कोभिड–१९ को परीक्षण बढाउन तीन ठाउँमा उपकरण जडान हुँदै
कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि थप तीन ठाउँमा पोलिमर चेन रिएक्सन (पीसीआर) मेशिन जडान शुरु गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आज (बुधबार) देखि मेशिन जडानको काम शुरु भएको जानकारी दिए।
मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै डा.देवकोटाले सुदूरपश्चिम प्रदेशको धनगढीस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा बुधबारदेखि पीसीआर मेशिन जडान शुरु गरिएको बताए।
“एउटा पीसीआर उपकरण मार्फत दैनिक एक सयको हाराहारीमा कोभिड–१९ परिक्षण गरिनेछ”, उनले भने।
सरकारले यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सानो परिमाणमा कोभिड–१९ परीक्षण सेवा शुरु गरेकामा अहिले क्षमता विस्तारका लागि थप मेशिन जडान गर्नुपरेको डा.देवकोटाको भनाइ छ।
सरकारले यसअघि नै १० ठाउँबाट कोभिड–१९ परीक्षण सञ्चालनमा ल्याइसकेको छ।