बन्दाबन्दीमा घरेलु हिंसा: विदेशमा बढे, नेपालमा घटे
कोरोना संक्रमण रोक्न विश्वभरि आवागमन बन्द भएका वेला विदेशमा घरेलु हिंसाका घटना बढेको पाइएको छ । पछिल्ला तथ्यांकले काेराेना भाइरसका संक्रमणपछि घरमा महिला र बालबालिकाहरुलाई दुर्व्यवहार गरेका घटना बढ्दै गएको देखाएको छ ।
धेरै देशका सरकारहरुका लागि महामारी नियन्त्रण गर्न व्यस्त भएका वेला पारिवारिक हिंसाबाट पीडित भएकाहरुको मद्दत गर्नु अर्को चुनौती बनेको छ । विश्वभरिमा घरेलु हिंसाका घटना उजुरी गर्न छुट्याइएका हटलाइनहरुमा तारन्तार हिंसाका उजुरी आइरहेका छन् । ब्रिटेन र स्पेनमा २० प्रतिशत, फ्रान्समा ३० प्रतिशतसम्म उजुरी बढेको छ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरस भन्छन्, “म सबै देशका सरकारहरुलाई महिला सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछु ।” उनले यो मुस्किल समयमा सरकारहरु घरेलु हिंसा रोक्न असफल भएको पनि स्वीकार गरेका छन् । साथै उनले जसरी कोरोना रोक्न ढिलो पहल गरे त्यसैगरी घरेलु हिंसा रोक्न ढिलो गर्ने छैनन् भन्ने विश्वास पनि व्यक्त गरेका छन् ।
ब्रिस्टल युनिभर्सिटीका समाजविद मैरीआने हेस्टर भन्छिन्, “परिवारका सदस्यले सँगै धेरै समय बिताउन थाले भने घरेलु हिंसा वृद्धि हुने संभावना रहन्छ ।” विशेषज्ञहरुले यूरोप र अन्य महादेशका कैयौं देशका सरकारहरुले घरेलु हिंसाबारे नसोची लकडाउन गर्ने निर्णय गरेको बताएका छन्।
आइसोलेसनः अपराधीहरुलाई बलियो बनायो
- हार्वर्ड युनिभर्सिटीका प्राध्यापक जुडिथ लेविस हरमैनले ९० को दशकमा लेखेका थिए– घरेलु हिंसाका अपराधीलाई घरहरुमा कैद गरेर राख्दा उनीहरुले परिवारका सदस्यहरुलाई नियन्त्रणमा राख्न धेरै जोरजबरजस्तीको सहारा लिन्छन् ।
- केही विशेषज्ञहरुले आइसोलेसन महामारी विरुद्धको अभियानमा जरुरी छ तर यसले घरेलु हिंसा गर्नेहरुलाई उक्साएर बलियो बनाइदिएको बताएका छन् ।
- आइसोलेसनका क्रममा पीडितहरुले उनीहरुका साथी र अनुभवीहरुबाट प्राप्त हुने मनोसामाजिक सहयोग पाउन सकिरहेका छैनन् तर पछिल्लो समयमा घरेलु हिंसाबाट महिलाहरुलाई बचाउन संघसंस्थाहरुको सक्रियता भने बढ्न थालेको छ ।
फ्रान्स सरकारः लकडाउनमा बढी उजुरी
फ्रान्स प्रहरीका अनुसार घरेलु हिंसा ३० प्रतिशतले बढेको छ । फ्रेन्च टीभीलाई दिइएको एक अन्तर्वार्ताका क्रममा त्यहाँका गृहमन्त्री क्रिस्टोफ कैस्टनेरले सम्बन्धित अधिकारीहरुलाई घरेलु हिंसा पीडितलाई यथाशिघ्र सहयोग गर्न निर्देशन दिए । उनले लकडाउनकै कारण हिंसाका घटना बढेको पनि स्वीकार गरेका छन्।
ब्रिटेन सरकारः बढ्यो दबाब
ब्रिटेनमा पनि हिंसाका घटना बढेको देखेर सरकारले हटलाइन र एप्लिकेशनहरु सञ्चालन गरेको छ । यसका माध्यमबाट महिलाहरुले सहयोगका लागि गुहार माग्न सक्नेछन् । ब्रिटेनमा यस्ता घटनाहरु २० प्रतिशतले बढेका छन् । अघिल्लो हप्ता दर्जनौं नागरिक समूहहरुले हिंसा गर्नेहरुलाई कारबाही गर्न माग गर्दै सरकारलाई पत्र पठाएका थिए ।
त्यहाँका गृह सचिवले सरकार प्रहरीको सहयोगमा पडितहरुलाई मद्दत गर्ने दिशामा अघि बढिरहेको बताएका छन् । सरकारले यदि घरमा काबु बाहिरको स्थिति छ भने पीडितहरुले घरमै सीमित हुनुपर्ने नियम पालन गर्नु जरुरी नरहेको बताएको छ।
इटालीः विस्तारै बढ्दै गए हिंसाका घटना
इटालीमा मार्चको पहिलो हप्ताबाट लकडाउन शुरु गरिएको थियो । विस्तारै हिंसाका घटना बढ्न थाले । आश्रयस्थलमा महिलाहरुलाई संक्रमणको डरले बस्न दिइएको छैन । उनीहरुले बाध्यतावश घरमै बन्दी भएर बस्नु पर्यो । सरकारले प्रशासनलाई भनेर पीडितहरुलाई होटलहरुमा राख्ने प्रबन्ध गरेको छ ।
स्पेनः पहिलो दुई हप्तामै बढ्यो उजुरी
स्पेनको आकस्मिक कल सेन्टरमा घरेलु हिंसाका घटनासम्बन्धी उजुरी २० प्रतिशतले बढेका छन् । एक महिला एनाले न्यूयोर्क टाइम्सलाई उनका साथी दिनभर अपमानजनक ढंगले प्रस्तुत हुने गरेको तर घरमा भने उनलाई निगरानी गर्ने गरिएको बताएकी छन् । स्पेनमा १४ मार्चदेखि लकडाउन शुरु गरिएको थियो।
चीनः फेब्रुअरीबाट हेल्पलाइनमा उजुरी बढ्यो
चीनको अनहुईकी लिलीले हरेकक्षण श्रीमानसँग वादविवाद गरेर बिताइन् । ११ महिनाकी छोरी काखमा भएका बेला एक मार्चमा उनलाई पतिले पिटे । अघिल्ला ६ वर्षदेखिनै उनको पतिसँग वादविवाद हुँदै आएको छ तर कोभिड १९ का कारण सँगै बस्दा धेरै हिंसा सामना गर्नुपर्यो ।
नेपालमा घट्यो
प्रहरीको तथ्याङ्क अनुसार नेपालमा भने बन्दाबन्दीपछि महिला बालबालिका तथा ज्येष्ठ नागरिकमा हुने हिंसात्मक घटनामा कमी आएको छ । बन्दाबन्दी भन्दा अघिको माघ महीनामा यस्ता अपराधका घटना १,३६१ थियो भने फागुनमा १,४५१ थियो ।
बन्दाबन्दी शुरु भइसकेपछि भने उक्त घटनाहरूमा उल्लेख्य कमी आएको प्रहरीको तथ्याङ्कमा जनाइएको छ । बन्दाबन्दी शुरु भएको अवधि ११ चैतदेखि २५ चैतसम्मको तथ्याङ्क अनुसार नेपालमा जम्मा १०४ वटा घटना प्रहरी कार्यालयमा दर्ता भएका छन्।
अघिल्लो महीनाको सोही समयमा भएका अपराधका घटनाको संख्या र बन्दाबन्दीको समयमा भएका घटनालाई तुलना गर्दा पछिल्लो समयको अनुपात कम देखिएको हो । यस अघि पनि जबरजस्ती करणीका घटना सबैभन्दा बढी भएको अहिले पनि सोही प्रकृतिका घटना नै बढी भएका छन् ।
माघमा जबरजस्ती करणीमा १५६ वटा मुद्दा परेका थिए भने फागुनमा १९२ वटा मुद्दा प्रहरीसँग आएका थिए । बन्दाबन्दीको दुई हप्ताको समयमा भने ३७ वटा जबरजस्ती करणीका मुद्दा प्रहरी कार्यालयमा आएका छन् ।
यो भन्दा पनि बढी नेपालमा दर्ता हुने घरेलु हिंसाका मुद्दा हुन् । माघ महीनामा १,०४१ वटा फागुनमा १,०९४ वटा घरेलु हिंसाका मुद्दा प्रहरी कार्यायलमा दर्ता भएका थिए । बन्दाबन्दीपछि भने ४४ वटा घरेलु हिंसाका मुद्दा प्रहरी कार्यालयमा पुगेका छन्।
प्रस्तुति: टीएन घिमिरे