भारतबाट आएका दुईजना क्वारेन्टिनमा
भारतबाट नेपाल आएका बाजे र पनातिलाई मोरङको जहदा गाउँपालिका ५ बाट नियन्त्रणमा लिएर क्वारेन्टिनमा राखिएको छ ।
बिहार अररिया जिल्लाको भेडियारी भन्ने ठाउँबाट पैदल हिंडेर आएका लखनसिंह लुनिया (७३) र उनका पनाति दीपककुमार राजभर (११) लाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो । दुवैलाई जहदा गाउँपालिकाले स्थापना गरेको क्वारेन्टिनमा राखिएको छ।
लकडाउन अघिनै नातिनीको घरमा गएका लुनिया शनिबार नातिनीका छोरा दीपकलाई लिएर जहदा ५ लक्ष्मनीया स्थित आफ्नो घर आएका थिए ।
प्रहरी निरीक्षक अबधलाल यादवले भारतबाट दुई जना घरमा आएको सूचना पाउने बित्तिकै नियन्त्रणमा लिएर क्वारेन्टिनमा राखिएको बताए ।
नातिनीको घर बन्दै गरेकाले काम सघाउन भारत गएको र लकडाउनका कारण रोकिएको लुनियाले बताए । धेरै दिन भएकाले नातिनीका छोरा दीपकलाई लिएर नेपाल आएको उनको भनाइ छ । जहदा गाउँपालिकाले विद्यालयका दुईवटा कोठामा १० बेडको क्वारेन्टिन संचालन गरेको छ ।
जहदामा क्वारेन्टिनमा बस्ने पनाति र बाजे दुईजना मात्रै हुन् । आइतबार अपरान्ह स्वास्थ्य चौकी मझारेका स्वास्थ्यकर्मीले तापक्रम नाप्ने क्रममा भारतबाट आमाको मावली घर आएका बालक दीपक रुँदै थिए ।
उनले भारत आफ्नो घरदेखि बाजेको घरमा आउँदासम्म कुनै पनि सुरक्षाकर्मीले बाटोमा नरोकेको बताए।
जहदा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले क्वारेन्टिनमा राखिएकाहरुलाई गाउँपालिकाले खाना, खाजा र उपचारको व्यवस्था मिलाएको बताए । उनका अनुसार, गाउँपालिकाले कोरोनाको संक्रमण फैलन नदिन रु ७० लाखको बजेट छुट्याएको छ ।
भारत बिहारको पूर्णिया जिल्लाबाट ५ जना नेपाली जहदामा फर्किएको सूचना आएकाले सोमबार उनीहरुलाई पनि क्वारेन्टिनमा ल्याइने उनले जानकारी दिए ।
भारतीय सीमासँग जोडिएको जहदा गाउँपालिकामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्थानीय प्रशासनले तैनाथ राखेको छ । जहदाका स्वास्थ्य चौकीहरुले लकडाउन शुरु भएदेखि ज्वरो आएका बिरामीलाई विशेष सेवा दिंदै आएका छन् ।
जहदा गाउँपालिकाले स्वास्थ्यकर्मीलाई तलबको शतप्रतिशत भत्तापनि दिने निर्णय गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक राजकुमार दासले बताए।