बन्दाबन्दीमा सांसदः कोही डेराबाटै समन्वय गर्दै, कोही जिल्ला फर्किने उपाय खोज्दै
-लक्ष्मी बस्नेत र नुनुता राई
कोरोनाभाइरस संक्रमणको जोखिम बढेपछि संघीय सरकारले १० चैत साँझ निर्णय गरेर ११ चैतदेखि बन्दाबन्दी ग-यो। उक्त दिन बहानैदेखि घर बाहिर निस्कन नपाउँदा काठमाडौंमा अस्थायी रुपमा बस्ने संघीय सांसद पनि यतै छेकिए। संघीय संसदको हिउँदे अधिवेशन सोमबार मध्य रातिदेखि अन्त्य भयो।
त्यसपछि पनि उनीहरु काठमाडौंमै छन्। घरमै बस्ने भए पनि जिल्लामा हुँदा आफू र आम जनतालाई पनि ढुक्क हुने रहेछ भन्ने अनुभव धेरै सांसदको छ। कोही भने गृहजिल्ला पुगेका छन्। बन्दाबन्दीमा केही संघीय सांसदको अनुभव यस्तो छः
‘६ जनाको स्वाब परीक्षण नहुँदा त्रास बढ्यो’
अहिले म मेरो निर्वाचन क्षेत्रमा नै छु। म बन्दाबन्दी हुनुभन्दा एक हप्ताअघि झापा आएको हुँ।
झापा बिहार र बंगालसँग खुला नाका भएको जिल्ला हो। दैनिक ज्यालादारी तथा उपभोग्य बस्तु किनमेल गर्न ओहोरदोहोर भइरहन्छ।
गत बुधबारसम्म नाकाहरुबाट लुकिछिपी आउने जाने भईरहपछि प्रहरी र स्थानीय प्रशासनसँग छलफल गरेर सुरक्षकर्मीको संख्या थप गरेका छौँ।
कतार एयरलाइन्सबाट आएका ६ जनाको स्वाव परीक्षण नगर्दा स्थानीयमा त्रास पैदा भएको छ। उनीहरु मध्ये एक जना मेची अस्पतालको आइसोलेसनमा छन्, परीक्षणका लागि भर्खर स्वाव लिइएको छ।
एक जनालाई अहिलेसम्म लक्षण देखा नपरेकाले घर पठाइएको छ। बाँकी क्वारेन्टिनमा छन्। उनीहरुको पनि स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य छ। स्वाव परीक्षण सुस्त गतिमा हुँदा धेरैमा त्रास उत्पन्न भएको छ।
अहिले राहत वितरणको तस्वीर खिच्न नपाउने र कसैको ब्यानरहरु राख्न नपाउने नियम बनाइएको छ। प्रति व्यक्तिका लागि भाग बनाएर खुला चौरमा राख्ने र नाम भएको व्यक्तिले लिएर जाने नियम छ। राहत वितरणमा सकेसम्म एकद्वार प्रणाली लागु गरेका छौँ।
भारतबाट मजदुरी गर्न आएकाहरुलाई के गर्ने भन्ने समस्या परेकाले समाधानका लागि स्थानीय निकायले समन्वय गर्ने निर्णय भएको छ। काठमाडौंमा थुनिएको भए आत्तिन्थें होला, अहिले जिल्लाबासीसँगै बसेर काम गर्न पाउँदा खुशी छु ।
‘काठमाडौँबाटै १३७ वडाध्यक्षहरुसँग दैनिक छलफल गर्छु’
म अहिले काठमाडौंमा छु। मेरो निर्वाचन क्षेत्रमा १३७ वटा वडा छन्। सकेसम्म सबै वडाध्यक्षसँग दिनको एकपटक फोन सम्पर्क गर्छु। मोरङको सिमाना भारतसँग जोडिएकाले विशेष सचेततापूर्वक काम गर्न वडा अध्यक्षहरुलाई अनुरोध गरेको छु।
राति लुकेर आउनेहरुका कारण जोखिम बढ्न सक्छ। उनीहरुको पहिचान नहुादा क्वारेन्टिनमा राख्न कठिन भइरहेको छ। त्यस्ताको खोजी गर्ने, सम्झाउने र क्वारेन्टिनमा पठाउने रणनीति बनाएका छौँ।
स्वास्थ्य सामग्री र विपन्न वर्गले पाउने राहत एकमुष्ठ बनाउन तथा द्रुत र सहज रुपमा उपलब्ध गराउनका लागि पहल गरिरहेका छौं। अहिले मेरो निर्वाचन क्षेत्रमा सबै निकायको समन्वयमा काम भइरहेको छ।
केही दिनअघिसम्म अतिआवश्यक बस्तु उपलब्ध भएका पसलहरु दिनको दुई पटक खुल्थ्यो। बुधबारदेखि बिहान ७–१० बजेसम्म मात्रै खुलाएका छौँ। अस्पताल नजिकका औषधी पसलहरु १८ देखि २२ घन्टासम्म खोल्नको लागि तयारी गरिरहेका छौं।
“राहत वितरणको अनुगमन गरिरहेको छु”
-सिताराम महतो, प्रतिनिधिसभा सदस्य, सुनसरी–२
म कार्यक्रममा सहभागी हुन जिल्ला आएको वेला बन्दाबन्दी शुरु भएकाले यतै छु। ठीकै भयो। काठमाडौं भएको भए जनताका समस्या सुन्नु र फोनबाट समन्वय गर्नुबाहेक केही हुँदैन थियो। अहिले जनतासँगै छु। भारतसँग जोडिएका देवानगन्ज गाउँपालिकामा थप सचेतनापूर्वक काम भइरहेको छ।
राहत वितरण पनि शुरु भएको छ। पाउनुपर्नेले पाएका छन् कि छैनन् भनेर अनुगमनका लागि सुरक्षित भएर सबै गाउँपालिका र नगरपालिकामा पुगिरहेको छु। जनप्रतिनिधिलाई परिरहेको समस्या पनि बुझेर सक्दो समाधान गरिरहेको छु। सचेतनाका लागि माईकिङ र स्थानीय संचारमाध्यमबाट सूचना प्रसारण भइरहको छ।
‘छिमेकी जिल्लाको विपन्न बस्तीमा छु’
म बन्दाबन्दीकै बीच राहत लिएर गाडीबाट जिल्ला आएकी हुँ। यसबेला महोत्तरीको मटिहानी र महोत्तरी नगरपालिकाको दलित बस्तीमा राहत वितरणका लागि पुगेको छु। यहाँ गरिबी र अशिक्षा छ। त्यसैले सुरक्षित रहने उपाय पनि सिकाइरहेका छौँ।
यहाँका जनता दैनिक ज्यालादारी गरेर खाने र खेती किसानमा आश्रित छन्। यहाँको जीवन कष्टपूर्ण भएकाले आफ्नो निर्वाचन क्षेत्र नभए पनि सहयोगका लागि आएको हुँ।
सर्लाहीमा पनि राहत वितरण र अन्य सहजीकरणको काम गरिरहेको छु। तर, अहिले म भएको स्थानमा सजिलै राहत आइपुग्दैन। त्यसैले मैले समन्वय गरेकी हुँ।
अहिले संघीय सरकारले दिने सेवालाई द्रुत बनाउनुपर्ने अवस्था छ। सासंदहरु ‘मेरो निर्वाचन क्षेत्र’ भन्ने भावना नलिइ सबैतिर सहयोग गर्नुपर्छ। अहिले जात, धर्म, वर्ग, क्षेत्र र पार्टीभन्दा माथि उठेर काम गर्नुपर्छ।
अहिले म रहेको मटिहानी क्षेत्र भारतसँगको सीमा जोडिएकाले थप सुरक्षाकर्मी परिचालन गरेर नाकामा कडाइ गरिएको छ।
‘काठमाडौंबाटै जिल्लामा समन्वय गरिरहेको छु’
सरिता गिरी, प्रतिनिधि सभा, सिरहा,
लकडाउन (बन्दाबन्दी) मा घर (काठमाडौं) मै छु । आधा दिन जतिको समय घरायसी काम, शारीरिक अभ्यास, अध्ययन तथा तरकारी रोप्ने काममा बित्छ । त्यस बाहेक जिल्लामा के भइरहेको छ भनेर साथीहरु, जनप्रतिनिधि र प्रशासनसँग समन्वय गर्छु । कहीं कसैलाई समस्या परेको छ कि भनेर बुझ्छु ।
महिला अधिकारकर्मी र जिल्लाका पत्रकार साथीहरुसँग पनि सम्पर्कमै छु । तर अहिले निर्वाचित स्थानीय सरकार भएकाले यस्तो अप्ठ्यारोमा धेरै सजिलो भएको महसुस मलाई भएको छ ।
यस्तो समयमा घरेलु हिंसा हुने संभावना ज्यादा हुन्छ । त्यसैले यो कुरामा घरका पुरुष साथीहरुले बुझेर अहिले त गर्ने भनेको घरभित्रको काम हो । दुवै जना मिलेर गर्दा रमाइलो पनि हुन्छ । र, लकडाउनको समय बिताउन गाहे भयो भन्ने पनि हुँदैन ।
“विद्यालयलाई क्वारेन्टिन बनाएका छौँ”
सरिता कुमारी गिरी, प्रतिनिधिसभा सदस्य, सप्तरी
बन्दाबन्दी शुरु भएपछि नै जिल्ला आएको हुँ। काठमाडौं बस्नुभन्दा जिल्लाबासीसँगै हुनुपर्छ भनेर काम विशेषले काठमाडौं पुगेको नगरपालिकाको गाडीमा प्रशासनलाई जानकारी गराएर आएँ।
यहाँ पहिलो हप्ताको बन्दाबन्दीको खासै पालना नगरे पनि अहिले भने बाहिर निस्किएका छैनन्।
स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरी प्रशासनको सक्रियताले यो संभव भएको हो। भारतमा संक्रमण फैलिने क्रम बढेको समाचारले पनि यहाँका नागरिक सचेत भएका छन्। ६ वटै छोटी भन्सारहरु बन्द गरिएका छन्।
एक हप्ताअघि नाउबाट कोशी तरेर गाउँ आएका २२ जनालाई क्वारेन्टिनमा राखिएको छ। आशंका गरिएकालाई राख्न विद्यालयका कोठाहरुलाई क्वारेन्टिन बनाइएको छ।
जिल्ला अस्पतालमा आईसोलेसन कक्ष तयार छन्। दैनिक ज्यालादारी गर्नेलाई तत्काल राहतको आवश्यकता भएकालाई प्राथमिकता दिइएको छ।
सबै दलका प्रतिनिधि, प्रशासन तथा जनप्रतिनिधिहरुको सहकार्य राम्रो छ। अन्य रोगका बिरामीले भने उपचार पाउन समस्या भएकाले सहज बनाउने प्रयास भइरहेको छ।
सबै जना घरमा हुँदा घरभित्रै भइरहेको घरेलु हिंसाको अवस्था बुझ्ने प्रयास पनि गरिरहेका छौं । बन्दको बेला हुने घरेलु हिंसाविरुद्धको रणनीति बनाउने तयारीमा छौँ।
“भाइबरबाट छलफल गरिरहेको छु”
-शशी श्रेष्ठ, प्रतिनिधिसभा सदस्य
म सिर्जनात्मक, रचनात्मक, सहयोगात्मक काम गरिरहेको छु। काठमाडौंका जनप्रतिनिधिहरुसँग छलफल र समन्वय गर्छु। राहत प्याकेजलाई व्यवस्थित गराउन पनि छलफल चलिरहेको छ। तर, काठमाडौंमा राहत पुगेन भन्ने स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ।
क्वारेन्टिनको अवस्था सबैका लागि उपयुक्त छ कि छैन भन्ने पनि बुझिरहेको छु। राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरुबीच भाइबर गु्रप बनाएर समितिबाट गर्न सकिने कामबारे छलफल भइरहेको छ। कतिपय विधेयक तथा प्रतिवेदनको अध्ययन पनि गर्ने गरेको छु। घरमै छु, घरायसी काम गर्ने समय हुँदैनथ्यो, अहिले अलि समय दिन पाएको छु ।
‘राष्ट्रियसभामा भएकाले जनताको प्रत्यक्ष समस्या आएको छैन’
घर वरिपरि नै शारीरिक अभ्यास र योग गर्छु। लेखपढ गर्ने, सिनेमा हेर्ने गरेको छु, जुन काम अरु वेला गर्न पाईंदैनथ्यो। राष्ट्रियसभाको सांसद भएको हुँदा जनताको समस्याहरु हामीसँग प्रत्यक्ष आइपुग्दो रहेनछ।
सुदूर र मध्यपश्चिममा भारतबाट आएकाहरु धेरै हुने भएकाले जोखिम बढी छ। सीमामा रोकिएकाहरुलाई क्वारेन्टिनको व्यवस्था गरेर समयमै ल्याउनुपर्छ भनेर आफ्नै पार्टी, सरकार र प्रदेश सरकारहरुसँग पहल गरिरहेको छु।
पछि एक्कासी भारतले बन्दाबन्दी खोलेर सबैलाई आफ्नो देश फर्किन भन्यो भने झन् जोखिम हुन्छ। हरेक व्यक्ति बम जस्तो हुन्छन्।
नेपालमा अहिलेसम्म नौ जनाभन्दा बढीमा संक्रमण फैलिएको छैन, यो राम्रो हो तर संकटबाट पार भइसकेका छैनौं।
सरकार सिमित घेरामा बसेर काम गरिरहेको छ, यस्तो हुनुहुँदैन । संकटको बेला सबैको साथ सहयोग लिएर काम गर्नुपर्छ।
‘महिला संघको इतिहास लेख्न थालेको छु’
म चितवनमा छु । बाहिर निस्कन नपाउने समयलाई अवसरको रुपमा लिएको छु। नेपाल महिला संघको इतिहासलाई किताबको रुप दिने गरी लेख्न थालेको छु।
२००४ सालमा स्थापना भएको ऐतिहासिक संस्थाको इतिहास नै हराउँदै जाने र नयाँ पुस्तालाई केही पनि थाहा नहुने भयो। अरु बेला डकुमेन्टहरु खोज्ने, टिपोट गरेर राख्दै आएको थिएँ।
लकडाउनको २/३ दिन पछि देखि नै लेख्दै कम्प्युटरमा पठाउने काम धमाधम भइरहेको छ।
महिला संघकै केन्द्रीय सदस्य छलीकुमारी शर्मा र मेरो घर सँगै हो। त्यसैले उहाँले पनि सहयोग गरिरहनु भएको छ।
यसबाहेक आवश्यक परेको विभिन्न ठाउँमा समन्वय गर्नुपर्छ।
म महिला संघको अध्यक्षको नाताले पनि देशभरिका महिलाहरुको समस्याका बारेमा आवश्यक समन्वय गरिरहेकी छु।
“मुस्ताङबासीको समस्या फरक छन्”
-प्रेम प्रसाद तुलाचन, प्रतिनिधिसभा सदस्य, मुस्ताङ –१
मुस्ताङवासीको समस्या अरुको भन्दा फरक छन्। सानोतिनो व्यापार व्यवसाय गर्नेहरु असोज कात्तिकदेखि तराई झर्ने गर्छन्, जिल्लामा १०÷१५ प्रतिशत पनि हुँदैनन्। घर गाउँ छोडेर जडिबुटी, स्थानीय उत्पादनहरु बेच्न पोखरा, काठमाडौंलगायत अन्य जिल्ला पुगेका हुन्छन्। एक्कासी बन्दाबन्दी हुँदा उनीहरु त्यही अड्किएका छन्। गाउँमा बाली लगाउने बेला भएको छ। काम गर्ने उमेरका जति बाहिर हुँदा घरमा हुनेहरु पनि आत्तिएका छन्।
बाली लगाउन नपाउँदा पछि भोकमरी हुने संभावना छ। त्यसैले अड्किएकाहरु घर फर्किने व्यवस्था मिलाइदिनुुस् भन्छन्।
गाउँमा भएकाहरु जिल्ला बाहिरकालाई जिल्ला नपठाइदिनुस् भन्छन्। म आफैं पनि पोखरा पुगेको बेला बन्द भयो। यहाँ डेरा छ। यहीं बसेर जिल्ला र प्रदेश तथा संघीय सरकारसँग समन्वय गरिरहेको छु। एकजना प्रदेश सासंद जिल्लामा हुनुहुन्छ, उहाँमार्फत जनप्रतिनिधिहरुसँग पनि समन्वय भइरहेको छ।
“भोका कुकुर र बाँदरलाई खाना खुवाइरहेको छु”
म काठमाडौंमै छु। बन्दाबन्दीले आफ्नो लागि समय पाएको जस्तो लागेको छ। केही समय परिवारसँग बिताउन पाएको छु। दाङको अवस्थाबारे फोनबाट बुझ्छु।
कतिले समस्या देखाउनुहुन्छ, समाधानका लागि मन्त्रीज्यूहरुसँग सरसल्लाह र छलफल गरिरहेको छु। ‘कालोबजारी भएमा टोल फ्री नम्बर ११३७ मा खबर गरौं’ भन्ने सन्देश उद्योग मन्त्रीज्यूसँगको सल्लाहमा मेरो आवाजमा रेकर्ड गरेँ।
योबाहेक चाहिँ म पशुको सेवा र स्याहारमा लागेको छु। मान्छेको आवागमन नहुँदा सडकमा हुने पशुहरु भोक र तिर्खाले छट्पटाइरहेको अनुभव भयो।
त्यसैले कुकुरलाई खाना खुवाउने संस्था ‘स्नेहा केयर’ सँगको सहकार्यमा काठमाडौंको विभिन्न ठाउँको बढी कुकुर हुने सडकमा पुगेर खाना र पानी खुवायौं। भोक र तिर्खाले होला थुपै्र कुकुरहरु मरेको पनि पायौं।
बुधबार र बिहीबार चाहिँ पशुपतिनाथ, वनकाली, स्वयम्भु, थापाथलीलगायत बाँदरहरु बढी हुने ठाउँमा गएर खाना खुवाएँ।
सानो सानो बच्चा बोकेर आएका आमा बाँदरहरुलाई भाले बाँदरहरुले लखेटेर खान दिँदारहेनछन्।
यो मैले पनि कहिल्यै नगरेको काम हो तर, मेरो आग्रह छ, मान्छेसँगै पशु पनि बाँच्नुपर्छ। त्यसैले पशुलाई बचाउनेतर्फ पनि स्थानीय तहका जनप्रतिनिधिले सोच्नुहोला ।
“काठमाडौंमा स्वास्थ्य सामग्री संकलन गरिरहेको छु”
-महेश्वरजंग गहतराज, प्रतिनिधिसभा सदस्य
म काठमाडौंमै छु। समितिहरुको बैठक पनि थियो र संसद अधिवेशन पनि अन्त्य भइनसकेकाले बन्दाबन्दी अगाडि नै जिल्ला जाने कुरा भएन। एक्कासीको बन्द भएपछि विधेयकहरु अध्ययन गरिरहेको छु। मेरो निर्वाचन क्षेत्र भारतसँग जोडिएको छ। यसले गर्दा पनि जोखिम छ। हुन त यहाँ बस्दा संघीय सरकारसँग समन्वय गर्न सजिलो भएको छ। आफ्नो निर्वाचन क्षेत्र र स्थानीय जनप्रतिनिधि तथा जिल्लाका नेता, कार्यकर्ता र प्रशासनसँग सम्पर्क भइरहन्छ। तर, त्यहीँ भए जस्तो हुँदो रहेनछ।
त्यहाँ नहुँदा विरोधी पक्षलाई कुरा काट्न पनि सजिलो हुँदो रहेछ। “यस्तो संकटमा तिमीहरुले भोट दिएको मान्छे जिल्ला नआएर काठमाडौं बस्यो”, भन्ने ढंगले प्रचार गरेको पनि पाइयो। तर म स्वास्थ्य सामग्रीहरु जम्मा गर्दैछु। जनताका लागि राहत र स्वास्थ्य तथा सुरक्षाकर्मीका लागि लगाउने सुरक्षित सामग्रीको व्यवस्था गरेको छु। त्यो लिएर जाने योजनामा छु ।
“समस्या पर्दा महिलाहरुले फोन गर्नुहुन्छ”
-पार्वती कुमारी विशुन्के, प्रतिनिधिसभा सदस्य
काठमाडौंमा डेरामा बस्ने हो, यहीँ छु। संसदको बैठक बसिरहेकाले तुरुन्तै छाडेर गाउँ जान सकिन। बन्दाबन्दी शुरु भएपछि यतै अड्किएँ। तर, गर्नुपर्ने काम गरिरहेको छु। जिल्लाका हरेक वडा पुगेको छु, त्यसैले विपन्न बस्ती कहाँ कहाँ छ भन्ने थाहा छ। त्यो क्षेत्रमा राहत वितरणको प्रक्रिया र पाउनै पर्नेले पाए कि पाएनन् भनेर जनप्रतिनिधिसँग समन्वय गरिरहेको छु। म अरु बेला पनि केही दिन संसद नबस्ने भयो जिल्ला गइहाल्थें।
त्यो भएर पनि समस्यामा परेका महिला दिदीबहिनीहरुसँग निरन्तर सम्पर्क भइरहन्छ। आफैंले फोन गर्नुहुन्छ। जिल्लालाई आवश्यक पर्ने सामानहरु यहाँ विभिन्न ठाउँमा समन्वय गरेर पठाइदिने पहल गरिरहेको छु। कुनै उपाय निकालेर भए पनि जिल्ला जान पाए हुन्थ्यो भन्ने लागिरहेको छ। त्यहीँ बसेर गरेको जस्तो सन्तुष्टि यहाँ बस्दा लाग्दो रहेनछ ।
“यति वेला जनप्रतिनिधिको खोजी हुँदोरहेछ”
-धुव्रकुमार शाही, प्रतिनिधिसभा सदस्य
सीमामा समस्या भएकादेखि विदेशमा भएकासम्मको फोन आउँछ। आफ्नो निर्वाचन क्षेत्रका बासिन्दा तथा नेता कार्यकर्ताहरुको पनि फोन आइरहन्छ। हुन त जहाँ बसे पनि बाहिर निस्किन मिल्दैन। तर, जनप्रतिनिधि कहाँ छ भनेर यस्तो बेला खोजी हुँदोरहेछ। मनोविज्ञान पनि जिल्लामै भइदिए हुन्थ्यो भन्ने हुँदोरहेछ। म काठमाडौँमै भए पनि आफ्नो क्षेत्र, जिल्लाको लागि समन्वय गरिरहेको छु।
सुर्खेतमा नगरपालिकाले आफ्नो स्थायी बासिन्दालाई मात्रै राहत दिने भन्ने निर्णय गरेछ। तर, कर्णालीको राजधानी भएकाले नगरभन्दा बाहिरका पनि धेरै छन्। त्यसैले व्यवहारिक बनाउनुपर्छ। कसरी मिलाउने भन्ने छलफल भइरहेको छ। जिल्ला जान नपाउँदा मन भने अशान्त छ। थोरै माननीयज्यूहरु जिल्ला गए पनि एक्कासी बन्द हँदा धेरै यतै छौँ। सामानहरु लिएर जाने साधन भेटियो भने मिलाएर जाने विचार गरेको छु।
“जोखिममा हुने समुहलाई समन्वय गरिरहेको छु”
काठमाडौंमै छु। कञ्चनपुरबाट फोन आइरहन्छ। आम समुदायलाई आफ्नो जनप्रतिनिधि जिल्लामै भइदिए हुन्थ्यो भन्ने चाहना हुँदो रहेछ।
त्यसैले तन काठमाडौंमा मन जिल्लामा छ। घर भित्रै भए पनि फुर्सद नै छैन, जिल्ला, स्थानीय, प्रदेश सरकारदेखि संघीय सरकारका मन्त्रीहरुसँग समन्वय गर्छु।
संकटको वेला एकदमै जोखिमपूर्ण समूह महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएकाहरु हुन्।
उनीहरुको लागि के के आवश्यक पर्छ भनेर सम्बन्धित संघीय मन्त्री र स्थानीय सरकारसँग कुरा गरिरहेको छु।
म सभापति भएको समितिको क्षेत्र पनि हो यो। जस्तैः भूकम्पका वेला पनि राहत प्याकेजमा सानो बच्चाको लागि चाहिने डाइपर, गर्भवती, सुत्केरीहरुको लागि पौष्टिक तत्वसँगै स्यानिटरी प्याड राखेका थियौं।
यो समयमा पनि ती सामग्रीमा ध्यान दिनुपर्छ भनेर समन्वय गरिरहेका छौँ।
“काठमाडौंमा भएर समन्वय गर्न सजिलो भयो”
-दामोदर भण्डारी, प्रतिनिधिसभा सदस्य, बैतडी–१
म काठमाडौंबाट जिल्लामा समन्वय गरिरहेको छु। मतदाताहरुले जिल्लामै भइदिए हुन्थ्यो भन्ने चासो राख्नु भएको छ। त्यो स्वभाविक पनि हो । तर, यहाँबाट गर्ने काम जिल्लाबाट हुँदैन। मसहित तीनजना सांसदहरु बझाङका भैरब बहादुर सिंह र दार्चुलाका गणेश सिंह ठगुन्नाले बुधबार कोरोना रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक र स्वास्थ्मन्त्रीलाई भेटेर चार बुँदे लिखित माग प्रस्तुत ग-यौं ।
सुदूरपश्चिम प्रदेश बढी जोखिममा भएकाले सीमा जोडिएका जिल्लाको लागि छिटो र धेरैभन्दा धेरै व्यक्तिको परीक्षण गर्नुपर्ने, थप जनशक्ति तथा अस्पतालहरुमा भेन्टिलेटरको व्यवस्था हुनुपर्ने विषय उठाएका छौं। त्यसैले संघीय सरकारसँग समन्वय गर्न काठमाडौंमा बसेर सजिलो भएको छ।