साइकल र ठेला व्यापारी भन्छन्- काम गर्न नपाए कसरी बाँच्ने ?
ललितपुरको पाटन पिम्बहालकी सपना राई (२४) सानो छोरो लिएर राति २ बजे नै लगनखेलको तरकारी बजार पुग्छिन्। अरु दिन बिहान ५ बजे लगनखेल पुग्ने उनको दैनिकी बन्दाबन्दी (लकडाउन) लागू भएको ११ चैतयता फेरिएको छ।
सवारी साधन नचल्दा पिम्बहालबाट लगनखेल पुग्न समस्या हुन्छ। त्यसमाथि सानो बच्चा। श्रीमानको मृत्युपछि उनले तरकारी बेचेरै छोरो हुर्काइरहेकी छिन्।
रातभर जागै भएर ल्याएको तरकारी बेच्न पनि उनलाई सजिलो छैन। बन्दाबन्दीका कारण हिँड्न पाइँदैन। नहिँडी ठेलामा तरकारी बेच्न सकिँदैन। बन्दाबन्दीपछि तरकारीको मूल्य आकाशिएकाले पनि व्यापार गर्न समस्या भएको उनी बताउँछिन्।
कम्तीमा ३ वैशाखसम्म बन्दाबन्दी हुने निश्चित भइसकेको छ । उनलाई त्यस उता पनि लम्बिने हो कि भन्ने चिन्ता छ। उनी भन्छिन्, “अब त खानै समस्या भइसक्यो । अझै लम्बियो भने हामीजस्ता मान्छे त बाच्न समस्या हुन्छ ।”
रामेछापकी निर्मला भुजेल (७६) ले सडकमा तरकारीको व्यापार गरेको वर्षौँ भैसक्यो। उनले पिम्बहालस्थित पोखरी नजिकै पसल थापेकी छिन्। बिरामीले थलिएपछि उपचारका लागि नातिनीसँग काठमाडौं आएकी थिइन्। नातिनी दिनभरि काममा जाँचदा एक्लै कोठामा दिन काट्न सकस भयो। अनि थालिन्, तरकारी बेच्न।
उनी पनि बिहान लगनखेल पुगेर तरकारी ल्याउँछिन्। तर, बन्दाबन्दीपछि त्यता जान समस्या छ। उनी भन्छिन्, “बन्दाबन्दीअघि बिहान ५ बजे तरकारी लिन गइन्थ्यो। अहिले राति नै गएर बिहान आइसक्नुपर्छ।”
बन्दाबन्दी शुरु भएको १८ दिन भइसक्दा सडकमा व्यापर गरेर दैनिकी चलाउनेलाई समस्या हुन थालेको छ। बन्दाबन्दीका कारण ठेला र साइकलमा सामान बेच्नेहरु बढी प्रभावित भएका छन्। सानो लगानीबाट दैनिक आम्दानी गरेर खानुपर्नेहरुलाई बन्दाबन्दीले चिन्ता थपिदिएको छ।
चन्दन लाल (४५) साइकलमा तरकारी बेच्छन्। उनले पाटनका गल्लीमा मौसम अनुसारको तरकारी बेच्न थालेको सात वर्ष भयो। कालीमाटीबाट तरकारी ल्याउने उनले बन्दाबन्दी सुरु भएको चार दिनसम्म व्यापार गर्न पाएनन्। उनी भन्छन्, “अहिले बिहान ६ देखि १० बजेसम्म डुलाउँछु, नडुलाए त खान पाइँदैन।”
कतिपय नियमित ग्राहकले कोरोनाभाइरस संक्रमणको त्रासले तरकारी किन्नै छाडेको उनी बताउँछन्। त्यस्ता ग्राहक साइकल र ठेलाबाट नकिनी केही समय खुल्ने पसलतिर जान थालेका छन्।
उनी भन्छन्, “हामी दु:ख गरेर परिवार पाल्नेलाई कहिले नगरपालिकाले लखेट्छ, कहिले बन्दाबन्दीले सताउँछ। तरकारी बेच्न नपाए त हाम्रा बालबालिका भोकले मर्छन्।” उनी श्रीमती र दुई सन्तानसति च्यासलमा बस्छन्।
बिहान र साँझ भीडभाड हुने पिम्बहाल परिसर अचेल सुनसान हुन्छ। बिहान ६ बजेदेखि ९ बजेसम्म तरकारी र खाद्यन्नका पसल फाट्टफुट्ट खुल्छन्। माछामासुका पसल बन्दै छन्।
डिला मगर (२९) ठेलामा चटपटे बेच्थिन्। तर, बन्दाबन्दीपछि चटपटे बेच्न नपाएका कारण उनी तरकारी व्यापारतिर लागेकी छिन्। उनी भन्छिन्, “चटपटेको व्यपार राम्रो थियो, सासु र छोरालाई पालेकी थिएँ। अहिले तरकारीमा खासै आम्दानी छैन।
तरकारीको भाउ बढे पनि नाफा भने नबढेको उनको गुनासो छ। उनी भन्छिन्, “मुठाको २० रुपैयाँको साग बेच्दा पाँच रुपैयाँ नाफा हुन्छ। किन्ने ठाउँमै भाउ बढेको छ । हामीलाई भने दुख मात्र बढेको छ।” बन्दाबन्दीपछि कतिपय घर गएकाले व्यापार घटेको उनको भनाइ छ।
साइकल, ठेला र नाङ्लामा व्यापार गरेर गुजारा गर्नेको दैनिकमा बन्दाबन्दीले नराम्रो प्रभाव पारेको नेपाल स्वरोजगार व्यापार श्रमिक संघका महासचिव राजकुमार श्रेष्ठ बताउँछन् । थोरै लगानी गरेर जीविका चलाउने काठमाडौँमा धेरै श्रमिक रहेको उनको भनाइ छ।
कोरोना भाइरसको त्रासले केही श्रमिक गाउँ गए पनि अधिकांश श्रमिक शहरमा नै बसको श्रेष्ठ बताउँछन्। उनी भन्छन्, “असंगठित श्रमिकका लागि सरकारले विशेष राहत व्यवस्था गर्नुपर्छ। त्यस्तो राहत नजिकको वडा कार्यलयबाट लिने व्यवस्था हुनुपर्छ।” जोखिमपूर्ण अवस्थामा संघले हरेक श्रमिकको अवस्था बुझ्न नसकिरहेको उनी बताउँछन्।