बेलायती प्रधानमन्त्री जोनसनको स्वास्थ्यअवस्था स्थिर, अक्सिजन दिइँदै
कोभिड१९ संक्रमण भएको १० दिनपछि अप्रिल ५ मा (आइतबार) अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यअवस्था स्थिर छ। उनलाई अझै अक्सिजन दिएरै राखिएको छ।
अप्रिल ६ (सोमबार) साँझदेखि सघन उपचार कक्षमा राखिएका जोनसनलाई अहिले भ्यान्टिलेटरमा राख्नुपर्ने अवस्था नभएको उनका प्रवक्तालाई उधृत गर्दै बीबीसीले जनाएको छ। जोनसनले मनोबल पनि उच्च बनाएको प्रवक्ताले जनाएका छन्।
उनलाई गत मार्च २७ मा कोभिड१९ संक्रमण देखिएको थियो। त्यसपछि उनी १० दिन प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमै क्वारेन्टिनमा बसेका थिए। आफूले क्वारेन्टिनबाटै सरकार सञ्चालन गर्ने भन्दै भिडियो सन्देशमा देशबासीलाई पनि घरैमा बस्न आग्रह गरेका थिए।
गत आइतबार साँझ भने ‘नियमित जाँच’ र ‘पूर्वसावधानीका लागि’ भन्दै उनी अस्पताल भर्ना भएका थिए। डाउनिङ स्ट्रिटले उनी सोमबार बिहान नै डिस्चार्ज हुने अपेक्षा गरेको जनाएको थियो।
तर, अचानक स्वास्थ्य बिग्रिन थालेपछि उनलाई डिस्चार्ज दिइएको थिएन। त्यही दिन साँझ उनलाई आईसीयुमा राखिएको थियो।