बन्दाबन्दीले मानिसको चाप वनजंगलमा, डढेलोका घटना सात प्रतिशतले बढे
गत वर्षभन्दा वनजंगलमा डढेलोका घटनामा सात प्रतिशतले वृद्धि भएको छ । बन्दाबन्दीको समयमा वनजंगलमा आगलागीका घटना बढेका छन् । विगत वर्षको तुलनामा यस वर्ष घटना कम हुने अनुमान विपरीत आगलागीका घटना बढेका हुन् ।
वन विभागका महानिर्देशक मनबहादुर खड्का यस वर्ष हिउँदको समयमा वर्षा भएर वनजंगल केही हरियाली भएको र छिटफुट रुपमा वर्षा भइरहँदा समेत आगलागीका घटना वृद्धि हुनुलाई अप्रत्याशित मान्छन् । हुन पनि गत २४ घण्टामा देशभर ५८ ठाउँमा आगलागीका घटना भए ।
आइतबार (आज) चितवनमा १५, दाङमा ३, धादिङमा ५, बारामा ६, पर्सामा ४ र मकवानपुरका ४ ठाउँमा आगलागी भएको छ ।
गत वर्ष आजकै दिन सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा ४ वटा मात्र आगलागीका घटना भएका थिए । त्यसैगरी ३० चैत २०७४ मा एउटा पनि आगलागीका घटना भएका थिए ।
त्यसैगरी पछिल्लो १२ दिनमा पनि देशभरका जंगलमा अप्रत्याशित रुपले आगलागीका घटना बढेका छन् । वन विभागका अनुसार १८–३० चैतमा ४४ जिल्लाको ३७१ ठाउँमा आगलागीका घटना भए ।
बारा, चितवन, दाङ, झापा, कञ्चनपुर, सर्लाही, पर्सा, कपिलवस्तु, महोत्तरी, उदयपुर र मकवानपुरमा सवैभन्दा बढी आगलागीका घटना भएका छन् । पछिल्लो १२ दिनमा बारा जिल्लामा मात्र ३० वटा आगलागीका घटना भए ।
त्यसैगरी चितवनमा ४९, र दाङमा १७, पर्सामा २२ र उदयपुरमा ३७ ठाउँमा आलागीका घटना भएका छन् । वन विभागको ‘फायर फोकल पर्सन’ उप सचिव सुन्दर शर्माका भनाइमा विगत १२ दिनको आकडाले वागमती प्रदेशका चितवन, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लाभित्र पर्ने वन जंगलमा ६० प्रतिशत आगलागीका घटना भएका छन् ।
“मध्य नेपालमा आगलागीका घटना बढी भएका छन्, कारण यही नै हो भन्न सक्ने अवस्था छैन,” दक्षिण एसियाली डढेलो सञ्जालका संयोजक समेत रहेका शर्मा भन्छन् ।
२०७५ सालको यही अवधिमा जम्माजम्मी ५० वटा आगलागीका घटना भएका थिए । २०७४ सालको सोही अवधिमा यो संख्या ४७ मात्र थियो ।
मानिसको चाप वनमा !
अष्ट्रेलिया, ब्राजिलमा जस्तो प्राकृतिक कारणबाट नेपालको वनजंगलमा आगलागीका घटना हुँदैनन् । यसवर्ष डढेलोका घटना वृद्धि हुनुमा यही नै कारण हो भन्ने निचोड वनविज्ञहरुसँग छैन ।
अहिलेसम्मको अध्ययनबाट बन्दाबन्दीका कारण मानिसहरु बेरोजगार भएको, उनीहरुको घुम्न जाने तथा समय व्यतित गर्ने ठाउँ वनजंगल भएकाले उनीहरुकै कारण आगलागीका घटनामा वृद्धि भएको वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का बताउँछन् ।
“धेरै मानिसहरु गाउँ फर्केका छन्, उनीहरुको काम छैन । दिउँसोमा घुम्न जाने ठाउँ वनजंगल भएको छ, त्यहाँ जाँदा उनीहरुले आगो लगाएको रिपोर्ट विभिन्न जिल्लाबाट आएको छ,” केसी भन्छन् ।
केसी आगलागीका घटना अझै वृद्धि हुने अनुमान गर्दछन् । र, जिल्ला जिल्लामा आगलागीका घटनाको रिपोर्टिङ लिने काम र रोक्नका लागि सम्बन्धित जिल्ला वन कार्यालयमा अनौपचारिक च्यानलबाट निर्देशन दिएको बताउँछन् ।