अमेरिकाको एल्टोनमा घर नबस्नेलाई पक्राउको आदेश दिने मेयरकै श्रीमती गिरफ्तार
अमेरिकाको इलिनोइस राज्यमा गत साता ‘घरैमा बस्ने’ आदेश जारी भयो। तर, त्यहाँका नागरिकले लगातार आदेश उल्लंघन गर्न थाले। सार्वजनिक स्थानमा जमघट भइरह्यो।
त्यहीकारण इलिनोइसमा पर्ने एल्टोन शहरका मेयर ब्रान्ट वाल्करले प्रहरीलाई घरबाहिर निस्किएर जमघट गर्ने जो–कसैलाई पक्राउ गर्न आदेश दिए। गत शुक्रबार आदेश जारी गर्दै उनले भनेका थिए, “यो धेरै गम्भीर समय हो र मैले तपाईंहरुलाई घरैमा बस्न आग्रह गरिरहेको छु। आदेश उल्लंघन गर्नेलाई अब कानूनी कारबाही हुनेछ।”
मेयरले आदेश जारी गरेको ४८ घन्टा नपुग्दै सार्वजनिक स्थानमा भेला भएकी उनकै श्रीमती पक्राउ परिन्। उनी एल्टोनको मुख्य चोकबाटै पक्राउ परेकी थिइन्। उनी त्यहाँ किन गएकी थिइन् भन्ने खुलाइएको छैन।
प्रहरीले श्रीमती पक्रउको जानकारी मेयरलाई दिइसकेको जनाएको छ। मेयर वाल्करले भनेका छन्, “मैले प्रहरी प्रमुखलाई अन्य नागरिक सरह उनलाई पनि कानून बमोजिम कारबाही गर्न भनेको छु, उनलाई विशेष छुट हुने छैन।”
सार्वजनिक आदेश उल्लंघन गर्नेलाई एक वर्ष जेल वा दुई हजार पाँच सय डलर जरिवाना वा दुवै सजाय हुनसक्ने प्रहरी अधिकारीले जनाएका छन्। तर, प्रहरीले अदालतमा मुद्दा दायर गरिसकेको छैन। घरै बस्ने आदेश उल्लंघन गर्नेलाई कस्तो मुद्दा चलाउने भन्ने छलफल भइरहेको बताइएको छ।