प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन संवाद भएको छ। कोरोनाभाइरसको संक्रमण रोकथाम तथा यसबाट उत्पन्न परिस्थिति र भावी योजनाका बारेमा टेलिफोन संवादमा छलफल भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
संक्रमण रोकथामका लागि दुवै मुलुकले बन्दाबन्दी लागू गरेपछि एकअर्को मुलुकमा बसोबसास गरिरहेका नागरिकलाई सोही मुलुकमा उचित व्यवस्थापन गर्ने बारे पनि संवादमा छलफल भएको जनाइएको छ।
अचानक बन्दाबन्दीको घोषणा गरेपछि यताका नागरिक यतै र उताका नागरिक उतै रहेका थिए। कतिपय आफ्नो देश प्रवेशका लागि भारतका विभिन्न सहरबाट आएका नेपाली नागरिक सीमानामा अलपत्र परेका छन्। भारतमा नै क्वारेन्टीनमा राखिएका कतिपय नागरिकलाई भारत सरकारले उचित व्यवस्थापन नगरेको र त्यसका कारण उनीहरू समस्यामा परेको गुनासो आएको थियो।
यस्तो अवस्थामा प्रधानमन्त्रीस्तरमा भएको वार्ताले उनीहरूलाई केही सहज अवस्था बनाउने आशा गरिएको छ।
छलफलमा ओलीले मोदीलाई निर्वाध औषधी र अत्यावश्यक सामग्री आयतमा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए।
साथै दुवै प्रधानमन्त्रीले सार्क नेताहरूबीच भएको भिडियो कन्फ्रेन्सका विषयमा पनि कुराकानी भएको जनाइएको छ। सबै देशका नेताहरूले कोभिड-१९ विरुद्धको लडाईंमा आ-आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्धताप्रति दुवै प्रमहरूले सन्तोष व्यक्त गरेको जनाइएको छ।
साथै, ओलीले भारतमा कोरोनाभाइसको संक्रमणका कारण ज्यान गएका परिवारप्रति समवेदना व्यक्त गरेका थिए भने ओलीले बन्दाबन्दीलाई सफल पार्ने नेपाली नागरिकले देखाएको दृढताको प्रशंसा गरेका थिए।