“सरकार र नागरिकबीच सेतुको काम गर्छौं” : डा.बाबुराम भट्टराई
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले कांग्रेस नेता प्रदीप गिरीसमेतलाई समेटेर १७ जनाको ‘कोरोना महाव्याधि विरुद्ध सार्वजनिक पहल, नेपाल’ (कोमविसाप) सञ्चालन केन्द्रीय संयोजन समिति गठन गरेका छन् । यस मार्फत कोरोनाभाइरसको जोखिम र संकटलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदमलाई सहयोग गर्ने तथा आमजनता र राज्यका निकायबीच सहजीकरण, निगरानी एवं अनुगमन तथा मूल्यांकन गर्ने भनिएको छ ।
तत्कालीन नेकपा माओवादीको हिंसात्मक राजनीतिका भाष्यकार डा.भट्टराई आफू समेतको सहमतिमा संविधानसभाबाट संविधान जारी भएसँगै माओवादी पार्टीबाट अलग्गिएका थिए । त्यसयता वैकल्पिक राजनीतिक शक्ति निर्माणमा निरन्तर लागेका डा.भट्टराई धेरै प्रयोगपछि पछिल्लो समय समाजवादी पार्टी नेपालका अध्यक्ष छन्।
२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन नयाँ शक्ति पार्टीको तर्फबाट गोर्खा–२ बाट नेपाली कांग्रेसको सहयोगमा चुनाव जितेका डा.भट्टराईको पछिल्लो अभ्यास धेरैको बुझाइमा ‘राष्ट्रिय राजनीतिमा ओझेल नभइयोस्’ भन्ने चिन्तनबाट सिर्जित एक उपक्रम हो । देश अप्ठेरोमा परेको, सरकारको प्रस्तुति तुलनात्मक रुपमा फितलो रहेको र आफू भित्रको त्रिकोणात्मक संघर्षका कारण सत्तारुढ पार्टी किंकर्तव्यविमूढ बनेको अवस्थालाई डा.भट्टराईले केन्द्रदेखि गाउँसम्म एकखाले संरचना निर्माणको अवसरका रुपमा लिएको ठम्याइ पनि छ । हिमालखबरका लागि लक्ष्मी बस्नेतले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग गरेको कुराकानीको सार संक्षेपः
के हो यो ‘कोरोना महाव्याधि विरुद्ध सार्वजनिक पहल, नेपाल’ ?
अहिले कोरोनाभाइरसले विश्वमै महाव्याधिको रुप लिएको छ । यसले सबै वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका कसैलाई पनि छोड्दैन । यस्तो बेलामा देश र देशका सम्पूर्ण नागरिक पनि यस विरुद्ध लाग्नुपर्छ । मुख्य दायित्व राज्यले लिनुपर्छ तर हरेक नागरिकको पनि त्यत्तिकै महत्वपूर्ण भूमिका छ । त्यसैले राज्य र नागरिकको बीचमा सेतुको भूमिकाका लागि गठन गरिएको हो । स्वयंसेवी भावनाले हामी नागरिकको भूमिका पनि छ भनेर नागरिक तहबाट गरिएको ‘पब्लिक इनिसियटिभ’ हो ।
देशमा तीन तहको सरकार छ, करीब ३७ हजार निर्वाचित जनप्रतिनिधि छन्, राजनीतिक दलहरु पनि छन् । किन चाहियो छुट्टै सेतु ?
स्थानीय सरकार छ, राजनीतिक दल पनि छन् । त्यसैले यो कुनै राजनीतिक दल जस्तो होइन र सरकार विरुद्ध पनि होइन । विशुद्ध नागरिक अभियान हो । यो पहिलो चरणमा १७ जना उपलब्ध भयौं र आवश्यक छ भन्ने भएर केन्द्रीय संयोजन समिति भन्यौं । यो खुला नेटवर्क हो जो पनि जोडिन सक्नुहुन्छ । यसलाई संयोजन गर्न केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म समितिहरु हुनेछन् । हाललाई केन्द्रमा हामी छौं, तर विभिन्न क्षेत्रका इच्छुक विज्ञ, स्वयंसेवीहरुलाई सहभागी गराउँदै लगिनेछ । सहभागी हुन स्वयंसेवी भावना भएकालाई आह्वान पनि गर्दछु ।
यो सरकार विरुद्ध र सरकारकै खबरदारी गर्न मात्र गठित भएको भन्ने होइन । यद्यपि सरकारले गरेको नराम्रो कामको खबरदारी पनि गर्छौं । विशेषतः सल्लाह, सुझाव दिन्छौं भने आम नागरिकलाई पनि महाव्याधि विरुद्ध एक हुनुपर्छ भनेर सन्देश दिनु पनि हाम्रो उद्देश्य हो । अभियानप्रतिको प्रतिक्रिया राम्रो पाएका छौं । हामी पनि जोडिन्छौं भन्नेहरु थुपै्र हुनुहुन्छ ।
तपाईं त समाजवादी पार्टीको अध्यक्ष, पार्टी मार्फत पनि यो काम गर्न सक्नुहुन्थ्यो, पार्टीमा सल्लाह भयो कि भएन ?
यो स्वयंसेवी काम हो, दलगत कार्यक्रम भन्दा फरक छ । पार्टी नेताहरुलाई जानकारी दिने कुरा त भइहाल्यो, इच्छा भएकालाई सहभागी होऔं पनि भनेको छु । अर्को कुरा यस्तो सामाजिक अभियानमा लाग्न सबै स्वतन्त्रै हुन्छन् नि । यो सर्वपक्षीय संयन्त्र बनाउने कुरा हो । कामको अनुगमन गर्न पनि विभिन्न किसिमले थालिसकेका छौं । मैले पनि गरिरहेको छु । बिहीबार प्रधानमन्त्री र कोरोना नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई हाम्रा सुझावहरु पठाएका छौं । हाम्रो पहलप्रति बाहिरबाट आएको प्रतिक्रिया सकारात्मक छ ।
भनेपछि कोरोनाभाइरसविरुद्ध सरकारको तयारी र काममा असन्तुष्ट हुनुहुन्छ, हैन ?
सरकारले गर्नुपर्ने जति गर्न नसकेको त प्रष्टै देखिएको छ । त्यसमा प्रधानमन्त्रीको अस्वस्थता पनि एउटा कारण हुन सक्ला । फेरि नपरी नसोच्ने नेपालीको बानी हो, त्यो पनि देखियो । पूर्व तयारी नै ढिला थालियो । विश्वमै महामारीका रुपमा स्थापित भइसकेपछि बल्ल पूर्व तयारी थाल्नु त ठीक होइन नि !
विदेशबाट आएकाहरुको स्वास्थ्य जाँच छिटोभन्दा छिटो गर्न सक्नुपथ्र्यो, त्यो भएन । स्वास्थ्य सामग्री स्टक राख्ने वा संकलन पनि समयमै गरिएन । मन्त्रीहरुले नै भ्रष्टाचार गरेको कुरा आयो, यो त अत्यन्त गलत र अशोभनीय काम भयो । ‘जीटूजी’ भनेर सामान ढुवानीको जिम्मा नेपाली सेनालाई दिइएको छ । सेनाले त सुरक्षा पो गर्ने हो नि । यस्त गल्तीहरु आगामी दिनमा नहोस् भनेर सचेत पनि गराउँछौं ।
एक हप्ता भयो गठन भएको, के के काम गर्नुभयो ? बाहिरबाट कस्तो प्रतिक्रिया आएको छ ?
पहिलो त हामीले सानो टिम बनायौं । यो टिमको हैसियतमा बिहीबार प्रधानमन्त्री र उपप्रधानमन्त्री एवं कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग म आफैंले कुरा गरेर हामीले पठाएको सुझावबारे जानकारी दिएँ । प्रधानमन्त्रीको सचिवालयमा फोनबाट जानकारी गराएर इमेल पठाइएको छ । मुख्यतः उपचारमा खटिने सबै तहका स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी, विपन्न, मजदुरको जनजीविका तथा आर्थिक सवाल, खेतीपातीलाई निरन्तरता दिने र उत्पादन भएका वस्तुलाई खेर जान नदिन के के गर्ने भन्ने कुरा उठाएका छौं । कालोबजारी अन्त्य गर्नुपर्छ । सीमामा अलपत्र परेकालाई उचित व्यवस्था गरी स्वदेश ल्याउनु उचित हुन्छ । यी लगायत विभिन्न विषयलाई मसिनोसँग केलाएर सुझाव दिएका छौं । यी सबै विषयमा थप अध्ययन, अनुगमन गर्न विषय विज्ञहरुकै नेतृत्वमा चार वटा समितिहरु पनि बनाएका छौं ।
तपाईं पूर्व प्रधानमन्त्री पनि हो । त्यही हैसियतमा सरकारसँग समन्वय गरेर काम गर्न सकिँदैन ?
पूर्व प्रधानमन्त्रीको हैसियतमा सरकारसँग त्यस्तो समन्वय भएको छैन । हामी पूर्व प्रधानमन्त्रीहरुले एक खालको सल्लाह चाहिँ गरिरहेका थियौं । त्यो कुरा पनि प्रधानमन्त्रीसँग छलफल गर्न खोजेको, तर सम्पर्क भएको छैन । प्रधानमन्त्रीको स्वभाव पनि अर्काको कुरा नसुन्ने खालको रहेछ कि जस्तो लाग्छ । यद्यपि उहाँलाई काम गर्न सहज हुने गरी हामीले निकालेका निष्कर्षहरु सुझावका रुपमा बुधबार पठायौं ।
बन्दाबन्दीमा के गर्दै हुनुहुन्छ ?
घरमा बस्नुपर्ने बेला छ, तर आनन्द मनले बसिँदैन । मुख्यतः गाउँ, जिल्लादेखि देश मात्र होइन, विदेशमा रहेका नेपालीको अवस्था बुझ्ने र के सहयोग कहाँबाट आवश्यक पर्छ त्यसको समन्वय गर्ने काममा धेरै समय बितिरहेको छ । बाँकी समयमा पढ्ने, लेख्ने गरेर बसेको छु ।