काेभिड-१९: अमेरिकामा मात्र एकतिहाईभन्दा बढी सक्रिय संक्रमित
विश्वभर कोरोना भाइरस संक्रमणपछि निको भएका र मृत्यु भएका बाहेक सक्रिय संक्रमितको संख्या अमेरिकामा मात्र ३७ प्रतिशत छ।
विश्वभर तीव्र गतिले बढिरहेको कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो समय अमेरिकामा अन्य देशभन्दा बढी पुगेको हो। त्यहाँ अप्रिल ९ (हिजो) मात्र ३३ हजार पाँचसय ३६ जना नयाँ संक्रमित थपिएर संक्रमितको संख्या चार लाख ६८ हजार पाँचसय ६६ जना पुगेको छ। यो विश्वभरका जम्मा संक्रमितको संख्याको २९ प्रतिशत हो।
अमेरिकामा संक्रमितपछि निको हुनेको संख्या २५ हजार नौ सय २८ छ। १६ हजार छ सय ९१ को मृत्यु भएको छ भने बाँकी संक्रमित चार लाख २६ हजार ९४७ छन्। विश्वभर बाँकी संक्रमितकाको संख्या ११ लाख ५१ हजार ३४२ छ।
२७ चैतमा मात्र अमेरिकामा १९ सय संक्रमितले ज्यान गुमाए। कोरोना भाइरसबाट बढी संक्रमित स्पेन, इटली, फ्रान्स, वेलायतको नयाँ संक्रमितको संख्यामा केही कमी आएको छ । तर यो उत्साहित हुने गरिको नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। विश्वभर हिजो ८५ हजार २२१ जना नयाँ संक्रमित थपिए भने सात हजार दुई सय ३५ जनाले ज्यान गुमाए।
छिमेकी मुलुक भारतमा संक्रमितको संख्या छ हजार सात सय २५ पुगेको छ। त्यहाँ २२७ जनाले ज्यान गुमाइसकेका छन्। हिजो २७ चैतमा मात्र भारतमा ८०९ जना नयाँ संक्रमित थपिंदा ४९ जनाले ज्यान गुमाएका थिए।
नेपालमा भने नौ जना संक्रमितमा एक जना निको भएको छ। बाँकी उपचाररत छन्।