मृत्यु भएका ८२ हजारमध्ये पाँच देशका मात्र ६० हजार ५००
कोरोनाभाइरस संक्रमण भएर अहिलेसम्म विश्वमा ८२ हजार ९६ जनाको मृत्यु भइसकेको छ। २०५ देश प्रभावित छन् भने १५८ वटा देशमा कम्तीमा एक जनाको मृत्यु भएको छ। तर, पाँच देशको अवस्था भयावह छ।
यी पाँच देशमा मात्र ६० हजार ५१६ जनाको मृत्यु भएको छ। चार देशमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। इटाली, स्पेन, अमेरिका र फ्रान्स सबैभन्दा बढी आक्रान्त छन्।
पछिल्लोपटक मंगबार फ्रान्समा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। त्यहाँ १० ३२८ को मृत्यु भएको छ। एक लाख नौ हजार ६९ जना संक्रमित भएकोमा १९ हजार ३३७ जना निको भएका छन्।
इटालीमा सबैभन्दा बढी १७ हजार १२७ जनाको मृत्यु भइसकेको छ। त्यहाँ एक लाख ३५ हजार ५८६ जना संक्रमित भएकामध्ये २४ हजार ३४२ जना निको भएका छन्।
स्पेनमा दोस्रो बढी १४ हजार ४५ जनाको मृत्यु भएको छ। त्यहाँ संक्रमित भएका एक लाख ४१ हजार ९४२ मध्ये ४३ हजार २०८ जना निको भएका छन्।
अमेरिका सबैभन्दा बढी संक्रमित फेला परेको देश हो। यहाँ अहिलेसम्म चार लाख ५४० जना संक्रमित फेला परेका छन्। संक्रमितमध्ये १२ हजार ८५७ जनाको मृत्यु भएको छ भने २१ हजार ७११ जना निको भएका छन्।
बेलायतमा पनि अहिलेसम्म ६ हजार १५९ जनाको मृत्यु भएको छ। यहाँ संक्रमित कम फेला परेकाले मृत्युदर बढी देखिएको छ। बेलायतमा अहिलेसम्म ५५ हजार २४२ जना संक्रमित फेला परेका छन्।
जर्मनीमा भने मृत्युदर कम देखिएको छ। एक लाखभन्दा बढी संक्रमित फेला परेका पाँच देशमध्ये जर्मनी एउटा हो। यहाँ एक लाख सात हजार ६६३ संक्रमित भेटिएका छन्। अहिलेसम्म दुई हजार १६ जनाको मृत्यु भएको छ।
जर्मनीमा निको हुने दर पनि उच्च छ। यहाँ अहिलेसम्म ३६ हजार ८१ जना निको भइसकेका छन्।