कोभिड–१९ मा न्यूजील्याण्डको नियन्त्रणः संक्रमित १२३९, अस्पतालमा १४ जना मात्र
अष्ट्रेलिया महादेशमा पर्ने सानो मुलुक न्यूजील्यान्डले कोरोनाभाइरस संक्रमण रोकथाममा गरेको प्रगतिले अहिले दुनियाँको ध्यान तानेको छ। त्यहाँ अप्रिल ९ (बिहिबार) थप २९ बिरामी भेटिए। योसँगै संक्रमितको संख्या १२३९ पुग्दा एक जनाको मात्र मृत्यु भएको छ।
बिहीबार लगातार चौँथो दिन संक्रमितको संख्या घटिरहेको त्यहाँका अधिकारीलाई उधृत गर्दै सीएनएनले जनाएको छ। अहिले अस्पतालमा भने जम्मा १४ जनाले मात्र उपचार गराइरहेका छन्। अहिलेसम्म ३१७ जना निको भएका छन्।
अस्पताल भर्ना भएकाबाहेक अझै ९०७ जना संक्रमित घरैमा छन्। ती कोही पनि जोखिममा नरहेको त्यहाँका अधिकारीले जनाएका छन्। सरकारले घरमा बसेका सबै संक्रमितको निगरानी गर्ने गरेको छ।
त्यहाँ अहिले बन्दाबन्दी छ। तर, बिहिबार फेसबुक लाइभबाट सम्बोधन गर्दै प्रधानमन्त्री जासिन्दा अर्डेनले संक्रमितको संख्या घट्दै गए शुक्रबारबाट बन्दाबन्दी हटाउन सक्ने बताइन्। जनताको कोभिड–१९ विरुद्धको प्रतिवद्धताले नै रोग नियन्त्रण गर्न सफल भएको उनले बताएकी छिन्।
कोभिड–१८ नियन्त्रण गर्न न्यूजील्याण्डलाई भूगोल र समयको फाइदा भएको सीएनएनले लेखेको छ। त्यहाँ फेब्रुअरी २८ मा पहिलो संक्रमित भेटिएका थिए। मार्च २९ मा मात्र त्यहाँ पहिलो र अहिलेसम्मका एक मात्र व्यक्तिको मृत्यु भयो।
त्यही दिन अहिलेसम्मकै सबैभन्दा बढी १८९ जना संक्रमित फेला परेका थिए। त्यहाँ सय जनाभन्दा माथि संक्रमित जम्मा दुई दिन मात्र भेटिएको छ। त्यसअघि मार्च २४ मा १०३ संक्रमित भेटिएका थिए।
न्यूजील्याण्ड टापु राष्ट्र हो। यहाँको जनसंख्या करीब ५० लाख छ। यहाँ तेस्रो मुलुकबाट अध्ययनका लागि विद्यार्थी जाने गरेका छन्। यो पर्यटकहरु बढी जाने देश पनि हो।
त्यहाँको ओटागो विश्वविद्यालयअन्तर्गत जनस्वस्थ्य विभागका प्राध्यापकले चीनको अनुभवबाट न्यूजील्याण्डले पाठ सिकेको बताएका छन्। उनले भनेका छन्, “मलाई लाग्छ चीनमा संक्रमण फैलिएपछि हामीले सोच्न र योजना बनाउन केही समय पायौँ।”