बन्दाबन्दीका कारण पत्रकारहरू समस्यामा, बेरोजगारी बढ्दै गएको महासंघको निश्कर्ष
नेपाल पत्रकार महासंघले कोभिड-१९ को संक्रमण रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दीको समयमा श्रमजिवी पत्रकारहरू असुरक्षित बन्दै गइरहेको निश्कर्ष निकालेको छ ।
महासंघले सञ्चारकर्मी र सञ्चारगृहमा गएर गरेको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै पत्रकारहरू अधिकांश सञ्चारगृहभित्र र बाहिर पनि असुरक्षित रहेको निश्कर्ष निकालेको हो ।
महासंघले प्रतिवेदनमा संक्रमणको समयमा स्रोत साधन र अनेकौं कठिनाईका बीचमा पनि सञ्चार क्षेत्रले आफ्नो भूमिका जिम्मेवार भएर पूरा गरिरहेको भएपनि सञ्चारगृहले गरेको पूर्वसर्तकता सन्तोषजनक नभएको उल्लेख गरेको छ ।
"विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामरा पर्सनहरु बढी जोखिममा रहेको देखिन्छ । कार्यालयमा पनि आवश्यक दुरी कायम नगरिएको र कतिपय सञ्चारमाध्यमहरुमा मास्क, स्यानिटाइजर र पन्जाजस्ता अत्यावश्यक सामग्रीसमेत प्रबन्ध गरिएको पाइएन" प्रतिवेदनमा उल्लेख गरिएको छ ।
केही सञ्चारगृहहरूले पत्रकारहरूलाई घरबाट काम गर्ने व्यवस्था गरेको भएपनि अफिस जाने पत्रकारहरू अधिकांशलाई सवारी साधन र सवारी पासको समस्या रहेको महासंघले जनाएको छ ।
यससँगै महासंघले बन्दाबन्दीको समयमा जोखिम मोलेर काम गरिरहेका कतिपय पत्रकारहरूले सहजै पारिश्रमिक नपाएको र कतिपय सञ्चारगृहले पहिलेकै बाँकी तलब र बढी अवधि काम गरेको तलब समेत उपलब्ध नगराएको भेटिएको महासंघको प्रतिवेदनमा उल्लेख छ ।
महासंघले बन्दाबन्दीको समयमा प्रेस स्वतन्त्रता हननका घटनाहरू समेत घटेको जनाएको छ । "यो समयमा विभिन्न व्यक्ति र निकायवाट पत्रकारमाथि कुटपिट, धम्की, दुर्व्यवहार र काममा अवरोधका घटनाहरु घटे । सरकार, राजनीतिक दल र अन्य पक्षबाट प्रेस स्वतन्त्रता विरोधी यस्ता घटनाहरु भएको पाइयो," प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बन्दाबन्दीको अवधिमा ३ जनालाई धम्की, २ जनालाई दुर्व्यवहार र ६ जनालाई समाचार संकलनमा अवरोध गरिएको महासंघको सञ्चार अनुगमन इकाईले जनाएको छ ।
त्यसैगरी बन्दाबन्दीका कारण कतिपय सञ्चारगृहले पत्रकार र प्राविधिकलाई जागीरबाट हटाउने, वेतलबी विदा दिने, आंशिक काम लगाउने गरेकाकारण पत्रकार बेरोजगार बन्दै गएको महासंघले जनाएको छ ।
यससँगै कतिपय पत्रकारले घरधनी र छिमेकीबाट समेत समस्या भोग्नु परेको जनाएको छ ।
बन्दाबन्दीपछि संघीय राजधानी काठमाडौंलगायत देशभरका केही राष्ट्रिय दैनिक, रेडियो, टेलिभिजन र अनलाइन सञ्चालनमा रहे पनि अधिकांश बन्द भएको र सबैभन्दा बढी छापामाध्यम प्रभावित भएको महासंघको प्रतिवेदनमा उल्लेख छ ।