अनलाइन पसलको व्यस्तताः बन्दाबन्दीमा माग धान्नै मुस्किल !
प्रविधिको विकाससँगै पछिल्ला वर्षहरूमा फस्टाइरहेको अनलाइन व्यापारप्रति बन्दाबन्दीको यो वेला आकर्षण थप बढे पनि व्यवसायीहरूले माग अनुसार आपूर्ति गर्नै सकेका छैनन् ।
फोर्ब्सले २० चैत २०७६ मा सार्वजनिक गरेको सूची अनुसार फोर्ब्स एशियाको ३० वर्ष मुनिका ३० जना सामाजिक उद्यमीको सूचीमा ६ जना नेपाली युवा पर्न सफल भए। यी ६ मध्ये दुई संस्थाका तीन जना अनलाइन मार्फत व्यवसायको दायरा बढाइरहेका छन्। फोर्ब्सको सामाजिक उद्यमीको सूचीमा रहेका एक हुन्, फूडमारियोका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोहित तिवारी। फूडमारियोले घर र रेस्टुरेन्टमा बन्ने खाना र खाजा अनलाइन अर्डरका आधारमा ग्राहकको घरदैलोमा पुर्याउँछ।
विविध परिकार तात्तातै मगाउन सकिने फूडमारियो गृहिणीदेखि विद्यार्थीसम्मका लागि खाना तथा खाजा बिक्री गरेर आम्दानी गर्ने माध्यम बनेको छ। हाल फूडमारियोमा एक सयभन्दा बढी घरका सेफले खाना तथा खाजा तयार पार्छन् भने करीब १० लाख ग्राहक जोडिएका छन्।
फोब्र्सको सूचीमा पर्न सफल अर्का दुई अनलाइन उद्यमी हुन्, अर्बन गर्लका संस्थापकद्वय निकिता आचार्य र किरण तिम्सिना। सन् २०१२ बाट शुरु भएको अर्बन गर्लले काठमाडौं र पोखराबाट ई–कमर्शको सेवा दिइरहेको छ। कम्पनीले वेबसाइटबाट गरगहना, टीसर्ट, पानीका बोतल, केक बिक्री गर्छ। ५० जनालाई रोजगारी दिइरहेको कम्पनीले मेकअप, घरायसी साजसज्जा र विद्युतीय सामान पनि बिक्री वितरण गर्छ।
फूडमारियो र अर्बन गर्ल जस्तै अहिले नेपालमा प्रविधिको प्रयोग गरी अनलाइन मार्फत सेवा दिन दर्जनौं कम्पनी होमिएका छन्। विभिन्न वस्तु र सेवा बिक्री गर्ने यी कम्पनीहरू इन्टरनेटको सहजता र स्मार्टफोन प्रयोगकर्ताको संख्यासँगै दिनदिनै बढिरहेका छन्।
प्रविधिमा आम उपभोक्ताको पहुँचसँगै अनलाइन व्यापारको विस्तार भइरहँदा पछिल्लो समय मोबाइल फोन नै वालेट अर्थात् पैसाको थैलीको रूपमा प्रयोग हुन थालेको छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार, अहिलेसम्म १३ वटा कम्पनीले भुक्तानी सेवा प्रदायक अर्थात् मोबाइल वालेटको अनुमति पनि पाइसकेका छन्। यस्तै, ९ वटा कम्पनीले भने भुक्तानी प्रणाली सञ्चालनको अनुमति लिएका छन्। यी कम्पनी सबैले कुनै न कुनै रूपमा ई–कमर्शसँग सहकार्य गर्ने र व्यापार व्यवसायलाई प्रविधिमैत्री बनाइरहेका छन्। सूचना–प्रविधिको अधिकतम सुविधा प्रयोग गर्दै मोबाइलबाट नगदरहित कारोबार गर्न वालेट र ई–कमर्श दुबै प्रभावकारी बन्दै गएका छन्।
अनलाइन व्यापार गर्ने कम्पनीहरूको विविधतासँगै तरकारी, फलफूलदेखि कपडा, विद्युतीय सामान तथा खाद्यान्नसहित दैनिक आवश्यकता पूर्तिका सामान मोबाइलको एक क्लिकबाट खरीद गरेर घरैमा प्राप्त गर्न सकिन्छ। ई–कमर्शको बजार बढिरहँदा यसैमा भविष्य देखेर आउनेको संख्या पनि बढेको अनलाइन सपिङ स्टोरसस्तो डिलका बजार प्रबन्धक प्रज्वल ताम्राकार बताउँछन्। प्रविधिको युगमा ब्याङ्क तथा वित्तीय संस्था, मोबाइल वालेट, विभिन्न प्रकारका डिपार्टमेन्ट स्टोरदेखि वस्तु तथा सेवाको उत्पादन तथा बिक्री वितरण गर्नेसम्मका कम्पनीले अनलाइन कारोबारमा ई–कमर्शसँगै सहकार्य गर्ने वातावरण सिर्जना भएको उनको भनाइ छ।
ताम्राकार अहिलेको बन्दाबन्दी (लकडाउन) मा अनलाइन किनमेलतर्फ ठूलो आकर्षण देखिए पनि यो अवसरलाई सदुपयोग गर्न गाह्रो परिरहेको बताउँछन्। उनी भन्छन्, “अहिले सहजै सेवा दिन गाह्रो भएकाले बजारमा माग अनुसार आपूर्ति गर्न सकिएको छैन। विभिन्न समस्या र प्रभावकारी प्रणाली नबनेका कारण सानो दायरामा खुम्चिएर काम गर्नुपरेको छ।”
अन्तर्राष्ट्रिय क्षेत्रमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि अधिकांश ठाउँमा लकडाउन लागू गरिएको यो वेला ई–कमर्शको लागि निकै प्रभावकारी देखिएको छ। नेपालमा भने भएका पनि बन्द भएका छन् भने सेवाको दायरा साँघुरो बनाउनुपरेको व्यवसायीहरू बताउँछन्।
बन्दाबन्दीपछि माग उच्च, आपूर्तिमा सकस
अनलाइन मार्फत खाना तथा खाजाको सेवा दिने मुलुककै पहिलो ई–कमर्श कम्पनी फूडमाण्डु बन्दाबन्दीका कारण तत्कालका लागि बन्द भएको छ। यो कम्पनीले बजारमा ग्राहकको माग अनुसार १८ चैतदेखि किराना सामग्रीको सेवा दिन शुरु गरेको छ। फूडमाण्डुका संस्थापक मनोहर अधिकारी नयाँ काम गर्न लकडाउनले अवसर दिएको र अब यसलाई सदुपयोग गर्ने बताउँछन्। “लकडाउनका कारण रेस्टुरेन्ट बन्द भएको समयलाई अवसर बनाउँदै ताजा तरकारी, फलफूल, दुग्धजन्य सामग्री, अण्डा, माछामासु लगायत बिक्री गर्ने सेवा थालेका हौं”, उनी भन्छन्।
अनलाइनमा आएका अर्डरलाई घरघरमा सुरक्षित तरिकाले पुर्याउने अहिलेको आवश्यकता भए पनि ग्राहकको माग अनुसार सेवा दिन नपाएको अधिकारी बताउँछन्। “माग अधिक भए पनि दुई वटा भ्यान मात्रै चलाउन अनुमति पाएकाले न्यून सेवामै चित्त बुझाएर बस्नुपरेको छ”, उनी भन्छन्।
ग्रामीण भेगका तरकारी, फलफूल लगायतका कृषि उत्पादन काठमाडौं उपत्यकामा अनलाइन मार्फत बिक्री गर्दै आएको ग्रीन ग्रोथका सह–संस्थापक सौरभ ढकाल अहिले बजारबाट थेग्नै नसक्ने गरी माग आइरहेको बताउँछन्। तर, संस्थाको सीमित स्रोत–साधन तथा अहिले बन्दाबन्दीको अवरोधका कारण थोरै मात्रै अर्डर लिनुपरिरहेको उनको भनाइ छ। “हाम्रो अर्गानिक उत्पादनप्रति दिनदिनै माग बढिरहँदा सामान्य अवस्थामा पनि दैनिक एक सय वटा घरमा मात्रै सेवा दिन सकिरहेका थियौं, अहिलेको लकडाउनले त मुश्किलले ३० घरमा पुग्न पनि गाह्रो भइरहेको छ”, उनी भन्छन्।
ढकालका अनुसार, देशका १४ वटा कृषि फार्मबाट अर्गानिक उत्पादन लिइरहेको ग्रीन ग्रोथले बन्दाबन्दीले पारेको असहजताका कारण अहिले काभ्रेको एउटा फर्मबाट मात्रै उत्पादन बजारमा ल्याउन पाएको छ। बाँकी उत्पादन बारीमै खेर गइरहेका छन्। “सरकारले सहजीकरण गरिदिए र नवीनतम उद्यमहरूका लागि अनुकूल वातावरण बनाइदिए बजार विस्तार मात्र हुँदैन, शहरिया मानिसको रुची र किनमेल संस्कृति नै परिवर्तन हुन सक्छ”, ढकाल भन्छन्।
ग्रीन ग्रोथले सातामा तीन दिन सोमबार, बुधबार र शनिबार अर्डर लिने गरेको छ भने बाँकी दिन खाद्यान्न तथा तरकारीको उत्पादन र शहरसम्म ल्याउने काम गर्दै आएको छ।
दुई वर्षदेखि विविध सामग्री अनलाइन मार्फत ग्राहको घरदैलोमा पुर्याउँदै आएको सस्तो डिलले पनि अहिले अत्यावश्यक वस्तुलाई नै दृष्टिगत गरेर सेवा दिइरहेको छ। कम्पनीका बजार प्रबन्धक ताम्राकार भन्छन्, “यो वेला सर्वसाधारणको माग अनुसार इण्डक्सन चुल्हो, राइस कुकर, चालम, दाल, तेलसहितका वस्तु घरघर पुर्याउन सक्रिय छौं।”
सस्तो डिलले ग्राहकलाई अनलाइन किनमेल थप सजिलो पार्न सबैजसो ब्याङ्क तथा वित्तीय संस्थासँग सहकार्य गरिरहेको छ। मोबाइल वालेट तथा अनलाइन मार्फत भुक्तानी गर्दा नगद छुट र थप सुविधा दिन थालेको कम्पनीका बजार प्रबन्धक ताम्राकार बताउँछन्। सस्तो डिलले एनएमबी ब्याङ्क मार्फत भुक्तानी गर्नेलाई १५ प्रतिशत छुट दिने गरेको छ भने सेल–पे मार्फत भुक्तानी गर्नेलाई निःशुल्क सामान डेलिभरिसँगै १० वटा मास्क दिने व्यवस्था गरेको छ ।
अनलाइन स्टोर कम्पनीहरूले न्यूनतम रु.१ हजारको अर्डर गर्दा सामान घरैमा पुर्याउने सेवा दिंदै आएका छन्। गुणस्तरका हिसाबले कुनै वस्तु बजारमा पाइनेभन्दा महँगो त कुनै सस्तो पनि हुन सक्छ। अनलाइन स्टोरहरूले सम्बन्धित वस्तु तथा सेवाका बिक्रेताले तोकेको मूल्यमा सामान उपलब्ध गराउने गरेका व्यवसायीहरू बताउँछन्।
कर्पोरेट संस्थाहरू पनि अनलाइन व्यापारमा
बन्दाबन्दीको वेला समयानुकूल व्यवसायको संभावना विचार्दै कर्पोरेट संस्था तथा ठूला सपिङ स्टोरहरूले अनलाइन मार्फत सेवा दिन थालेका छन्। निम्बस ग्रुप, बिगमार्ट, भाटभटेनी सुपर स्टोर लगायतले अनलाइन अर्डरका आधारमा खाद्यान्न उपलब्ध गराउन शुरु गरेका हुन्।
घरमै क्वारेन्टिनमा बसेका सर्वसाधारणलाई आवश्यकता सामान पुर्याइदिन थालेको निम्बसले काठमाडौं उपत्यकाभित्र रु.२ हजारभन्दा बढीको अर्डरमा निःशुल्क डेलिभरी दिने गरेको छ। भाटभटेनी स्टोरले भने रु.५ हजार माथिको खरीदमा मात्रै निःशुल्क डेलिभरी दिने जनाएको छ। र खाद्य तथा व्यापार कम्पनी लिमिटेडले समेत अनलाइनबाटै खाद्यान्न सेवा दिन थालेको छ ।
आपूर्ति व्यवस्थामा सहजता प्रदान गर्न र प्रविधिको प्रयोग गरेर सेवा दिने उद्देश्यले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि गएको बुधबारदेखि अनलाइन कारोबार शुरु गरेको छ। माग अनुसारको अत्यावश्यक सामग्रीको सेवा दिने गरी अनलाइन बिक्री सेवा शुरु गरेको कम्पनीका अर्थ विभाग प्रबन्धक श्रीमणिराज खनालले बताए। खाद्यले चामल, फापर, सिमीसहितका खाद्यान्न अनलाइन मार्फत बिक्री गर्ने जनाएको छ। कम्पनीका अनुसार, रु.२ हजार भन्दा बढीको सामान खरीद गर्दा घरमै निःशुल्क ढुवानी गरिनेछ।