार्ज भएपछि उनले ट्विटरबाट भिडियो जारी गर्दै स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन्। उनले दुई नर्सको नामै लिएर विशेष आभार प्रकट गरेका छन्।