बन्दाबन्दीमा के गर्दैछन् ८० कटेका कलाकार ?
नेपाली ललितकलामा ८० वर्ष उकालो उमेरका कलाकर्मीहरूमध्ये कतिपय अद्यापि कलाकर्ममै सक्रिय छन् । कति चाहिँ उमेर र स्वस्थ्यका कारण हिँड्डुल गर्न सक्दैनन् ।
बन्दाबन्दीको समयमा उनीहरू घरमै के गरिरहेका छन् त ? यो जिज्ञासा बोकेर केही अग्रज कलाकारहरूसँग संवाद गर्दा लाग्यो यसले उनीहरुमा खासै असर पारेको छैन।
९४ वर्षीय वरिष्ठ मूर्तिकार प्रा. गोविन्दनारायण ‘ज्या–पूू’ यतिबेला पनि काठमाडौं धर्मपथ, झोछेंमा आठ तलामाथि कौसीमा पुराना मूर्तिकला सुम्सुम्याउँदै छन्। भन्छन्– यिनकै सिर्जनामा जिन्दगी बित्यो । अब यिनलाई कसरी सम्हालेर राख्ने होला ? सोच्दैछु।
समयको परिवर्तन र विकासले आज ‘ज्या–पू’ ले भोगेको जमाना छैन । समयले धेरै सुविधा र अवसर दिँदै मानिसलाई आज सजिलो बनाइदिएको देख्दा उनी दंग पर्छन्।
उतिबेला अजङ्गका ढुङ्गा ल्याउन, त्यसलाई टुक्र्याउन, ताछ्न, चिल्याउन मरिहत्ते गरी ज्यानै जोखिममा पारेर काम गर्नुपर्थ्याे। तर, आज क्रेनले ओल्टाउन–पल्टाउन, ओसार्न सजिलो पारिदिएको छ । अनि अनेक आधुनिक उपकरणले मूर्तिमा सजीवता भर्न पनि झनै सहज पारिदिएको उनको अनुभव छ।
वरिष्ठ कलाकार टेकवीर मुखिया ८७ वर्षको उमेरमा हर्निया र मूत्रनलीको अप्रेशन गरेर आराम गर्नुपर्ने अवस्थामा छन्, तर एकैछिन फुर्सदमा बस्न नसक्ने कामधाममा व्यस्त छन् । घरबाहिर निस्किन बन्दाबन्दी छ तर उनलाई छटपटी भइसक्यो।
यो बेला उनी घरमै चराचुरुङ्गीहरूलाई चारो दिइरहेका छन् । तथापि उमेरको यो पाकोपनमा पनि उनको धङ्धङ्गी र ध्याउन्न कलाकै छ । मुखिया अहिले यौटा चित्र बनाएर अधकल्चो छोडेको र त्यसलाई सक्न नसकेको सकस अनि सक्सकीले हैरान छन्।
आधुनिक मूर्तिकलाको क्षेत्रमा ठाकुरप्रसाद मैनाली वरिष्ठ प्राज्ञ मूर्तिकारका रूपमा सुपरिचित वरिष्ठ कलाकार हुन् । नेपाल ललित प्रज्ञा–प्रतिष्ठानको उप–कुलपतिसमेत भइसकेका ८४ वर्षीय मैनाली अहिले पनि आधुनिक मूर्तिकलाको विकास र विस्तारमा अगुवाइ गर्दै आइरहेका छन् । उनका चर्चित प्रसिद्ध मूर्तिकला उपत्यकादेखि राज्यका प्रमुख सहरका चोक र कार्यालय प्राङ्गणमा प्रतिस्थापित छन्।
मैनालीका अनुसार, बन्दाबन्दीको यो बेला पनि उनी सिर्जनात्मक सक्रियता र संस्थागत क्रियाशीलताकै चासो र चिन्तामा छन्।
अर्का कलाकार शंकरनाथ रिमाल पेशाले इन्जिनियर हुन् । यद्यपि चित्रकलामा उनको संलग्नता निकै लामो समयदेखि रहँदै आइरहेको छ । ८५ वर्षे उमेरमा पनि उनलाई कामको चापले भ्याइनभ्याई नै छ।
नेपालको राष्ट्रिय झण्डाको शास्त्रीय नियमानुसार डिजाइन उनले नै गरेका हुन् । कैयौं मठमन्दिर, बिहार, भवन, दरबार, स्मारक आदिको डिजाइन रिमालकै नाममा छ । बन्दाबन्दीको यो फुर्सदले अधुरा काम आरामले गर्ने समय जुटेको र त्यसैको सही सदुपयोग गरिरहेका उनी बताउँछन्।
त्यसैगरी वरिष्ठ कलाकार के.जी. रञ्जित अर्थात् कृष्णगोपाल रञ्जित अहिले ८६ वर्षमा हिंडिरहेका छन् । कलामा समर्पित कलाकार रञ्जित तीन बजे बिउँझिएपछि उनको बिहान शुरु हुन्छ।
उनी बिहान सबेरैदेखि सिर्जनात्मक यात्रामा लाग्छन् । बीचको कोठाबाट जुरूक्क उठेर सुरुसुरु माथिल्लो तलाको कला स्टुडियोमा पुगी खुरूखुरू चित्रमा रङ भर्दै उनी दृश्यचित्रको संसारमा एक्लै रम्छन् । सिर्जनशील कलाकारले उमेर र कुनै किसिमको बन्दका कारण हात बाँधेर बस्नु भनेको कठोर सजाय भोग्नु जस्तै भएको उनको अनुभव छ।
कलामा सधैँ तल्लीन अर्का अग्रज कलाकार हुन् ८४ वर्षीय चिनीकाजी ताम्राकार । उनी सिर्जनात्मक कलाकारिता,शिल्पकला र अरू अनेक कलामा परिचित पुराना चित्रकार हुन् । केही वर्षअघि बिरामी भई थला परेका उनी हाल केही स्वस्थ भए पनि गएको भदौमा हर्नियाको अप्रेशन गरेपछि हिँड्डुल गर्न सकिरहेका छैनन् । तर पनि आँखाले देख्न सकेसम्म उनको ज्यासलमा शिल्पकलाका काम रोकिएको छैन । कलाकै जीवन उनलाई प्रिय लाग्दछ।
८४ वर्षीय मूर्तिकार कालु कुमाले अहिले पनि कलामै समय दिइरहेका छन् । उनलाई पनि बन्दाबन्दीले खासै असर पारेको छैन । बरु आरामले काम गर्न समय मिलेको उनी बताउँछन्।
८३ वर्षीय कलाकार गेहेन्द्रमान अमात्यलाई भने अहिलेको एकान्त बासले केही असर पुर्याएको छ । कार्यक्रमहरूमा सहभागी हुन नसक्नुसँगै मनै अशान्त भइरहेकाले स्वतन्त्र रूपमा निर्धक्क काम गर्न नसकिएको उनको अनुभव छ।
अर्का वरिष्ठ कलाकार हरिप्रसाद शर्मा अस्वस्थ शरीरलाई मजाले आराम गर्ने समय मिलेको बताउँछन् । ८३ वर्षको यो उमेरमा पनि उनी संस्कृति, वास्तुकला, परम्परा, पुरातत्व, तत्कालीन जनजीवनका बहुआयामिक पक्षमा अध्ययन र कला सिर्जना गर्दै आइरहेका छन्।
अर्का वरिष्ठ अग्रज प्राज्ञ कलाकार उत्तम नेपाली हाल अमेरिकास्थित बोस्टनमा छन् । तीन वर्षअघि केही अस्वस्थ भएपछि उनले कलामा खासै नयाँ काम गर्न सकेका छैनन्।
त्यस्तै कलाकारहरू श्यामदास “अशान्त”, आशाराम मौर्य, उर्मिला उपाध्याय “गर्ग”, भद्रकुमारी घलेजस्ता स्वनामधन्य कलाकारसँगै कलासेवी पनि आज ८० वर्ष उकालो उमेरमा पुगिसकेका छन् । उमेरकै कारण उनीहरु सिर्जनामा सक्रिय छैनन् । तर, तनमनले साथ दिनेहरु चाहिं ८० दशकको उमेरलाई पनि छिचोल्दै सिर्जनामै मग्न छन्।