अपांगता भएकाको जीवन दाल–चामल राहतले सहज हुन्न
''मेरो लागि दाल चामल भन्दा पनि डाइपर, युरिन ब्याग, ग्लोभ्स जस्ता सामानहरु अत्यावश्यकीय हुन । सरकारले दिएको दाल चामल पाँच दिन नखाए पनि म बाँच्न सक्छु । तर डाइपर, युरिन व्याग र ग्लोभ्स नभइ एक दिन बाँच्न पनि मलाई गाह्रो हुन्छ । किनकि म स्पाइनल कर्ड इन्जुरी भएको व्यक्ति हुँ । म ह्वील चेयर प्रयोग गर्छु ।
कोरोना संक्रमणको महामारीका कारण सरकारले एक हप्ताका लागि भनेर बन्दाबन्दी गर्यो । यो लम्बिन सक्छ भन्ने सोचेर १५ दिन जतिका लागि आफूलाई चाहिने सामान किनें । तर अब त बन्दाबन्दी झन् लम्बिएको छ । सामानहरु सकिन थालिसक्यो । सधैं सामान ल्याउने पसलमा मैले फोन गरिरहेको छु । फोन नै उठ्दैन। अरु औषधी पसलको मान्छे पनि कसैसँग सम्पर्क छैन। बुवाआमा बुटवलमा बस्नु हुन्छ। म काठमाण्डौँको नयाँ बानेश्वरमा कोठा लिएर एक्लै बस्छु ।
अरु बेला मलाई सहयोग गर्न एक जना सहयोगी हुनुहुन्थ्यो। उहाँ पनि बाहिरबाट आउने भएकाले मैले उहाँलाई अहिले काममा नआउन भनेको छु । मैले ह्वील चियर प्रयोग गर्न थालेको १७ वर्ष भयो। तर यो बेला जत्ति गाह्रो मलाई कहिल्यै भएको थिएन। खाना पकाउने, घर सरसफाई गर्ने, कपडा धुने यी सबै काम अहिले म आफैंले गर्नु परेको छ।
म नेपाल स्पाइनल कर्ड इन्जुरी, स्पोर्टस एसोसिएसनको उपाध्यक्ष पनि हुँ। ठ्याक्कै तथ्यांक त छैन तर लगभग काठमाण्डौँमा मात्रै २ देखि ३ सय महिलाहरुले स्पाइनल कर्ड इन्जुरीको समस्या भोगिरहेका छन्। उनीहरु सबैको यो बेलामा अवस्था कस्तो होला म भन्न सक्दिन।
सरकारले दाल चामल बाँडेको छ। तर हामी जस्ता अपांगता भएका व्यक्तिहरुको समस्यालाई सम्बोधन गर्न केही गरेकै छैन। अरुले त जाउलो खाएर पनि बाँच्लान तर हामीलाई खाना भन्दा पनि सरसफाई भएन भने बाँच्न सक्दैनौँ। यसले अरु संक्रमणको जोखिम बढाउँछ।
हामीलाई सरसफाईका सामानहरु दैनिक चाहिन्छ। म त इन्सुलिन युजर पनि हो। एउटा इन्सुलिनको १ हजार पर्छ। यो सबै एकैपटक स्टक राख्न मेरो क्षमताले पनि भ्याउँदैन। कोठाको भाडा, खाद्यान्नको स्टक, अरु सामानको स्टक र औषधीको स्टक। के के कुराको ख्याल हामी एक्लैले गर्ने। यस्तो बेलामा सरकारले हामी जस्ता नागरिकको जीवन सहज बनाउन केही कुरामा त ख्याल गरिदिए हुन्थ्यो।''
कथा किन ?
अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ । संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागी हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ । जो अहिले तेस्रो सातामा छ ।
विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ । हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तिकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना । २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखी हिमालखबर पनि जोडिएको छ ।
मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो । भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छैँ ।
संयोजक, कथा कोरोना टीम
@KathaCorona
सम्पादक
himalkhabar.com
@HImal_khabar