... त्यसपछि पोखरा स्तब्ध भयो
१५ फागुन बुधबार पोखरा थिएटरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव शुरू हुँदैथियो । यता, मगर दिवसका उपलक्ष्यमा मगर समुदायले सडकमा र्र्याली हित सार्वजनिक कार्यक्रम आयोजना गरिरहेको थियो भने पोखरा रंगशालामा आहा रारा गोल्डकप चलिरहेको थियो ।
दिउँसो झण्डै १ बजेतिर ‘पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर सम्पर्कविहीन’ भन्ने खबरले धेरैको मनमा चिसो पस्यो । नाटक महोत्सवमा सहभागी भएकी गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालाले यसलाई विश्वास गरिनन् ।
जब, मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको र हेलिकप्टरमा सवार सातै जनाको मृत्यु भएको खबर पाए, त्यसपछि पोखरा स्तब्ध
भयो ।
मन्त्री अधिकारीको राजनीतिक भूमि पोखराका राजनीतिकर्मी, सामाजिक कार्यकर्ता र सर्वसाधारण पनि घटनाले स्तब्ध छन् ।
पोखराका कवि तीर्थ श्रेष्ठले अग्रजलाई सधैं आदर गर्ने, फरक विचार राख्नेलाई पनि समान व्यवहार गर्ने र सधैं राम्रो गर्नुपर्छ भन्ने भावना भएको नेतालाई गुमाउनुपरेको बताउँछन् ।
पोखरा पर्यटन परिषदका पूर्व महासचिव वासु त्रिपाठी मन्त्री अधिकारी कहिल्यै नरिसाउने र सबैलाई समेट्न सक्ने खूबी भएको बताउँछन् ।
अधिकारी मन्त्री नियुक्त हुने वित्तिकै गठन गरेको पर्यटन विज्ञ समूहका सदस्य समेत रहेका त्रिपाठीले भने “आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निभाउने नेता गुमाउनुपर्यो, नयाँ पुस्ताले आशा गरेका नेता अधिकारी एउटा प्रतिभा थिए ।”
अधिकारी मन्त्री नियुक्त हुने वित्तिकै नागरिक उड्डयन, पर्यटन र संस्कृतितर्फ छुट्टा–छुट्टै विज्ञ समूह गठन गरेका थिए ।
मन्त्री अधिकारीसँगै २०७४ को चुनावमा प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका नेता देवराज चालिसेले चुनावमा प्रतिस्पर्धा भए पनि निकै सौहार्दपूर्ण भएको प्रतिक्रिया दिए । त्यतिबेला अधिकारी कांग्रेस उम्मेदवार चालिसेको घरमा समेत मत माग्न पुगेका थिए ।
मन्त्री अधिकारीको निधनले स्तब्ध बनाएको बताउँदै लेखक सावित्री गौतमले भनिन्, “उहाँ सधैं ‘पोजेटिभ भाइब’ भएको नेता हुनुहुन्थ्यो ।”
बुकवर्म फाउण्डेसनका निर्देशक निरज भारीले नेपाल लिटरेचर फेस्टिभल आयोजना गर्न सधैं उत्साह दिने गरेको बताए । “उहाँकै पहलमा हामीले यो फेस्टिभल पोखरा ल्याएका थियौं, आज पत्याउनै नसकिने खबर सुन्नुपर्यो”, भारीले भने ।