हेलिकप्टरका पाइलट र कर्मचारीको ६५ प्रतिशत तलब कटौती : चित्त नबुझे कम्पनी छोड्न सक्ने निर्णय
कोरोनाभाइरसको रोकथामका लागि बन्दाबन्दी(लकडाउन) भएपछि यसको प्रभावले हेलिकप्टरका सामान्य कर्मचारीदेखि पाइलटसम्मको तलब कटौती भएको छ । वायुसेवा सञ्चालक संघ नेपालले बैशाखदेखि लागू हुने गरी कर्मचारीको तलवमा ६५ प्रतिशतसम्मले कटौतीको निर्णय गरेका छन् ।
संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार यो निर्णयसँगै अब सबै हेलिकप्टर कम्पनीमा काम गर्ने कर्मचारीले बैशाखमा पाउने चैत्र महीनाको घटेकै आधारमा पाउने छन् ।
संघले सोमबार नै निर्णय गरेको भएपनि सम्बन्धित वायुसेवा कम्पनीको रायसहित हस्ताक्षर गरेर औपचारिक रूपमा भने बुधबार मात्रै निर्णय सार्वजनिक गरिएको जानकारी कँडेलले दिए ।
उनका अनुसार अब पाइलटले मासिक रु.७५ हजारदेखि रु.१ लाख २५ हजार, इन्जिनियरले रु.३५ हजारदेखि रु.७५ हजार, प्रमुख पदमा कार्यरत कर्मचारीले रु.२५ हजारदेखि रु.७५ हजारसम्म र कनिष्ठ तहका कर्मचारीले भने सरकारी स्केल अनुसार रु.१३ हजार ४५० पाउने गरी निर्णय भएको छ ।
यो निर्णय अघि सामान्य अवस्थामा पाइलटले रु.३ देखि रु.६ लाखसम्म, इन्जिनियरले रु.१ देखि रु.३ लाखसम्म, प्रमुख तहका कर्मचारीले रु.५० हजारदेखि रु.१ लाख ५० हजारसम्म र कनिष्ठ तहका कर्मचारीले रु.३० हजारसम्म तलब पाउँथे ।
तलब घटाउने निर्णय चित्त नबुझ्ने कर्मचारीले चाहेमा कम्पनी छोड्न पाउनेलाई स्वतः स्फूर्त रूपमा निर्णय लिन दिने जानकारी पनि संघले दिएको छ । हेलिकप्टर कम्पनीको बजारमा अड्किएको रु.२७ करोड उठाउन पहल गर्ने भएको छ ।
हाल नेपालमा सञ्चालनमा रहेको विभिन्न १० वटा हेलिकप्टर कम्पनी छन् । यी कम्पनीको ३३ वटा हेलिकप्टर रहेको संघले जानकारी दिएको छ ।
साथै कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा वायुसेवा सञ्चालक संघ नेपालले रु.२५ लाख सहयोग गर्ने निर्णय गरेको छ । यो रकम भने नेपालमा सञ्चालनमा रहेका सबै वायुसेवाको तर्फबाट संघले सहयोग गर्ने जानकारी पनि प्रवक्ता कँडेलले दिए ।