काेराेनाभाइरसबाट वृद्धवृद्धालाई जोगाउन कठिन
राष्ट्रव्यापी रुपमा २३ मार्चदेखि बन्दाबन्दी घोषणा भएदेखि ज्येष्ठ नागरिक र बालबालिकाको हेरचाह गर्नेहरुलाई कोभिड-१९ बाट संक्रमण हुने त्रास बढेको छ ।
– एलिसा सिजापति
पाको उमेरका र पहिलेदेखि नै दम, मधुमेह, र हृदयरोग जस्ता स्वास्थ्य समस्या रहेका मानिसहरु यस भाइरसका कारण गम्भीर बिरामी हुने जोखिम बढी रहेको बताइन्छ ।
वृद्धवृद्धाहरुलाई राखिएको पशुपति वृद्धाश्रम गृह र नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) दुवैलाई १४ मार्चदेखि क्वारेन्टिनमा राखिएकाले त्यहाँ कुनै पनि आगन्तुकलाई भेटघाट गर्न दिइएको छैन ।
२०७२ सालमा आएको भूकम्पमा बिग्रिएर राम्ररी मर्मत संभार हुन नसकेका ती संस्था सञ्चालन गर्न कोभिड-१९ ले अर्को चुनौती थपिएको छ । ज्येष्ठ नागरिक राखिएको पशुपति वृद्धाश्रम वास्तवमा १८८२ सालमा बनाइएको थियो । यसले त्यहीवेलादेखि उनीहरुलाई छाहारी प्रदान गरिरहेको छ । विशेष सहायता चाहिएकाहरुलाई राख्न नजिकै अर्को पनि घर बनाइएको छ ।
नेपाल बाल संगठनले काठमाडौं उपत्यका भित्र विभिन्न १० स्थानहरुमा ४०० बालबालिकाहरुको हेरचाह गरिरहेको छ । अबारी समूहले बनाइदिएको उनीहरुको अस्थायी कार्यालय र नयाँ भवन मुख्य ऐतिहासिक भवनको छेउमा रहेको छ । त्यो भवन पाँच वर्ष अघिको भूकम्पमा क्षतिग्रस्त भएको थियो र हाल नेपाल पुनर्निर्माण प्राधिकरणले त्यसलाई सबलिकरण गरिरहेको छ ।
नेपाल पुनर्निर्माण प्राधिकरणले २ वर्ष लगाएर सबलीकरण गरेपछि नेपाल बाल संगठन पुरानै भवनमा सर्ने योजना बनाइरहेको छ । सबलीकरण गरेपछि सो भवन केही मात्रामा ज्येष्ठ नागरिक मैत्री बनाइएको छ । पशुपति वृद्धाश्रमका प्रशासकीय प्रमुख कृृष्णप्रसाद कँडेलका अनुसार सरकारले गोठाटारमा आधुनिक वृद्धाश्रम भवन बनाउन जग्गा उपलब्ध गराएको छ तर परियोजना अझै साकार भएको छैन ।
साँघुरो भएका कारण पशुपतिस्थित वृद्धाश्रममा २०१५ देखि थपिएको छैन । हाल यहाँ १४० वृद्धवृद्धा बस्छन् । त्यहाँ बस्नेमध्ये अधिकांश परिवारले छाडेका र हेरचाह गर्ने कोही नभएकाहरु छन् ।
वृद्धाश्रम र बाल संगठन दुवैले भाइरस परीक्षण र विपद व्यवस्थापन योजनाबारे अन्य देशहरुले गरेका अभ्यास हेरेका छन् । दुवै आश्रयस्थलहरुमा बालबालिका र ज्येष्ठ नागरिकलाई कोरोना भाइरसबाट कसरी बच्ने भन्ने जानकारी दिइएको छ । उनीहरुलाई स्वास्थ्य मन्त्रालयले २ महिनालाई पुग्नेगरी साबुन, किटाणुनासक सामग्री र मास्क उपलब्ध गराएको छ ।
नेपाल बाल संगठनका कार्यबाहक निर्देशक निरज भण्डारी र उनको समूहले बाबालिकाहरुलाई कुरो बुझाउन सजिलो हुने तर वृद्धवृद्धालाई मास्क लगाउन र साबुनले हात धुनुको महत्व बुझाउन गाह्रो भएको महसुस गरेका छन् ।
“जहिले पनि बालबालिकालाई बुझाउन सजिलो हुन्छ तर बुढापाकालाई साह्रै कठिन । हामीले बारम्बार एउटै कुरा दोहो¥याइरहनुपर्छ किनभने यी उपायले उनीहरुको रक्षा गर्छ भन्ने नै बुझ्दैनन्,” कँडेलले भने ।
८७ वर्षीय ओमकुमारी तिवारी (तस्बिर) १७ वर्षदेखि यही वृद्धाश्रममा बसिरहेकी छन्, तर उनी अहिले न मन्दिर जान दिइएको छ न त आगन्तुकहरुलाई नै आउन दिइएको छ । "यस्तो किन गरिएको हो ?" उनी बारम्बार सोध्छिन्।
उनले यो मास्क किन लगाउनुपर्ने हो भन्ने पनि बुझेकी छैनन् । कँडेलका अनुसार धेरै वृद्धवृद्धा विस्मृति र अल्जाइमरको समस्याले पीडित छन्, उनीहरुलाई अवलम्बन गर्न भनिएका सतर्कताहरु सम्झन कठिन हुन्छ । कतिपयले मास्क लगाउँदा सास फेर्नै कठिन भएको र आफन्तहरुसँग भेटघाट गर्न नदिइएको भनेर गुनासो गर्छन् ।
कँडेल भन्छन्, “यस्तो महसुस गर्नु स्वभाविक छ किनभने उनीहरुले बाहिर के भइरहेको छ भन्ने अझै बुझेका छैनन् ।”
यसैगरी भण्डारीले भने सेल्फ क्वारेन्टिनमा बसेका बालबालिकाले पनि बाहिर खेल्न दिन र साथीहरुसँग भेटघाट गर्न दिनका लागि अनुरोध गर्छन्, तर अवस्थाबारे बताएर हुँदैन भनेपछि कुरो बुझ्छन् ।
“हामी यस क्षेत्रका विशेषज्ञ होइनौं तर हामी भाइरससँग लड्न यथाशक्य प्रयत्न गर्ने छौं,” भण्डारी भन्छन्, “भूकम्पबाट जोगिएपछि अझै ठूलो विपदको सामना गर्नुपरिरहेको छ ।”