कोरोनाभाइरसबाट हरेक दिन करीब सात हजारको मृत्यु !
कोरोनाभाइरसको संक्रमण नियन्त्रण नहुँदा विश्वभर हरेक दिन करीब सात हजारको मृत्यु हुन थालेको छ। पछिल्लो पाँच दिनमा मात्र ३४ हजार १०१ जनको मृत्यु भएको छ।
पछिल्लो २४ घन्टामा संसारभर ६ हजार ९२ जनाको मृत्यु भयो। यो संख्या पछिल्लो पाँच दिनको सबैभन्दा कम हो। सबैभन्दा बढी अप्रिल ७ मा सात हजार तीन सय ८५ जनाको मृत्यु भएको थियो।
त्यस्तै अप्रिल ८ मा ६ हजार ४१७, अप्रिल ९ मा सात हजार २३४ र अप्रिल १० मा ६ हजार ९७३ जनाको मृत्यु भयो। योसँगै कूल मृतकको संख्या एक लाख आठ हजार ८२२ पुगेको छ।
मार्च १८ सम्म दैनिक हजारभन्दा कमको मृत्यु भइरहेको थियो। मार्च १९ मा पहिलोपटक हजारभन्दा माथिको मृत्यु भएको थियो। उक्त दिन एक हजार ७९ जनाको मृत्यु भएको थियो। तर, एक महीन नपुग्दै दैनिक मृत्यु हुनेको संख्याले सात हजार नाघ्न थालेको हो।
त्यस्तै मार्च २१ मा पहिलोपटक मृत्यु हुनेको आँकडाले चार हजार नाघेको थियो। त्यो दिन चार हजार ५३७ जनाको मृत्यु भएको थियो। अप्रिल २ मा एकैपटक पाँच हजार ९७९ जनाको मृत्यु भयो
मृत्यु र संक्रमित दुवैको संख्या अमेरिकामा बढी छ। त्यहाँ पाँच लाख ३२ हजार पुगिसकेका छन्। मृतकको संख्या २० हजार ५७७ पुगेको छ। अहिलेसम्म ३० हजार ४५३ संक्रमित निको भएका छन्।
अमेरिकामा अप्रिल ११ मा पहिलोपटक एकै दिन दुई हजारभन्दा बढीको मृत्यु भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा दुई हजार १०८ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयलाई उधृत गर्दै बीबीसीले जनाएको छ। अप्रिल ११ मा अमेरिकापछि बेलायत बढी आक्रान्त भयो। त्यहाँ एकै दिन ९१७ जनाको मृत्यु भएको छ।
कोरोनाभाइरसको नयाँ इपिसेन्टर बनेको न्यूयोर्क शहरमा संक्रमण तीव्र भएको छ। त्यहाँ हरेक दिन सात सयको हाराहारीमा मृत्यु भइरहेको छ।
न्यूयोर्कमा मात्र अहिलेसम्म आठ हजार ७८६ जनाको मृत्यु भएको छ। त्यसपछि बढी मृत्यु हुने न्यूजर्सीमा दुई हजार १८३ जना पुगेका छन्।
अमेरिकामा नयाँ संक्रमित भेटिने दर भने स्थीर भएको छ। पछिल्लो २४ घन्टामा अमेरिकामा मात्र ३० हजारभन्दा बढी नयाँ संक्रमित भेटिए। त्यहाँ अप्रिल १० र ९ मा झन्डै ३४ हजार नयाँ बिरामी भेटिएका थिए।