क्वारेन्टिन नाट्य उत्सवमा बिहीबारदेखि दैनिक दुई नाटक
भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टिन अभियान नाट्य उत्सव–२०७६’ मा अब दैनिक दुई नाटक देखाइने भएको छ। दर्शकको उत्साहजनक सहभागिता र प्रतिक्रियाका कारण २७ चैत बिहीबारदेखि दिउँसो १ बजे पनि प्रदर्शन थप गरिएको आयोजकले जनाएको छ। यसअघि दैनिक साँझ ५ बजे एउटा नाटक मात्र देखाइने गरिएको थियो।
नाटक थिएटर मलको फेसबुक पेजबाट लाइभ स्ट्रिमिङ हुँदै आएको छ।
थपिएको दोस्रो साताको अन्तिम दिन बिहीबारदेखि पुनः थप केही दिन उत्सव लम्ब्याउँदै एकै दिन दुई वटा नाटकको भिडियो प्रदर्शन गर्न लागेको फेस्टिभल निर्देशक केदार श्रेष्ठले बताए। उत्सवमा बुधबार (आज) प्रतीक्षा कट्टेल लिखित तथा विजया कार्की निर्देशित नाटक ‘क्लेशाः’ को भिडियो प्रदर्शन हुँदैछ। जसमा नेपाली चलचित्रकी अभिनेत्री सुरक्षा पन्तका साथै कुशल पाण्डे, सिर्जना अधिकारी, रुजु शर्मा, स्वप्निल घिमिरे लगायतको अभिनय रहेको छ।
त्यस्तै, बिहीबार दिउँसो १ बजे भारतीय नाटककार भरतेन्दु हरिषचन्द्र लिखित, संगीत सापकोटा र आशिष घिमिरेको संयुक्त निर्देशन रहेको नाटक ‘अँधेरी नगरी चौपट राजा’ को भिडियो देखाइने प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयले बताए। यस्तै, साँझ ५ बजे नाटक फ्रान्सेली निर्देशक एलिज बियान्निकको नेपाली भाषामा निर्मित डान्स ड्रामा ‘द फ्लाइट’को भिडियो प्रदर्शन हुनेछ।
उत्सवमा चे शंकर निर्देशित लु सुनको कथामा आधारित ‘म्याड म्यान्स डायरी’ हिरा बिजुली निर्देशित कर्णाली आर्ट सेन्टरको प्रस्तुति ‘गर्भछिटा’, डेनमार्कको नाटक ‘टु बी’, आयोजककै ‘भोको घर’ तथा आरोहण गुरुकुलको अर्को एक नाटक पनि सूचीमा छन्।
कोरोना भाइरस संक्रमणको जोखिम रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) को समय ३ वैशाखसम्म लम्ब्याएपछि एक साताको लक्ष्यसहित शुरु भएको उत्सव दोस्रो साता पनि निरन्तरता दिइएको थियो। घरमा क्वारेन्टिनमा बसेकालाई प्रोत्साहन र साथ दिन थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल) ले १४ चैतबाट उत्सव शुरु गरेको हुन्।