कोरोना प्रभावले विश्वभर हवाई उडान पाँच गुणा घट्यो, कार्बन उत्सर्जनमा कमी
कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण संसारभरको हवाई सेवा नराम्ररी प्रभावित भएको छ। गएको जनवरीदेखि मार्च अन्तिमसम्म आकाशमा हवाई चाप ५ गुणा घटेको छ।
२३ जनवरी २०२० मा चीनमा १५ हजारभन्दा बढी विमान उडान र अवतरण भएका थिए। त्यसको एक सातापछि त्यहाँको वुहान शहरमा बन्दाबन्दी (लकडाउन) गरिएपछि यो संख्या ९ हजारभन्दा तल झर्यो। १३ फेब्रुअरी २०२० मा चीनभर २ हजार ४६० उडान र अवतरण भएका थिए ।
चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि धेरैजसो मुलुकले चीनसँग हवाई उडान विच्छेद गरेका थिए। जब भाइरसको संक्रमण चीन बाहेकका मुलुकमा देखिन थाल्यो, ती देशहरुमा पनि हवाई चाप घट्न पुग्यो।
जस्तो कि, जनवरी २३ मा खाडी मुलुकहरुमा ४ हजार ५ सय विमानको उडान र अवतरण भएको थियो। तर, त्यसको दुई महीनापछि इरानमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै उडानमा ८३ प्रतिशतले कटौती भएर ७०० मा झर्यो।
२३ जनवरी २०२० मा यूरोपमा २० हजारभन्दा बढी विमानले उडान र अवतरण गरेका थिए। दुई महीनापछि जब इटालीमा कोरोना भाइरसको प्रकोप देखियो, यो संख्या प्रतिदिन ५ हजारमा झर्यो।
महामारी रोकथामका लागि बन्दाबन्दी गरिएपछि नेपाल, भारत लगायत दक्षिण एशियाली मुलुकमा अत्यावश्यक सेवा बाहेक हवाई सेवा ठप्प छ।
हवाई यातायात र कार्बन उत्सर्जन
इन्टरन्याशनल काउन्सिल अन क्लिन ट्रान्सपोर्टेसनका अनुसार, सन् २०१८ मा विश्वभर ३८ मिलियन यात्रुवाहक र एक मिलियन कार्गो विमानले उडान गरेका थिए। त्यो वर्ष हवाई क्षेत्रबाट ९ सय १८ मिलियन मेट्रिक टन कार्बन उत्सर्जन भएको थियो। त्यसमध्ये यात्रुवाहक विमानले मात्रै ७ सय ४७ मिलियन टन कार्बन उत्सर्जन गरेका थिए।
काउन्सिलले निकालेको प्रतिवेदनमा उल्लेख भए अनुसार, जम्मा कार्बन उत्सर्जनमा हवाई क्षेत्रको योगदान २.४ प्रतिशत छ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूनेप) को सन् २०१८ मा प्रकाशित इमिसन ग्याप रिपोर्ट अनुसार, वन तथा भू–उपयोग परिवर्तन बाहेकका क्षेत्रबाट वार्षिक ३७ हजार ९ सय मिलियन मेट्रिक टन कार्बन उत्सर्जन हुन्छ। वन तथा भू–उपयोगबाट १५ हजार ६०० मिलियन टन कार्बन उत्सर्जन हुन्छ।
हवाई क्षेत्रबाट कार्बन उत्सर्जन गर्नेमा अमेरिका पहिलो स्थानमा पर्छ। हवाई क्षेत्रबाट हुने कूल उत्सर्जनको २४ प्रतिशत हिस्सा अमेरिका एक्लैले ओगट्छ। अमेरिकाले हवाई क्षेत्रबाट वार्षिक रुपमा १ सय ८२ मिलियन टन कार्बन उत्सर्जन गर्छ। त्यहाँ अन्तर्राष्ट्रिय उडानबाट भन्दा आन्तरिकबाट बढी कार्बन उत्सर्जन हुन्छ। आन्तरिक उडानबाट १ सय २६ मिलियन मेट्रिक टन हुन्छ भने अन्तर्राष्ट्रिय उडानबाट ५६.१ मिलियन मेट्रिक टन कार्बन उत्सर्जन हुन्छ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पहिलेभन्दा हवाई उडान घटेको छ। बुधबार दिउँसोसम्म त्यहाँ ४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने करीब १३ हजारको मृत्यु भइसकेको छ।
त्यस्तै, हवाई क्षेत्रबाट बढी कार्बन उत्सर्जन गर्ने सूचीमा चीन दोस्रो स्थानमा पर्छ। जसले उत्सर्जनको १३ प्रतिशत हिस्सा ओगट्छ। चीनको हवाई क्षेत्रबाट वार्षिक ९४.९ मिलियन मेट्रिक टन कार्बन उत्सर्जन हुन्छ।
त्यसैगरी, तेस्रो स्थानमा बेलायत, चौथोमा जापान र पाँचौंमा जर्मनी पर्छन्। त्यसपछिको क्रममा संयुक्त अरब इमिरेट्स (यूएई), भारत, फ्रान्स, अष्ट्रेलिया र स्पेन पर्छन्।