व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को गुणस्तर जाँच्न प्रयोगशाला स्थापनाको तयारी
कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि अत्यावश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) विदेशबाट माग अनुसार विदेशबाट पीपीई आउन नसक्दा अभाव भइरहेको छ। अभाव हटाउन विभिन्न व्यक्ति र संस्थाको पहलमा स्थानीय स्तरमै पीपीईको उत्पादन थालिएको छ।
स्थानीय स्तरबाट उत्पादन भइरहेका पीपीईको गुणस्तरबारे प्रश्न उठेपछि सरकारद्वारा गठित एक उपसमितिले देशभित्रै प्रयोगशालाबाट जाँच्ने व्यवस्था मिलाउन सिफारिश गरेको छ। १६ चैतमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको गुणस्तर परिषद्ले गठन गरेको उप–समितिले अध्ययनपछि देशभित्रै पीपीई लगायतका औषधीजन्य सामग्रीको गुणस्तर जाँच्न प्रयोगशाला स्थापना गर्न सिफारिश गरेको हो।
देशभित्र अहिले औषधीको मात्र गुणस्तर जाँच्ने प्रयोगशाला छ। यसले गर्दा गुणस्तरहीन मेडिकल सामग्रीको जोखिम बढेको छ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी संयोजक रहेको चार सदस्यीय उप-समितिले विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण नियन्त्रणका लागि तयार पारेको मापदण्ड अनुसार स्वदेशमा उत्पादित सामग्रीको गुणस्तर तोक्न सुझाव दिएको छ। उप-समितिले नेपाल गुणस्तर तथा नापतौल विभाग, औषधि व्यवस्था विभाग र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत पीपीई लगायतका स्वास्थ्य सामग्री जाँच्ने व्यवस्था मिलाउन गुणस्तर परिषद्लाई सुझाव दिएको छ।
उपसमिति एकदेखि दुई महीनाभित्र पीपीईसहितका प्रविधिजन्य स्वास्थ्य सामाग्रीहरु नेपालमै जाँच्ने व्यवस्था मिलाउन गृहकार्य गरिरहेको छ। उप-समिति सदस्य तथा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.कृष्ण अधिकारी तीन निकायबाट पीपीईको गुणस्तर जाँच उपकरण र जनशक्ति चाहिने भएकाले त्यसको व्यवस्था मिलाउन परिषद्लाई सिफारिश गरेको बताउँछन्।
तर अहिले उत्पादन भइरहेका पीपीईको गुणस्तरबारे के गर्ने भनेर उपसमिति टुङ्गोमा पुग्न सकेको छैन। “अहिले तत्काल गुणस्तर जाँच्ने कुनै निकाय नभएकाले उत्पादनमा लागेका संस्था वा व्यक्तिले चिकित्सकहरुको परामर्शमा संक्रमण रोक्ने खालको पीपीई बनाउन सक्छन्”, डा. अधिकारी भन्छन्।