चीनबाट ल्याइएको पीसीआरले नपुगेपछि पशु प्रयोगशालाको उपकरण धनगढीमा
कैलालीको धनगढीमा केन्द्रीय पशु प्रयोगशालाको उपकरण बुधबार धनगढी पुगेको छ । कोरोना भाइरसको परीक्षणमा तीव्रता दिन पीसीआर नेपाली सेनाको स्काइ ट्रकमा धनगढी पुगेको हो ।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका संक्रमण बढिरहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको उपकरणले मात्रै परीक्षण धान्न नसक्ने भएपछि पशु प्रयोगशालाको उपकरण धनगढी पठाइएको जनाइएको छ ।
गत मंगलबार सङ्घीय सरकारले चीनबाट ल्याएर पठाएको पिसीआर उपकरणले दैनिक आठ जनाको मात्रै परीक्षण गर्ने गरेको छ ।
पशु प्रयोगशालाको उपकरणले एक पटकमा ९६ वटा परीक्षण गर्न सकिने जनाइएको छ । सो उपकरणमा ९६ स्वाब परीक्षण गर्न पाँच घण्टासम्म लाग्ने बताउँदै पशु चिकित्सक डा नरेश जोशीले दिनमा दुई पटक मात्रै परीक्षण गरियो भने पनि १९२ को हाराहारीमा स्वाब परीक्षण गर्न सकिने बताए ।
उपकरण धनगढीको एलएन चोकमा रहेको पशु अन्वेषण प्रयोगशालामा केही दिनभित्रै जडान गरी सञ्चालनमा ल्याइने डा जोशीको भनाइ छ । उपकरण सञ्चालन गर्न अझै विभिन्नखालका झण्डै एक दर्जन थप उपकरण आवश्यक पर्ने जनाइएको छ ।
ती सामाग्री केही धनगढी र केही काठमाडौँबाट जुटाउने प्रयास भइरहेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिए ।