'यौनिक अल्पसंख्यक र दैनिक ज्याला मजदुरले राहत पाउन सकेका छैनन्'
“म मुस्कान श्रेष्ठ । मेरो घर सुनसरी हो । म अहिले मोरङ्गमा बस्छु । परिवर्तनशील समाज नामक संस्थामा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हक हितको लागि कार्यरत छु ।
म त एक खुला किताब हुँ । मलाई आफू यो समुदायको प्रतीनिधित्व गर्छु भन्न कुनै अप्ठ्यारो छैन । तर म जस्तै अरु साथीहरुले पहिचान खुलाएर समाजमा बाँच्न सक्ने अवस्था छैन । उहाँहरुले आफ्नै परिवारसंग पनि पहिचान लुकाउन परेको छ । राज्यले पनि पहिचान खुलाउने गरी कुनै परिचयपत्र दिएको छैन । जसको प्रत्यक्ष असर अहिलेको लकडाउनमा पनि परिरहेको छ ।
स्थानीय सरकारले राहत वितरण त गरिरहेको छ । तर अर्को जिल्लाको नागरिकता भएका, लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचान नखुलेका व्यक्तिहरु र भारतबाट ज्याला मजदुरी गर्न नेपाल आएका व्यक्तिहरुले राहत पाएका छैनन् ।
सरकारले पनि लकडाउनमा जहाँ छौ त्यही बस भनेको छ । राहत पनि यहाँका हुनेखाने मान्छेहरुले पाएका छन् । तर लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय र दैनिक ज्याला मजदुरी गर्नेले पाउन सकेका छैनन् ।
सरकारले राहतमा दाल चामल र तेल दिएको छ । तर कतिजनासँग खाना पकाउन ग्यास र नून मसला छैन । त्यो राहतले २–४ दिन खान त पुग्ला तर घरभाडा कसरी तिर्ने । यो लकडाउन कहिले सम्म हुने हो थाहा छैन ।
हाम्रो समुदायका अधिकांश व्यक्तिहरुको दैनिक जिविकोपार्जन भनेको डान्स बारमा नृत्य गर्ने, यौन पेशामा संलग्न हुने, बधाई कार्यक्रममा सामेल हुने हो । तर अहिले लकडाउनले गर्दा ती सबै उपायहरु बन्द भएका छन् ।
हाम्रा साथीहरुलाई बुझाउने कोशिस त गरेका छौं । तर पेट पाल्नकै लागि भए पनि बाध्यतामा उहाँहरु लुकिछिपी आफूले पहिलादेखि गरिआएको काममा संलग्न हुनुपरेको छ । यसले गर्दा उहाँहरु धेरै जोखिममा हुनुहुन्छ ।
म अहिले घरबाट नै काम गरिरहेको छु । साथीहरुसँग फोनमा कुरा गर्ने र स्थानीय सरकारसँग पनि समन्वय गरिरहेको छु । हाम्रो वडा कार्यालयसँग राम्रो समन्वय भएको छ । मैले १५ जनाको लागि राहत सामग्री अनुरोध गरेको छु ।
उहाँहरु यसमा सकारात्मक हुनुहुन्छ । राहत सामग्री पाउन सक्यौं भने हाम्रा साथीहरुसम्म पुर्याउँछौं । यसले कोरोना संक्रमणको जोखिमबाट साथीहरुलाई बचाउन सहयोग पुग्छ ।”
कथा किन ?
अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ । संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागी हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ । जो अहिले तेस्रो सातामा छ ।
विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ । हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तिकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना । २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखी हिमालखबर पनि जोडिएको छ ।
मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो । भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छैँ ।
संयोजक, कथा कोरोना टीम
@KathaCorona
सम्पादक
himalkhabar.com
@HImal_khabar