भैरहवाको कोरोना परीक्षण प्रयोगशालाको क्षमता विस्तार हुँदै
प्रदेश–५ सरकारले रुपन्देहीको भैरहवामा संचालन गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तार हुने भएको छ।
प्रयोगशालाका लागि बुटवलस्थित नेशनल प्याथ ल्याबले उच्च क्षमताको रियल टाइम पीसीआर मेशिन शुक्रबार एक समारोहका बीच सामाजिक विकास मन्त्री सुदर्शन बराललाई हस्तान्तरण गरेको छ। कोरोना भाइरस परीक्षण गर्ने सम्पूर्ण उपकरण आफूसँग रहेको यसअघि नै बताएको ल्याबले निजी संस्थाहरुलाई परीक्षणको अनुमति नभएकाले १५ दिनका लागि प्रयोगशालालाई मेशिन उपलब्ध गराएको हो।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायतका संस्थाबाट प्रमाणित उक्त मेशिन प्रयोगशालामा थपिएसँगै अब कोरोना भाइरस परीक्षणको रिपोर्टमा तीव्रता आउने भएको छ। यसअघि दैनिक करीब १५ वटाको नतिजा दिने गरेकोमा अब दैनिक साढे दुई सयको रिपोर्ट आउने नेशनल प्याथ ल्याबको दाबी छ।
अहिलेको महामारीको वेला सरकारले धेरैभन्दा धेरै परीक्षण गर्न सकोस् भन्ने उदेश्यले मेशिन उपलब्ध गराएको संस्थाका संचालक शरद भुषालले बताए। सरकारी निकायलाई सहयोग गर्न तयार रहेको पटक-पटक बताउँदै आएको र ढिलै भए पनि सरकारले सहयोग आवश्यक देखेर मेशिन लगेको उनको भनाइ छ। उक्त ल्याब काठमाडौं टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क वर्गमा सूचीकृत छ।
सामग्री बुझ्दै सामाजिक विकास मन्त्री बरालले विपत्तिका वेला सबैको सहयोग सरकारलाई आवश्यक रहेको भन्दै यो मेशिन तत्काल प्राविधिकहरुलाई उपलब्ध गराई संचालनमा ल्याउने बताए।
प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले पीसीआर मेशिन आउनु सुखद भएको बताउँदै मेशिनको सबै जाँचपछि संचालनमा ल्याइने बताए।
- विक्रम खड्का, बुटवल