बन्दाबन्दीले नेपालय प्रकाशनको 'महिला श्रृखला २०२०' प्रभावित, बिमोचन स्थगित
कोरोनाभाइरस (कोविड-१९) महामारी र बन्दाबन्दीका कारण प्रकाशन नेपालयको 'महिला श्रृंखला २०२०' अन्तर्गत मार्च महिनामा सार्वजनिक हुने घोषणा गरिएका दुई पुस्तकहरूको बिमोचन स्थगित भएको छ ।
सार्वजनिक हुने भनेर पहिल्यै घोषणा भएका भुवन ढुंगानाको आख्यान ‘परित्यक्ता’ र डा.सुधा शर्माको ‘सिंहदरवारको धुम्ने मेच’ को बिमोचन स्थगित गरिएको हो । दुबै पुस्तक बन्दान्दीको अन्त्यपछि सार्वजनिक गरिने नेपालयले जनाएको छ।
‘कोविड-१९ ले संसारमा पुर्याएको प्रभाव बारे हामी सबै जानकार छौं, यसबाट प्रकाशन उद्योग पनि प्रभावित हुनु स्वाभाविक हो । ... यस्तो अवस्थामा ‘भर्चुअल’ माध्यमको महत्व झन् टड्कारै महसुस भएको छ,' पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन् 'हामी हाम्रा नेपाली पुस्तकहरू सक्दो चाँडो ई-बुकको रुपमा उपलब्ध गराउन प्रयत्नशील छौं ।’
बिमोचनको संघारमा रहेका दुई पुस्तकहरू 'नेपालय महिला श्रृंखला २०२०' अन्तरगतकै पुस्तकहरू हुन । यो शृंखलाको पहिलो पुस्तक दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ पहिले नै विमोचन भइसकेको छ ।
शृंखलाको दोस्रो पुस्तकमा भुवन ढुंगानाको आख्यान ‘परित्यक्ता’ रहेको छ । एकालाप शैलीमा बाधिएको यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छ । पुस्तकले एउटी महिला जो वास्तवमा समाजद्वारा तोकिएको भूमिकामा मात्र समाहित हुन बाध्य छे, समाजमा उसको निजत्वको पनि कुनै भूमिका छ कि छैन भन्ने प्रश्न गर्दछ । यो कृतिले महिलाले आफ्ना उद्देश्यलाई आफैंले पूरा गर्ने प्रयत्न गर्नु पर्छ भन्नेतर्फ संकेत गर्ने, नेपालयको बिज्ञप्तीमा उल्लेख छ ।
सन् १९७० ताकाको नामी साहित्यिक पत्रिका मधुपर्कबाट कथा लेखनमा प्रवेश गरेकी भुवन ढुंगानाको यो पहिलो उपन्यास हो । विश्वभारती महाविद्यालय (शान्ति निकेतन) बाट शास्त्रीय नृत्यमा स्नातक तथा त्रिभूवन विश्वविद्यालयबाट अँग्रेजी साहित्यमा स्नातकोत्तर ढुंगानाका ‘धर्म बिम्ब’ र ‘युद्धको घोषणा अघि’ शीर्षकका कथा सँग्रहहरू प्रकाशित छन् ।

'नेपालय महिला श्रृंखला २०२०' को तेस्रो पुस्तक डा.सुधा शर्माको ‘सिंहदरवारको धुम्ने मेच’ रहेको छ । यस पुस्तकले २००६ को आन्दोलनपछिको समयमा सरकारी सेवामा कार्यरत एउटी महिला सचिवको साहसिक कार्यसम्पादन र चुनौतिहरूको कथा बोकेको छ ।
डा. शर्मा योग्यताले प्रसुति तथा स्त्री रोग विशेषज्ञ हुन् । उनले अक्टुबर २००८ देखि डिसेम्बर २०११ सम्म स्वास्थ तथा जनसंख्या मन्त्रालयमा सचिवको रुपमा कार्यसम्पादन गरेकी थिईन् । त्यही समयावधीमा उनले स्वास्थ्य रेखदेखका निम्ति महत्वपूर्ण नीतिको परिकल्पना र तर्जुमा गर्दै तिनलाई लागू पनि गरिन् जसमा नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम कार्यान्वयन योजना (एनएचएसपी-२) २०१०-१०१५ सामिल छ । डा. सुधाले त्यही परिवेशको भोगाइलाई आकर्षक कथ्यशैलीमा पुस्तकमा उतारेकी छन् ।

आगामी प्रकाशनका बारेमा नेपालय पब्लिकेसन्सकी सम्पादक भूषिता वशिष्ठले दुबै कृतिहरू नेपालमा विद्यमान लैंगिक पहिचानको विचार विमर्शमा अर्थपूर्ण आयाम थप्ने विश्वास गरेकी छन् ।
'ढुंगानाको पुस्तकले लिंगको निर्धारित भूमिकाभन्दा माथि उठेर उत्पन्न हुने वैयक्तिक अस्तित्वमाथिको ध्यानलाई उजागर गरेको छ,' भूषिता भन्छिन् 'अर्कोतिर डा. शर्माको पुस्तक पितृसत्ताको असक्षम संरचनालाई नै संचालन गरेर पूरानो र पिल्सिएको प्रवृत्तिलाई प्रहार गर्न सफल भएकी महिलाको कथा हो ।’