कोभिड–१९ संक्रमणका १०० दिनः चीनमा नियन्त्रण, युरोप र अमेरिका आक्रान्त (टाइमलाइनसहित)
चीनले ३१ डिसेम्बर २०१९ मा पहिलो पटक ‘निमोनियाको अज्ञात कारण’ भेटिएको घोषणा गरेको थियो। चीनले यस्तो घोषणा गरेको ९ अप्रिल (आज) मा सय दिन पुगेको छ।
भाइरस वुहानको एक मासु पसलबाट फैलिएको थियो। तर, कुन जनावरको मासुबाट फैलियो भन्ने अझै पुष्टि हुने सकेको छैन।
डिसेम्बरमा चीनको वुहानमा २७ जना ‘अज्ञात कारण’ बाट निमोनिया भएका बिरामी फेला परेका थिए। तर, यसको कारण भने पत्ता लागेको थिएन। विश्व स्वास्थ्य संगठनले ८ जनवरीमा वुहानमा नोभल कोरोना भाइरस फैलिएको हुनसक्ने बताएको थियो।
११ जनवरीमा यो भाइरसबाट चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो। त्यसपछि चीनले एक करोड १० लाख जनसङ्ख्या भएको वुहान सहरलाई पूर्ण रूपमा बन्द गरेको थियो।
जनवरीको अन्त्यबाट यो भाइरस बाँकी विश्वमा प्रवेश गर्न थालेको थियो। फेब्रुअरी २ मा पहिलोपटक चीनबाहिर एक जनाको मृत्यु भयो। वुहानबाट फर्किएका फिलिपिन्सका नागरिकको मृत्यु भएको त्यहाँको सरकारले घोषणा गरेको थियो।
त्यस यता सय दिनमा यो भाइरसले विश्वका दुई सयभन्दा बढी देशमा प्रवेश गरेको छ। अधिकांश देश बन्दाबन्दी (लकडाउन) मा छन्। एसियामा बढी प्रभावित चीन, दक्षिण कोरिया लगायत मुलुकमा नियन्त्रित अवस्थामा रहे पनि युरोप र अमेरिकालाई आक्रान्त बनाएको छ।
सय दिनमा विश्वका १५ लाख १८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। मृतकको संख्या ८८ हजार ४९५ पुगिसकेको छ। निको हुनेको संख्यामा उल्लेख्य प्रगति भएको छैन। अहिलेसम्म तीन लाख ३० हजारभन्दा केही बढी मात्र निको भएका छन्।
विश्व स्वास्थ्य संगठनले फेब्रुअरी ११ मा यो भाइरसलाई कोभिड–१९ नामाकरण गर्दै मानिसको १ नम्बरको दुश्मन घोषणा गरेको थियो । त्यसअघि जनवरी ३० मै विश्व स्वास्थ्य संकटकाल पनि घोषणा गरेको थियो।
चीनसँगै भाइरस नियन्त्रणमा दक्षिण कोरियाले उल्लेख्य सफलता पाएको छ। युरोप प्रवेश गनुअघि नै दक्षिण कोरियामा भाइरस संक्रमित फेला परेका थिए। त्यहाँ अहिलेसम्म १० हजार ४२३ संक्रमित फेला परेका छन् र २०४ जनाको मृत्यु भएको छ।
जर्मनीले भने संक्रमितको ज्यान जोगाउन अहिलेसम्म उल्लेख्य सफलता पाएको छ। एक लाखभन्दा बढी संक्रमित भेटिएका पाँच देशमध्ये जर्मनी चौँथो नम्बरमा छ। त्यहाँ अहिलेसम्म एक लाख १३ हजारभन्दा बढी संक्रमित हुँदा दुई हजार ३४९ जनाको मृत्यु भएको छ।
अमेरिकामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् भने इटालीमा सबैभन्दा बढी मृत्यु भएको छ। अमेरिकामा अहिलेसम्म करीब चार लाख ३५ अजार संक्रमित हुँदा १४ हजार ७९५ को मृत्यु भएको छ।
इटालीमा एक लाख ३९ हजारभन्दा बढी संक्रमित भेटिएका छन्। जहाँ १७ हजार ६६९ जनाको मृत्यु भएको छ। त्यस्तै स्पेनमा १४ हजार ७९२ र फ्रान्समा १० हजार ८६९ जनाको मृत्यु भएको छ।
कोभिड–१९ को संक्रमण फैलन थालेपछि चीन र अमेरिकाको सम्बन्ध पनि बिग्रियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई पटकपटक ‘चाइनीज भाइरस’ बताए। चीनका उच्च सरकारी अधिकारीले पनि यो भाइरस चीन पुगेका अमेरिकी सेनाले फैलाएको आरोप लगाएका।
डब्लुएचओले ट्रम्पलाई रोगबारे रंगभेदी विचार नराख्न आग्रह समेत ग¥यो। तर, ट्रम्पले उल्टै डब्लुएचओले चीनको पक्षमा काम गरेको भन्दै बजेट कटौतीको चेतावनी दिएका छन्।
डब्लुएचओले कोभिड–१९ भाइरसको व्यवहारप्रति अझ धेरै थाहा पाउन बाँकी रहेको जनाएको छ। भविष्यमा यस्तो कस्तो व्यवहार गर्छ भन्ने जानकारी पनि नभएको जनाएको छ। कोभिड–१९ लाई पराजित गर्न बन्दाबन्दी (लक डाउन) भन्दा अरु उपाय नभएको पनि डब्लुएचओको भनाइ छ।
कोभिड–१९ टाइमलाइन
डिसेम्बर ३१, २०१९
चीनको वुहानमा अज्ञात कारणका निमोनियाका २७ बिरामी भेटिएको घोषणा। वन्यजन्तुको मासु बेच्ने पसलबाट रोग फैलिएको हुनसक्ने आशंका।
जनवरी १, २०२०
वुहानको शंकास्पद मासु पसल बन्द।
जनवरी ९
चीनका वैज्ञानिकद्वारा नयाँ कोरोनाभाइरसको संक्रमण फैलिएको घोषणा।
जनवरी ११
कोरोनाभाइरस संक्रमणबाट पहिलो मृत्यु। वुहानका ६१ वर्षीय वृद्धको मृत्यु भएको घोषणा।
जनवरी १३
चीनबाहिर थाइल्याण्डमा पहिलो संक्रमित फेला। वुहानबाट गएका ६१ वर्षीय पुरुषमा संक्रमण भएको पुष्टि।
जनवरी २०
मानिसबाट मानिसमा संक्रमण फैलिएको चिनिया वैज्ञानिकको घोषणा। चीनका चिकित्सक झोन नान्शनले वुहानसँग प्रत्यक्ष सम्बन्ध नभएका ग्वाङडोङका दुई जनामा संक्रमण भेटिएको बताए।
जनवरी २२
वुहानमा बन्दाबन्दी (लक डाउन) को घोषणा
जनवरी २४
कोरोनाभाइरस युरोप प्रवेश। फ्रान्समा शंकास्पद बिरामी भेटिएको घोषणा।
जनवरी २८
मृतकको संख्या १०० नाघ्यो।
जनवरी ३०
विश्व स्वास्थ्य संगठनद्वारा विश्वभर स्वास्थ्य संकटकाल घोषणा।
जनवरी ३१
बेलायतका दुई जनामा कोरोनाभाइरस परीक्षण पोजेटिभ फेला।
फेब्रुअरी २
चीनबाहिर पहिलोपटक फिलिपिन्समा संक्रमितको मृत्यु।
फेब्रुअरी ११
डब्लुएचओद्वारा नोबल कोरोनाभाइरसलाई कोभिड–१९ नामाकरण।
चीनमा मृतकको संख्या एक हजार नाघ्यो।
फेब्रुअरी २२
इटालीमा पहिलो मृत्यु।
मार्च ५
बेलायतमा पहिलो मृत्यु। ७० वर्षीया महिलाको रोयल बेर्कसायर अस्पतालमा मृत्यु।
अमेरिकामा पहिलो संक्रमित फेला।
मार्च ११
डब्लुएचओद्वारा कोभिड–१९ लाई ‘पान्डेमिक’ घोषणा।
अमेरिकामा संक्रमितको संख्या एक हजार नाघ्यो। राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बेलायतबाहेक युरोपका सबै देशबाट हुने उडान स्थगितको घोषणा।
मार्च १३
बेलायतमा सम्पूर्ण फुटबल गतिविधि स्थगित। युरोपमा सार्वजनिक जमघटमा रोकावटको घोषणा सुरु।
मार्च २३
बेलायतमा बन्दाबन्दी (लक डाउन) घोषणा। त्यहाँ ६६ हजारभन्दा बढी संक्रमित भएको घोषणा।
मार्च २५
बेलायतका राजकुमार चाल्र्स संक्रमित भएको घोषणा। उनको संक्रमण ‘मध्यमस्तर’।
मार्च २७
बेलायती प्रधानमन्त्री बोरिस जोनसनद्वारा भिडियो सम्बोधनमार्फत आफूलाई कोभिड–१९ संक्रमण भएको घोषणा। क्वारेन्टिनबाट सरकार चलाउन जानकारी।
अप्रिल १
बेलायतको ग्रान्डस्लाम विम्बल्डन स्थगन भएको घोषणा।
अप्रिल २
अमेरिकाको जोहन हप्किन्स विश्वविद्यालयद्वारा विश्वभर संक्रमितको संख्या १० लाख र मृतकको संख्या ५० हजार नाघेको घोषणा।
चीनको वुहानमा बन्दाबन्दी खुकुलो बनाएको घोषणा।
अप्रिल ५
बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना।
अप्रिल ६
बेलायती प्रधानमन्त्री जोनसन सघन उपचार कक्ष (आईसीयु) भर्ना।
अप्रिल ७
चीनको पक्षमा काम गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा डब्लुएचओलाई दिएको बजेट कटौती हुनसक्ने चेतावनी।
अप्रिल ८
चीनमा पहिलो मृत्यु यता कोभिड–१९ बाट कसैको मृत्यु नभएको दिन भएको घोषणा। वुहानको बन्दाबन्दी हटाइयो।
डब्लुएचओद्वारा कोभिड–१९ भाइरसका नाममा राजनीति नगर्न अमेरिकालाई आह्वान। विश्व एक नभएसम्म यो रोगलाई जित्न नसकिने घोषणा।
अप्रिल ९
कोभिड–१९ संक्रमण घोषणा भएको १०० दिन पूरा। संक्रमितको संख्या १५ लाख नाघ्यो। ८८ हजार ५०० भन्दा बढीको मृत्यु।
इटालीपछि सबैभन्दा बढी मृत्यु हुनेमा स्पेनलाई उछिनेर अमेरिका दोस्रो स्थानमा