कोभिड–१९ संक्रमितलाई भारत प्रवेश गराउने षड्यन्त्र– भारतीय एसएसबी, सूचनामा गम्भीरता छैन– पर्सा प्रहरी
नेपालबाट कोरोनाभाइरस संक्रमितलाई भारत छिराउने षड्यन्त्र भइरहेको भारतको एउटा सुरक्षा निकायले दाबी गरेको छ । भारतको सशस्त्र सीमा बल (एसएसबी)को एक कमाण्डन्ट कार्यालयले विश्वस्त स्रोतको हवाला दिँदै यस्तो गुप्तचरी सूचना आफ्नो माथिल्ला इकाईहरुमा पठाएको हो ।
यही गोप्य पत्रका आधारमा भारतीय संचारमाध्यमहरुले शुक्रवार दिनभर नेपालबाट भारतमा कोरोनाभाइरस संक्रमित पस्नसक्ने भन्दै समाचार प्रकाशन र प्रशारण गरे।
नेपालबाट २ सय जना कोरोनाभाइरस संक्रमितलाई भारत प्रवेश गराउन लागिएको भन्दै एसएसबीको ४७औं बटालियनको कमाण्डन्ट कार्यालयले माथिल्लो तहमा गरेको ‘रिपोर्टिङ’ मा एक नेपाली जनप्रतिनिधिको नाम समेत उल्लेख छ ।
एसएसबीको रामगढवा, पूर्वी चम्पारणस्थित कमाण्डन्ट कार्यालयले बिहारको पश्चिम चम्पारणका जिल्ला प्रशासन प्रमुख र प्रहरी प्रमुखलाई गएको साता (३ अप्रिल २०२०) मा लेखेको पत्रमा पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मुखिया भनिने जालिम मियाँ मन्सुरीको संलग्नतामा नेपाल–भारत सीमामा रहेका विभिन्न देशका मुस्लिम नागरिकहरुलाई प्रवेश गराउन लागिएको उल्लेख छ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका तर्फबाट जगरनाथ गाउँपालिकामा विजयी जालिम मियाँ, जिल्लामा अल्पसंख्यक मुस्लिमका सवालमा संर्घषरत नेता मानिन्छन्। एसएसबीले पत्रमा गाउँपालिका अध्यक्ष नक्कली भारतीय रुपैयाँ र हतियारको कारोबारी समेत भएको आरोप लगाएको छ।
हिमालखबरलाई प्राप्त एसएसबीको गोप्य पत्रमा गाउँपालिका अध्यक्ष जालिम कोरोनाभाइरसको संक्रमण भारतमा फैलाउन सक्रिय भएको दाबी गरिएको छ। चलानी नम्बर ५०३९–४० रहेको गोप्य तथा अत्यन्त जरुरी शिर्षकको पत्रमा जालिमले पाकिस्तानसहित विभिन्न मुस्लिम समुदायको बाहुल्य रहेका देशबाट नेपाल–भारत सीमामा जम्मा भएका उनीहरुलाई बिहारसम्म पुर्याउने जिम्मेवारी लिएको उल्लेख छ । पत्रमा यसरी सीमावर्ती क्षेत्रका मस्जिद र मदरसामा बसेकाहरु कोरोनाभाइरस संक्रमित हुनसक्ने आशंका गरिएको छ।
एसएसबीको दाबीमा नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेका मस्जिद र मदरसाहरुमा २ सयको संख्यामा यस्ता नागरिकहरु लुकिछिपी बसिरहेका छन्। यस्तै, काठमाडौंबाट आउने क्रम समेत जारी रहेको भारतीय पक्षको दाबी छ। यस्तै, पत्रमा उनीहरुले यसरी भेला भएका मुस्लिमहरुले ज्वरो रोक्ने औषधी सेवन गरिरहेको उल्लेख छ।
'दुराशय राखेको छैन' - गाउँपालिका अध्यक्ष जालिम
यसैबीच, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिमले भिडियो मार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै भारतसँग आफूहरुको रोटी-बेटीको सम्बन्ध रहेको र भारतप्रति सधैं उदार रहँदै आएको बताउँदै आफूले कुनै दुराशय नराखेको प्रष्ट पारेका छन्।
उनले भिडियोमा भनेका छन्, "संसारभरि फैलिएको रोग मैले कसरी फैलाएँ ? यो मेरो राजनीतिक चरित्रहत्या गर्ने प्रयास हो।"
जालिमले आफूले यस विषयमा सरकारी अधिकारीहरुलाई जानकारी गराएको र आफू दोषी प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका छन्।
'सूचनामा गम्भीरता छैन' – नेपाली पक्ष
नेपाली पक्षले भने यो विषयको खण्डन गरेको छ। पर्सा जिल्ला प्रहरी प्रमुख एसपी गंगा पन्तले नेपाल–भारत सीमामा आवतजावत बन्द गर्न भारतीय पक्षसँग सहकार्य भइरहेको अवस्थामा यो सूचनामा गंभिरता नभएको बताइन्। उनले पर्सामा रहेका सबै मस्जिद र मदरसाहरुमा स्थानीय निकाय र प्रशासनको सहयोगमा सबैको विवरण लिने काम भइसकेको बताइन्।
“सीमामा हामीले कडा निगरानी गरिरहेका छौं,” उनले भनिन्, “सम्भावित सबै स्थानको नियमित चेकजाँच भइरहेको छ।” उनका अनुसार यसक्रममा भेटिएका १६ जना विभिन्न जिल्लाका मुस्लिम समुदायका व्यक्तिहरुलाई क्वारेन्टिनमा राखेर उनीहरुको कोभिड–१९ जाँचपछि घर फर्काइसकिएको छ।
भारतीय गोप्य सूचनाको स्रोत
भारतको नयाँदिल्लीको निजामुद्दिन मर्कज (बंगलेवाली मस्जिद) मा गएको महीना सम्पन्न तबलिगी जमातको इज्तिमामा सहभागीहरुमा कोरोनाभाइरस संक्रमण देखिएपछि भारतले आफ्ना र विदेशी नागरिकहरुको सूची लिइसकेको छ। १५ सयदेखि दुई हजारको संख्यामा मुस्लिम श्रद्धालु सहभागी त्यस भेलामा २ सय ८१ जना विदेशी नागरिक सहभागी थिए।
यो घटनापछि भारतमा तबलिगी जमात कोरोनाभाइरस संक्रमण फैलाउन सक्रिय रहेको आरोप लाग्दै आएको छ। हाल स्वयं क्वारेन्टिनमा रहेका मर्कजका मौलाना सादसँग दिल्ली पुलीसले उनको क्वारेन्टिन अवधि सकिएपछि सोधपुछ गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
नेपालमा पनि यसअघि सप्तरीमा १५–१७ फागुनमा तबलिगी जमातको इज्तिमा भएको थियो। जसमा निजामुद्दिन मर्कजका मौलाना साद नै प्रमुख प्रवचक थिए। यो सम्मेलन रोक्न भारतले धेरै प्रयास गरे पनि अन्त्यमा विदेशी नागरिकको सहभागिता नहुने गरी कार्यक्रम आयोजना भएको थियो।
तर यही कार्यक्रममा आएका १३ जना इन्डोनेशियाली र विभिन्न समयमा नेपाल प्रवेश गरेको नौ जना पाकिस्तानी नागरिक यहाँ बन्दाबन्दी लागू भएपछि सप्तरी र रौतहटमा भेटिएका थिए। उनीहरु सबै यतिवेला रौतहट र काठमाडौं क्वारेन्टिनमा राखिएका छन्।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार ७ चैतदेखि पाकिस्तानी नागरिकहरु महम्मद यसुफ खान, जैनुल्लाह, सम्सुल्लाह खान, महम्मद फवाद, रइस खान, गुरफानदिन, असगर खान, गुलाम रसुल र हलिमुल्लाहलाई करुनियास्थित मस्जिदमा क्वारेन्टिनमा राखिएको छ ।
यस बाहेक सामान्य अवस्थामा अध्ययनका लागि मदरसामा रहेका मुस्लिमहरुको संख्या मध्य तथा पूर्वी नेपालको तराईका जिल्लामा उल्लेख्य छ। यही विषयमा आफ्नै देशको राजधानीमा भएको सम्मेलनबाट सशंकित भारतले अहिले यस्तो सूचना बाहिर ल्याएको नेपाली गुप्तचर अधिकारीहरुको बुझाइ छ ।
निजामुद्दिन मर्कजमा सम्पन्न इज्तिमा कोरोनाभाइरस संक्रमणको उदगम भएको सूचना आएसँगै नेपाल प्रहरीले यहाँस्थित मस्जिद, मदरसा र इदगाहमा रहेका व्यक्तिहरुको विवरण लिएर सहभागीहरुलाई क्वारेन्टिनमा राखेको थियो। यसबाहेक ती ठाँउहरुमा समेत नियमित निगरानी भइरहेको दाबी गर्दै आएको छ।
“हामीले देशभर विभिन्न कार्यक्रममा विदेशमा सहभागी भएका १ सय ७ मुस्लिम समुदायका व्यक्तिहरुलाई क्वारेन्टिनमा राखेका छौं,” प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले हिमालखबरसँग भने “संक्रमण फैलाउने षड्यन्त्रका बिषयमा त कुनै सूचना छैन, तर हामी सीमामा हाईअर्लटमै छौँ ।” एसएसपी जोशीका अनुसार कोभिड–१९ रोकथाम र नियन्त्रण अन्तर्गत बनेको रणनीति अनुसार सीमावर्ती जिल्लाहरुका प्रहरी कार्यालयलाई अर्लटमा राखिएको हो।