बन्दाबन्दीमा व्यस्तताले सिर्जनशील बनाएको छः निशा शर्मा
नेपाली रंगमञ्चमा परिचित नाम हो निशा शर्मा पोखरेल। ‘पुतलीको घर’, ‘अग्निको कथा’, ‘याज्ञसेनी’ लगायत तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गरेकी उनी विविधतायुक्त भूमिकामा अभिनय गर्नसक्ने सशक्त कलाकार मानिन्छिन्। रंगकर्मी सुनील पोखरेलसँग दाम्पत्य सफरमा रहेकी उनी नाट्य संस्था आरोहणको संस्थापकमध्येकी एक हुन्। नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञपरिषद् सदस्य रहेकी शर्माले यो बन्दाबन्दीको समयलाई कसरी उपयोग गरिरहेकी छिन् ? हिमालखबरकी नुनुता राईले उनीसँग गरेको कुराकानीः
बन्दाबन्दीको समय कसरी व्यतीत गर्दै हुनुहुन्छ ?
अहिले म डिल्लीबजारमा मेरो ममीसँग बसिरहेकी छु। उहाँको स्वास्थ्य अलि खराब भएकाले हेरविचारमै धेरै समय बितिरहेको छ। उहाँलाई समयमा खाना, खाजा, औषधी दिने बाहेक प्रतिष्ठानको काममा समय दिइरहेकी छु।
बन्दाबन्दीले दिक्दार बनाएको छैन ?
दिक्क मान्ने समय नै छैन। ममीलाई खाजा, औषधी, खानाको व्यवस्था गर्दैमा बिहानको समय बित्छ। अहिले छोरा र सुनीलजी मात्रै घरमा हुनुहुन्छ। छोराले पकाउन नजानेको खानेकुराबारे भिडियो कल गरेर सोध्छ, सिकाउँछु। घर सफा राख्न भनिरहेको हुन्छु। छोराले लाइभ भिडियो कलमा सुनीलजीले घर सफा गरेको, भाँडा माझेको र आफूले गरिरहेको काम देखाउँछ।
यो वेला प्रतिष्ठानको काम पनि गरिरहेकी छु। यसरी व्यस्ततामै समय बितिरहेकाले समस्या छैन। फेरि, यो बन्दाबन्दी महामारीको रोकथामका लागि लागू गरिएकाले हामी सबैले घरमा आफूलाई व्यस्त राखौं। त्यसले सिर्जनात्मक पनि भइन्छ।
प्रतिष्ठानले अहिले के गरिरहेको छ ?
प्रतिष्ठानले वैशाख ३ गतेबाट विराटनगरमा एकहप्ते बहुभाषिक नाट्य महोत्सव गर्ने योजना बनाएको थियो। तर, यो बन्दाबन्दीले प्रभावित पार्यो। महोत्सव नभए पनि एक सातामा १० वटा विभिन्न भाषाका नाटकका स्क्रिप्ट हेरिरहेकी छु। वास्तवमा यो बन्दाबन्दी शुरु हुनुअघि नै हेरिसक्नुपर्ने थियो। तर, सरकारले बन्दाबन्दी घोषणा हुनुअघि नै भीडभाड कम गर्न आग्रह गरेकाले कार्यक्रम पछाडि सार्नुपर्ने छाँटकाँट देखिएपछि विस्तारै गर्न थालेका हौं। स्क्रिप्ट पूरा भए पनि अभ्यास गर्न सम्भव छैन। त्यसैले विस्तारै थप अध्ययन गर्दै हेरिरहेकी छु। अवस्था सामान्य भएपछि महोत्सव गर्ने योजनासहित काम गरिरहेका छौं।
महोत्सवमा भाग लिन कुन कुन भाषाको नाटकका स्क्रिप्ट आएका छन् ?
स्क्रिप्ट आउनअघि नै हामीले भाषिक समूहहरू छनोट गरेका हुन्छौं। हामीले छनोट गरेका समूहले नै स्क्रिप्ट पठाउने हो। हामीले यो वर्ष सकेसम्म अहिलेसम्म नाटक नै नगरेका भाषिक समूहलाई समावेश गर्ने प्रयास गरेका थियौं। तर, त्यो सम्भव भएन। किनभने कति भाषाका भाषिक वक्ता नै नभेटिने, कतिपयले बोलीचालीको रुपमा मात्रै भाषाको प्रयोग गरिरहेको र त्यसलाई नाट्य रूप दिनसक्ने समूह नभेटिएकाले समस्या भयो। अहिलेसम्म प्रतिष्ठानले आयोजना गरेको बहुभाषिक नाट्य महोत्सवमा सहभागी नभएका भाषाहरू लेप्चा, सतार र कर्माकारी भाषिक समूहलाई छनोट गरेका छौं। राजवंशी, थारु, तामाङ, लिम्बू लगायत दोहोरिएका भाषिक समूहहरू पनि छन्।
भाषिक ज्ञान नहुँदा अन्य भाषाको स्क्रिप्ट हेर्न समस्या हुँदैन ?
स्क्रिप्ट माग्नुअघि हामी विषयवस्तुमा पटक–पटक छलफल गर्छौं। भाषामा कथा नभेटिएको अवस्थामा हामी भाषिक समुदायको लोककथा खोज्छौं। त्यो पनि नभेटिए नेपाली लोककथा तथा कथाहरूलाई नै भाषिक नाट्य रूप दिन्छौं। त्यति गरिसक्दा नाटकबारे धेरै थाहा भइसकेको हुन्छ। मुख्य कुरा नाटकमा भाषिक समुदायको संस्कृति झल्कनुपर्छ। यी विषयलाई कसरी नाट्य रूप दिइएको छ, त्यो हेर्ने हो। हामी नेपालीमा स्क्रिप्टको सार माग्छौं र सल्लाह पनि गर्छौं। त्यसैले गाह्रो हुँदैन।
त्यसो भए अहिले तपाईं अरु पुस्तक अथवा प्रकाशित नाटक पढिरहनुभएको छैन ?
नाटक पढिरहेकी छु। पढिरहेकी छु भन्दा पनि नाटक खोजिरहेकी छु। म र सुनीलजी नै नाटक खोजिरहेका छौं। आउँदो वर्ष आरोहण गुरुकुलबाट एउटा नाटक गर्ने कि भनेर खोजीमा छौं। सकेसम्म नेपाली नै गर्ने सोचमा छौं। समसामयिक विषय समेटिने खालको नाटकको खोजी गर्दैछौं।
प्रतिष्ठानले पनि अग्रज कलाकारहरुसँग एउटा नाटक गर्ने योजना गरिरहेको छ। प्रतिष्ठानको लागि पनि नाटक खोज्दैछौं। अधिकांश समय नाटक सम्बन्धी काममै व्यस्त छु।
व्यस्तताबीच चलचित्र हेर्ने फुर्सद चाहिं पाउनुभएको छ कि छैन ?
अहिले चलचित्र भन्दा पनि पुरानो हिन्दी सिरियल ‘मालगुडी डेज’ फेरि हेरिरहेकी छु। यो टेलिशृंखला पहिले भारतको दूरदर्शन च्यानलमा आउँथ्यो। अहिले हेर्दा पनि रमाइलो लागिरहेको छ। दक्षिण भारतको कथा समेटिएको यो टेलिशृंखला एकदम जीवन्त लाग्छ। एउटा कलाकारलाई जहिल्यै पनि जीवन्त अभिनय गर्न सकूँ भन्ने लागिरहन्छ। यस्ता जीवन्त टेलिशृंखला/फिल्महरूबाट मनोरञ्जनसँगै धेरै ज्ञान पनि लिन सकिन्छ।