कोरोना भाइरसबाट अमेरिकामा एकैदिन १ हजार ८ सयको मृत्यु
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकैदिन १ हजार ८ सय जनाको मृत्यु भएको छ। मंगलबार भएको यो मानवीय क्षति त्यहाँ संक्रमणका कारण भइरहेको दैनिक मृत्युको अहिलेसम्मकै बढी हो।
यो सँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार ८ सय नाघेको छ।
अमेरिकामा कोरोना संक्रमित संख्या अन्य देशहरुको तुलनामा सबैभन्दा बढी छ। बुधबार अपराह्न साढे तीन बजेसम्म त्यहाँ कुल संक्रमित ४ लाख ५ सय ४९ पुगेको छ। तीमध्ये २१ हजार ७ सय ११ जना उपचारबाट निको भएका छन्।
अमेरिकापछि युरोपेली मुलुक स्पेनमा संक्रमित बढी छन्। त्यहाँ संक्रमणको घटना संख्या १ लाख ४६ हजार ५ सय नाघिसकेको छ। संक्रमितहरुमध्ये हालसम्म १४ हजार ५ सय भन्दा बढीको मृत्यु भएको छ भने ४८ हजार उपचारपछि निको भएका छन्।
विश्वमा कोरोना संक्रमित बिरामीको संख्या १४ लाख ४१ हजार नाघिसकेको छ। ३ लाख ८ हजारभन्दा बढी उपचारपछि निको भइसकेका छन् भने ८३ हजारभन्दा बढीको मृत्यु भएको छ।