काेराेनाभाइरस महामारीले विश्वलाई सिकाएको पाठ
कोभिड १९ ले निम्त्याएको यो त्रासदीपूर्ण अवस्था अहिलेसम्मको विकास प्रारुप र संरचनाकै कारण हो । वास्तवमा विकासको आधार समाजको आर्थिक–सामाजिक रुपान्तरण हो कि व्यक्तिको वर्गीय हैसियतमा हुने परिवर्तन हो, भन्नेमा गहन चिन्तन नै हुन सकेको छैन।
– सुशील प्याकुरेल
पृथ्वीको प्रायः सम्पूर्ण भूभागका मानिस अहिले कोभिड १९ नामकरण गरिएको कोरोनाभाइरसको कोपभाजनमा परेका छन् । प्रकृितकै एउटा सूक्ष्मतम जीवाणुले विश्वका महावलीहरुलाई लाचार बनाएको छ । तीन महीना अघि उदीयमान शक्ति राष्ट्र चीनबाट शुरु भएको यो विषाणुको आक्रमणको केन्द्र अहिले आधुनिक सभ्यता र विकासको उद्गमस्थल पश्चिम यूरोपसँगै संसारकै शक्तिशाली मुलुक अमेरिकानै बनेको छ ।
यतिखेर शक्ति राष्ट्रहरुनै कोरोनाभाइरसको संकटमा परेका छन् । वर्तमान विश्वको विकास र शक्तिको मापदण्डमा पिछडिएका गरीब राष्ट्रहरुको त प्रश्नै भएन । झाडाबान्ता र मलेरियाजस्ता सामान्य रोगले त महामारीको रुप लिन सक्ने अफ्रिका र दक्षिण एशियाका ‘अविकसित’ र ‘गरीब’मा दरिएका देशहरुमा स्वाभाविक रुपमा त्रास फैलिएको छ ।
किन अमेरिका र यूरोप यो विषाणुको आक्रमणको प्रतिरोध गर्न सकिरहेका छैनन् ? किन आन्तरिक्षका अन्य ग्रहहरुमाथि समेत कब्जा जमाउन क्षमता राख्ने महाशक्ति राष्ट्रहरु भेन्टिलेटरको अभावमा हजारौं व्यक्तिको मृत्युको मौन साक्षी बन्नु परेको छ ? कोभिड–१९ का सन्दर्भमा यस पाटोको विश्लेषण वा यसका कारणहरुको व्यावहारिक सम्बोधन गर्नसकिएन भने मानव जाति नै समाप्त हुन सक्ने अर्को व्याधि नआउला भन्न सकिन्न ।
स्केच: भानु भट्टराई
विश्वमा यसअघि महामारी नभएका होइनन् । विगतका थुप्रै महामारीमा अहिले भन्दा बढी मानिस मरेका थिए । तर, यो महामारी भने विगतका भन्दा फरक देखिन्छ । जुन रफ्तारमा यो फैलिँदैछ, त्यसले मानव जातिको अस्तित्वमै चुनौती थपेको छ । न्यूयोर्कको चिडियाखानामा रहेको एउटा बाघमा देखिएको बाहेक कोभिड–१९ को प्रहार पृथ्वीका अन्य जीवमा पनि भएको यकिन छैन । बरु चमेरा, सालकलगायत कतिपय जीवको शरीरभित्र यो विषाणुले संरक्षण पाउँदै आएका प्रारम्भिक आशंका वैज्ञानिकहरुको छ ।
यही कारण एकातिर कोरोनाभाइरसको वाहक पहिचानका लागि वैज्ञानिक अध्ययन–अनुसन्धानलाई अघि बढाउनु पर्ने दायित्व सिंगो मानवजातिको छ । अर्कातिर यसको रोकथामको प्रयत्नसँगै भविष्यको रणनीतिका बारेमा पनि गम्भीर बहस गर्न जरुरी छ ।
संसारका शक्तिशाली सैनिक र आर्थिक, राजनीतिक संगठनहरुले समेत कोभिड १९ महामारी सिर्जित समस्याको प्रतिरोध गर्न सकेका छैनन् । इटाली र स्पेनमा भइरहेको मानवजीवनको व्यापक क्षतिलाई रोक्न न उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) जस्तो संसारकै बलियो सैन्य गठबन्धनले अग्रसरता लिन सक्यो न त यूरोपियन युनियन जस्तो बृहत् राजनीतिक आर्थिक संगठनले ।
एक शताब्दीयताको विश्व अर्थतन्त्रमा आर्थिक प्रणालीका प्रत्येक उतारचढावहरु बजारले नै ‘डिल’ गर्छ र समाधान निकाल्छ भन्ने सोचको बोलवाला रह्यो। माक्र्सवादी सिद्धान्तका हिमायती समाजवादीहरु पनि सत्तामा पुगेपछि बजारकेन्द्रित विकास प्रणालीमै घुलमिल हुनपुगे ।
स्पेनका प्रधानमन्त्रीले त ‘यूरोपियन युनियनको उपादेयता नै समाप्त हुनसक्ने’सम्म भन्न पुगे । इटाली र फ्रान्सले मास्क, पञ्जा र स्वास्थ्यकर्मीलाई आवश्यक व्यक्तिगत सुरक्षा पोशाक (पीपीई) लगायत सामग्रीका लागि चीनको मुख ताक्नुप¥यो ।
यी दुवै विकसित देशले कोरोनाभाइरस परीक्षणका लागि आवश्यक प्रयोगशालासँग सम्बन्धी सामग्रीका निम्ति पनि अमेरिका र जर्मनी नभएर चीनतर्फ हेर्नुपरेको छ । चीनले आफ्ना लागि पठाएको उपचार सामग्री एअरपोर्टबाटै अमेरिकाले ‘डकैती’ गरेर लगेको आरोप फ्रान्सले लगाएको छ । अन्तर्राष्ट्रिय सम्बन्धको एउटा महत्वपूर्ण पक्ष नाटो जस्तो सैन्य गठबन्धनका ती दुई स्ांस्थापकहरुबीच आरोप–प्रत्यारोप भइरहेको छ, जो हिजो प्रत्येक सदस्य राष्ट्रको सीमा रक्षा गर्नका लागि एक ठाउँमा थिए । आज तिनै मुलुकहरु गठबन्धनका अर्को राष्ट्रका नभई आफ्नै सरहद भित्रका जनताको रक्षा गर्न समेत अक्षम सावित हुन थालेका छन् ।
संकटका स्रोतहरु
अहिले संसारभर कोरोनाभाइरस सिर्जित संकटबाट पार पाउन विमर्शको केन्द्रमा उपचार र निदानका उपायहरु छन् । जुन स्वाभाविक हो । सँगै अर्थतन्त्रमा परेको दबाबलाई लिएर पनि विमर्शहरु हुन थालेका छन् । र, आसन्न आर्थिक संकटबाट पार पाउन फेरि पनि बजारलाई केन्द्रमा राखेर बहस हुन थालेका छन् । वास्तवमा यतिखेर हुनुपर्ने चाहिं वर्तमान संकटको स्रोत के हो ? प्रकटमा देखिएको हाम्रो एक परेलाको हजारौं अंश बराबर आकारको कोरोनाभाइरस हो कि त्यसबाट आफैलाई जोगाउन नसक्ने हाम्रो विकास हो ।
वास्तवमा वर्तमान अवस्थाको सृजना अहिलेसम्मको विकास प्रारुप र संरचनाकै कारण भएको हो । ‘उत्पादन–बजार–उत्पादन’ यही घनचक्करमा विकासको परिभाषालाई प्रतिव्यक्ति आयको साँघुरो सिद्धान्तमा मापन गरिएको छ । वास्तवमा विकासको आधार समाजको आर्थिक–सामाजिक रुपान्तरण हो कि व्यक्तिको वर्गीय हैसियतमा हुने परिवर्तन हो, भन्नेमा गहन चिन्तन नै हुन सकेको छैन ।
बजारबाटै समाजको आर्थिक गतिविधि निर्देशित र नियन्त्रित हुने विश्व प्रणाली स्थापित छ । जहाँ मानव–जीवनका प्रत्येक आवश्यकता बजारबाटै परिपूर्ति हुन्छ भन्ने धारणा बलियो छ । परिणाम; प्रत्येक आवश्यकताको परिपूर्ति बजारबाटै हुन्छ भन्ने मान्यता सर्वव्यापी बन्नपुग्यो । र, मानिसका आधारभूत आवश्यकता पनि बिकाउ हुन्छन् अर्थात तिनको उपभोग वा परिपूर्तिको लागि आय आर्जनमा केन्द्रित हुनु पर्छ भन्ने संस्कृतिको विकास गरियो ।
आय आर्जन गर्न वा पैसा कमाउनका लागि काम भन्ने संस्कृति झट्ट हेर्दा मिहिनेत गर्ने संस्कृति हो । तर, पैसाले सबै मानव आवश्यकताको परिपूर्ति गर्छ भन्ने अति उपभोक्तावादी चिन्तनले सम्पूर्ण राजनीतिक, सामाजिक र आर्थिक प्रणालीलाई बजारमुखी बनाउँदै लग्यो ।
गएको एक शताब्दीयताको विश्व अर्थतन्त्रमा आर्थिक प्रणालीका प्रत्येक उतारचढावहरु बजारले नै ‘डिल’ गर्छ र समाधान निकाल्छ भन्ने सोचका अर्थशास्त्रीहरुकै बोलवाला रह्यो । माक्र्सवादी सिद्धान्तका हिमायती समाजवादीहरु पनि सत्तामा पुगेपछि बजारकेन्द्रित विकास प्रणालीमै घुलमिल हुनपुगे । र, पुँजीवादी मोडल नै एकमात्र विश्वव्यापी आर्थिक विकासको पर्याय बन्नपुग्यो । केही देशमा पृथक मोडलका रुप देखिए पनि, सारमा ती पनि बजार केन्द्रित नै छन् । त्यसैले उत्पादन बढाउनु ‘ठूलो उत्पादन’ले प्राथमिकता पाएको छ, र त्यसकै लागि आधुनिक विज्ञान र प्रविधिको उपयोग भइरहेको छ ।
विगतमा जस्तै एउटा निश्चित अवधि पूरा गरेपछि अहिलेको विश्वव्यापी महामारी समाप्त हुनेमा धेरै वैज्ञानिकहरुको विश्वास छ । त्यसैले बन्दाबन्दी मार्फत त्यो निश्चित अवधि पार गर्नमा तल्लिन संसारका धेरै सरकारहरु त्यसपछिको आर्थिक प्रणालीलाई कसरी सुचारु बनाउने भन्ने ध्याउन्नमा छन् । त्यसका लागि ठूलो रकम आजकै बजारमा केन्द्रित व्यापार र व्यावसायलाई उपलब्ध गराइँदैछ । बजारको आधार मुनाफालाई मानिएको छ र राज्यको मुख्य दायित्व नै मुनाफा जोगाइदिने हुनपुगेको छ । तर, अझै पनि किन किन ठूला–ठूला अस्पतालहरुमा मास्क, पञ्जा र स्वास्थ्यकर्मीका सुरक्षा उपकरणहरुको अभाव हुनपुग्यो भन्नेमा विचार गरिएकै छैन।
विशेषज्ञ चिकित्सक मात्रै नभई महामारीमा सामान्यस्तरका स्वास्थ्यकर्मीको समेत महत्व हुने तथ्य ख्याल गरिएको छैन । विश्वमा अचानक मध्यमस्तरका स्वास्थ्यकर्मीको व्यापक अभाव महसुस गरिएको छ । अहिले लेजर चिकित्सा प्रविधि नभई धेरै भन्दा धेरै अक्सिजन र सलाइन वाटर नै चाहिएको छ । अर्थात्, आजको सबैभन्दा विचारणीय पक्ष भनेको सामान्य भन्दा सामान्य आवश्यकताको अभावमा मानिस मरिरहेको तथ्य हो । त्यसैले अब हामीले विकास, उत्पादन र शिक्षाका विद्यमान मोडलहरुमै गम्भीर विमर्श शुरु गरिहाल्नुपर्छ ।
श्रमको प्रवेशमा नियन्त्रण तर पुँजीलाई स्वागत गर्ने विकासको अवधारणाले मानवलाई बजारको बस्तु बनाइसकेको छ । मानवीयता विनाको विकास मोडलले गर्दा विश्वलाई जलवायु परिवर्तनको भयावह अवस्थामा पु¥याएको छ । अहिले संसारमानै वातावरणीय विनाश–तीव्रगतिको जलवायु परिवर्तन–वातावरणीय विनाश’को चक्रमा परिसकेको छ । वर्तमान विकास मोडलकै कारण वातावरणीय सन्तुलन बिग्रिरहेको भन्ने प्रमाणित पनि भइसकेको छ । तर, यही कारण ओजोन तहमा भइरहेको क्षतिलाई कम गर्न कार्बन उत्सर्जन कम गर्नुपर्छ भन्ने वैज्ञानिक मतअनुसार उल्लेखनीय प्रगति हुन सकेको छैन ।
यस सन्दर्भमा पेरिस सम्झौतादेखि कोप–२५ जस्ता प्रयासहरु भइरहँदा पनि पृथ्वीको तापक्रम बढ्न नदिन निर्धारण गरिएको कार्बन उत्सर्जनको विन्दुमा पुग्ने कुनै सम्भावना देखिंदैन । यो अवस्थामा कोरोनाभाइरसको महामारीले कति परिवर्तन ल्याउँछ भन्नेमा यसको अन्त्यपछि मात्र थाहा होला । तर, हिजोको आधारमा भन्ने हो भने विकसित राष्ट्रहरु खनिज तेल र कोइलामा आधारित उत्पादन प्रणालीलाई नियन्त्रण गर्न तयार थिएनन् ।
कोभिड १९ ले गराउने परिवर्तन
विकासका लागि यातायातका द्रुत साधनको आवश्यकता पर्दछ । तर, यो आवश्यकताको मात्रा कत्रो हो भन्नेमा कहिल्यै कुनै सीमा निर्धारण भएन । हवाईजहाज लगायत यातायातका अन्य साधनले विश्वमा कार्बन उत्सर्जनको एक चौथाइ हिस्सा ओगट्छन् । दुई साता यता कोरोनाका कारण विश्वभरि नै हवाईलगायत यातायातका सबै साधन नगण्य मात्रामा चलेका छन् । जबकि यसअघिसम्म समय र स्थानको भिन्नतालाई जोड्ने विश्वको यातायात सञ्जालको नियन्त्रण असम्भव प्रायः देखिएको थियो।
कोभिड–१९ को आक्रमणसँगै अहिले विश्वका अधिकांश जनता घरमै सीमित हुन बाध्य छन् । सबैजसो राष्ट्र बन्दाबन्दीको स्थितिमा छन् । यातायात मात्रै नभई ठूला र मझौला उद्योगधन्दा पनि बन्द छन् । आर्थिक गतिविधि रोकिए जस्तै भएको छ । यो बन्दाबन्दीको एउटा सकारात्मक परिणाम के छ भने, बेइजिङ, सांघाई, न्यूयोर्क र यूरोपका कतिपय शहर मात्रै नभई काठमाडौंको आकाश पनि निलो देखिएको छ । यसबीच न्यूयोर्कको प्रदूषण ५० प्रतिशतले घटेको छ । चीनमा हावाको स्वच्छतामा ११ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
कोरोनाभाइरसकै कारण आर्थिक सामाजिक क्षेत्रमा पनि परिवर्तनका संकेत देखिन थालेका छन् । स्पेन र इटाली जस्ता पुँजीवादी मुलुकमा निजी अस्पतालहरु सरकारीकरण गर्न शुरु गरिएको छ । महंगा स्वास्थ्य उपकरण बनाउने औद्योगिक प्रतिष्ठानहरुलाई स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री तयार गर्न लगाइएको छ ।
त्यसो त हिजोको राजनीतिक आर्थिक प्रणालीका मान्यताहरुमा ठूलो धक्का लागेको छ । व्यक्तिगत स्वतन्त्रतालाई विकासको मेरुदण्ड मान्ने राष्ट्रहरुले पनि कोरोनाभाइरसलाई परास्त गर्न व्यक्तिको हिंड्डुलमा नियन्त्रण गरेका छन् । अझ कतिपय देशमा त कफ्र्यू नै लगाइएको छ ।
अहिलेको अवस्थाले के चाहिँ स्पष्ट पारेको छ भने यो विश्वव्यापी महामारीको सम्बोधन एउटा राष्ट्रले मात्र गर्न सक्दैन । यसका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ । चीन र अमेरिका व्यापार युद्धमा थिए । दुवैले एकअर्काको उत्पादनमा बन्देज लगाएका थिए । तर, आज ट्रम्प चीनबाट प्राप्त मास्क र भेन्टिलेटरको लागि सी चिनपिङलाई धन्यवाद दिंदैछन् । यो महामारीले विश्वलाई भ्रातृत्व, सदभाव र सहयोगको दायरालाई निकै फराकिले बनाउनु पर्दछ भन्ने शिक्षा दिएको छ ।
तीन महीनादेखि प्रभावित आर्थिक गतिविधिलाई पुनर्जीवित गर्न कति समय लाग्छ अहिले भन्न गाह्रो छ । दुई, तीन वा चार महीनापछि महामारी सकिएला पनि । तर, विश्व प्रणालीलाई तंग्रिन वर्षौं लाग्न सक्छ । अहिलेको बन्दाबन्दीले खाद्य उत्पादनमा ठूलो प्रभाव पारेको छ । यसै पनि विश्वका एकतिहाइ जनता भोकमरीको सामना गर्दै थिए । अब त्यो समस्या अझै बढ्ने छ । विश्व ब्यांक लगायतका अन्तर्राष्ट्रिय वित्तीय संस्थाले विश्वको गरीबी बढ्ने र विकास दर घट्ने प्रक्षेपण गरेका छन् ।
संयुक्त राष्ट्र संघले यो महामारीले विश्वका थप ५० करोड जनतालाई गरीबीको रेखामुनि पुर्याउने अनुमान गरेको छ । जसको परिणाम विश्वका विभिन्न भूभागमा अझ बढी आन्तरिक द्वन्द्व चर्किन सक्नेछ । विभिन्न अर्थशास्त्रीको आकलनमा अहिले हुने घाटा पूर्तिका लागि राष्ट्रहरु बीचको व्यापार युद्ध विभिन्न रुपमा प्रकट हुनेछ । त्यसैले पनि अब वर्तमान विकास मोडलको विकल्प बारेमा बहस हुनु आवश्यक छ ।
हाम्रो राष्ट्रिय दायित्व
अब आफ्नै देशतिर फर्कौं, र विमर्श गरौं स्वास्थ्य र शिक्षाबारे । स्वास्थ्य यदि जनताका लागि हो र चिकित्सकहरु जनताको स्वास्थ्यका लागि हुन् भने चिकित्सा शिक्षा यति महँगो हुनु हुँदैन । महँगो चिकित्सा शिक्षा हुने बित्तिकै त्यहाँबाट आउने चिकित्सक ‘उत्पादन हुने’ मा गरिएको ‘लगानी’ले उसको सेवाको मूल्य र स्तर बजारको प्रचलित मान्यता अनुसार निर्देशित हुन्छ । तसर्थ चिकित्सा लगायतका शिक्षालाई कसरी महँगो हुन नदिने भन्नेमा घोत्लिनै पर्छ । यसको सम्बोधन हुनैपर्छ । यदि अहिले पनि यो प्रश्नलाई सुल्झाउन सकेनौं भने हाम्रा सन्ततिले भविष्यमा यो भन्दा भयानक महामारी झेल्नुपर्ने हुन्छ ।
बहुसंख्यक जनता कुनै न कुनै रुपमा कृषिकर्ममा संलग्न हाम्रो जस्तो मुलुकले कृषि उत्पादनको वृद्धिलाई प्राथमिकता दिनैपर्छ । कृषिको आधुनिकीकरणका लागि अब हामीले यस सम्बन्धी शिक्षाको विस्तार र विकासमा जोड दिनै पर्छ । कोरोनाको कहरले आगामी दिनमा विदेशमा कार्यरत लाखौं नेपाली युवा स्वदेश फर्कने छन् । तिनको जीवन यापन र श्रमको उपयोगका लागि कृषिको आधुनिकीकरण आवश्यक हुन्छ । हामीसित पर्याप्त सफा ऊर्जा छ । अब आवश्यकता अनुरुपको उत्पादनमा प्राथमिकताका साथ त्यसको प्रयोग गरिनु पर्छ ।
स्वास्थ्य जनताका लागि र चिकित्सकहरु जनताको स्वास्थ्यका लागि हुन् भने चिकित्सा शिक्षा यति महँगो हुनु हुँदैन । यो महँगो हुँदा चिकित्सक उत्पादनमा गरिएको लगानीले तिनको सेवाको मूल्य र स्तर बजारले निर्धारण गर्छ ।
त्यस्तै हाम्रो स्वास्थ्य सेवामा व्यापक सुधारको आवश्यकता रहेको प्रमाणित भएको छ । न्यूनतम स्वास्थ्य सुविधा प्रत्येक गाउँसम्म पुग्नैपर्ने रहेछ भन्ने शिक्षा पनि यो संकटले हामीलाई दिएको छ । सरुवा रोगको रोकथामको प्रारम्भिक कार्य स्थानीय सरकारकै तहबाट हुनसक्ने व्यवस्था गर्न अब ढिला गर्नै हुँदैन । ठूला मेडिकल कलेज भन्दा पनि नर्स र आधारभूत स्वास्थ्यकर्मीको उत्पादन हाम्रो प्राथमिकतामा हुनुपर्छ । स्थानीय सरकारहरुको ध्यान ठूला टावर निर्माण भन्दा पनि जनस्वास्थ्य र खाद्य सुरक्षाप्रतिको लगानीमा जानुपर्छ ।
हाम्रो सिमानालाई व्यवस्थित गर्न कति आवश्यक रहेछ भन्ने बोध पनि कोभिड १९ विषाणुले नै गराएको छ । अब निर्बाध आवत–जावत नै हाम्रो विशेषता हो भन्ने भ्रमबाट हामीले मुक्त हुनैपर्छ । एक यूरोपको मान्यतामा अघि बढिरहेका राष्ट्रहरु आज विपदका बेला सिमाना बन्द गर्दैछन् । अब हामीले सिमानालाई व्यवस्थित र नियमन गर्नैपर्छ । यसको अर्थ आवतजावत अवरुद्ध गर्ने भन्ने होइन ।
आफ्ना लागि आवश्यक कम्तीमा आधारभूत वस्तुहरुको उत्पादन आफ्नै देशमा हुनुपर्दो रहेछ भन्ने आज सबैलाई लागेको छ । त्यसैगरी अत्यावश्यक सेवाका लागि दक्ष जनशक्तिको विकास पनि आफ्नै भूमिमा हुनुपर्ने रहेछ भन्ने शिक्षा पनि कोभिड–१९ ले दिएको छ । आजसम्म अवलम्बन गरिंदै आएको अति बजारमुखी उत्पादन प्रणालीमा परिवर्तन गर्न सकेनौं भने भविष्यमा झनै बढी चुनौतीको सामना गर्नुपर्नेछ । कुनै पनि निर्माणले आम मानिसको दैनिक जीवनमा पार्ने प्रभावको समीक्षा नगरी अब पनि ठूला–ठूला परियोजनालाई नै विकास मानिराख्ने हो भने हाम्रो भविष्य सुरक्षित रहने छैन । अब वैदेशिक रोजगारबाट प्राप्त रेमिटेन्समा आधारित राष्ट्रिय उत्पादन वृद्धि गर्ने प्रणालीमा परिवर्तन गर्नै पर्दछ । कोरोनाभाइरसलाई पराजित गरेपछि हामीले वहन गर्नुपर्ने प्रमुख दायित्व यही हो ।