कोरोना त्रासदीमा एक शहर, जहाँ घरहरुबाट कैयौं दिनसम्म शव उठाइँदैन
दैनिक १५ घण्टासम्म कर्फ्यू लाग्ने इक्वेडरको ग्वायाक्विल शहरमा कोरोना भाइरस संक्रमणले जटिल स्थिति निम्त्याएको छ। संक्रमण र अन्य कारणले कसैको मृत्यु भए पनि डरका कारण अन्तिम संस्कार हुँदैन, सरकारले पनि व्यवस्थापन गर्दैन।
ल्याटिन अमेरिकी देश इक्वेडरमा मंगलबार बेलुका ९:३० बजेसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमित ३ हजार ७ सय नाघिसकेका छन्। त्यसमध्ये १ सय जना उपचारपछि निको भएका छन् भने १ सय ९१ जनाको मृत्यु भएको छ। २ अप्रिलसम्ममा त्यहाँ २ हजार ७ सय ५८ जना संक्रमित भइसकेका थिए भने ९८ जनाको मृत्यु भएको थियो। त्यो अवधिमा ग्वायस प्रान्तमा मात्रै १ हजार ९ सय ३७ जना संक्रमित भएकोमा ६० जनाको मृत्यु भएको थियो।
ग्वायस प्रान्तको राजधानी हो, ग्वायाक्विल। इक्वेडरमा कोरोना संक्रमणका घटनामध्ये ७० प्रतिशत यहीँका हुन्। ल्याटिन अमेरिकामा ब्राजिल र चिलीपछि कोरोना भाइरसबाट प्रभावित हुने तेस्रो देश इक्वेडर हो। ती दुई देशको तुलनामा यहाँ मानवीय क्षति बढी भएको छ।
इक्वेडरमा कोरोना संक्रमण र अन्य कारणले घरैमा मृत्यु हुनेहरुको संख्या धेरै छ। तिनको शव उठ्न नसक्नु यहाँको ठूलो समस्या भएको छ। सरकारले शवहरूको व्यवस्थापन गर्न सकेको छैन।
दैनिक १५ घण्टासम्म लाग्ने कर्फ्यूका कारण सार्वजनिक जीवन व्यवहार ठप्पप्रायः हुँदा अन्तिम संस्कार पनि अवरुद्ध बनेको छ। अर्कातिर, मृतकका परिवारजन कोरोना संक्रमणको डरले शव छुन समेत डराउने गरेका छन्। इक्वेडरका पब्लिक हेल्थ सोसाइटीका डा. ग्रेस नैवारेटे जो कसैको मृत्यु भए पनि कोरोना भाइरसकै कारणले हो भन्ने त्रस्त मनोविज्ञान भएकाले चारैतिर अत्यासलाग्दो अवस्था रहेको बताउँछन्। “शवको त कुरै छाडौं, घरमा कोही सिकिस्त बिरामी भए भने उनीहरुलाई छुन समेत मानिसहरु डराइरहेका छन्”, उनले भने।
ग्वायाक्विलको तापक्रम बढी नै भएकाले शवहरु छिटै गल्दा झन् समस्या भएको उनले बताए।
परिस्थिति कस्तो जटिल बनेको छ भने, राष्ट्रपति लेनिन मोरेनोले घरहरुबाट शव ल्याएर अन्तिम संस्कार गर्न ‘स्पेशल टास्क फोर्स’ गठन गरेका छन्।
क्वेटो शहरमा बसोबास गर्ने जेसिका कैस्टानेडा २८ मार्चमा आफ्ना काकाको मृत्यु भएको र आफूहरूलाई मद्दत गर्न अहिलेसम्म कोही पनि नआएको बताउँछिन्। उनी भन्छिन्, ‘‘अस्पतालहरुमा बेड नभएकाले उहाँको मृत्यु घरमै भएको थियो । हामीले आकस्मिक सेवा लिन फोन त गर्यौं, तर उनीहरुले धैर्य गर मात्र भने। उहाँको शव अहिले पनि त्यही बेडमा छ, जहाँ प्राण गएको थियो ।’’
कोरोना भाइरसको संक्रमणले मर्नेहरुलाई मात्र होइन, अन्य कारणले मृत्यु हुनेहरुलाई पनि आकस्मिक सेवा उपलब्ध हुन सकिरहेको छैन। ग्वायाक्विलको उत्तरी भागमा बसोबास गर्ने वेन्डी नोबोआ भन्छिन्, ‘‘मेरा छिमेकी लडे, मैले आकस्मिक सेवाका लागि टेलिफोन गर्दा सहयोग प्राप्त हुन सकेन।’’
उनका एक छिमेकीको २९ मार्चमा मृत्यु भयो। उनका अनुसार, ती व्यक्तिका परिवारजन नआउन्जेल उनी दिनभरि भुइँमै लडिरहे । उनीहरु आएपछि पनि अन्तिम संस्कार गर्न सकेनन्। किनभने उनको मृत्यु प्रमाणपत्रमा हस्ताक्षर गर्ने कुनै डाक्टर उपलब्ध थिएनन्।
अर्कातिर अन्तिम संस्कार कहाँ लगेर गर्ने भन्ने पनि समस्या छ। कोरोना भाइरसको संक्रमण हुने डरले कब्रस्थान (मुर्दा गाड्ने ठाउँ) मा शव राख्न त्रासको स्थिति बनेको छ।
सडकमै मरिरहेछन् मानिस
इक्वेडरमा सडकमा मरिरहेका मानिसहरुका बारेमा स्थानीयहरुले सामाजिक सञ्जाल मार्फत जानकारी दिइरहेका छन् । सडकमा रहेको शव कसैले नउठाएको र त्यसबारे विरोध भइरहेको भिडियो सामाजिक सञ्जालमा हालिएको थियो। यद्यपि यी भिडियो फुटेज कति सत्य हुन् भन्ने पुष्टि हुन बाँकी नै छ।
ग्वायाक्विलको दैनिक अखबार अल तेलगराफो की पत्रकार जेसिका जैम्ब्रानो भन्छिन्, “मेरो पार्टनर किराना पसलबाट सामान ल्याउन निस्केका थिए, उनले एउटा शव सडकको घुम्तीमा देखेछन्। उनका अनुसार, त्यसको केही मिटर पर अर्को शव पनि लडिरहेको थियो।”
अस्पतालहरुमा थामिनसक्नुको भीडभाड छ। त्यहाँ थप बिरामी राख्न सक्ने अवस्था छैन। एकातिर स्वास्थ्य सेवाको दुरवस्था छ, अर्कातिर घरमा रहेको शव नउठ्दा मानिसहरू ठूलो हैरानीमा छन्। यहाँको एक अखबार एक्सप्रेसोका पत्रकार बलैंका मोनकाडो भन्छन्, “ग्वायाक्विलमा मानिसहरु निराश भइरहेका छन्। घरमा रहेको शव उठाउन ७२ घण्टासम्म पर्खिनुपरिरहेको छ।”
समाचार एजेन्सी ईएफईका अनुसार, मार्चको अन्तिम सातामा छुट्टाछुट्टै कारणले ३ सय मानिसको मृत्यु उनीहरुको घरमै भएको थियो। तीमध्ये केही शव प्रहरीले अन्तिम संस्कार गर्न लगे पनि अझै १ सय १५ जना को शव उनीहरुकै घरमा लडिरहेको छ।
ग्वायस प्रान्तको स्थानीय प्रशासनले संकटको सामना गर्न सामूहिक रुपमा अन्तिम संस्कार गर्ने प्रस्ताव राखेको थियो। तर, तत्कालै आफ्नो प्रस्ताव फिर्ता लिनुपर्ने अवस्था आयो ।
ग्वायाक्विलका समाजशास्त्री हेक्टर सिरीबोगाले सामूहिक अन्तिम संस्कार गर्ने विषयले यहाँको रुढीवादी समाजको भावनामा ठेस पुग्ने बताए। उनका अनुसार, यहाँका मानिसले अन्तिम संस्कार गर्नुअघि शव सजाउने गर्छन्। विशेष गरी मृत्युको समयमा गरिने रीतिरिवाज गर्न वञ्चित हुने क्याथोलिकहरुले अझै बढी चित्त दुखाउँछन्।उनले भने, “यो यस्तो शहर हो, जहाँ मृतकको परिवारका सदस्य वा युरोपमा बसोबास गर्ने नातेदार नआउन्जेल अन्तिम संस्कार हुन सक्दैन।” पछिल्ला दुई दशकमा धेरै मानिस इक्वेडरबाट युरोप गएका छन्।
सैन्य कमाण्डर डार्विन जैरिनलाई केही दिनअघि ग्वायस प्रान्तको सुरक्षाकर्मीको संयोजक बनाइएको छ। उनले बीबीसीसँग कुरा गर्दै यस साताको अन्तिमसम्ममा सबै मृतकको अन्तिम संस्कार गरिने बताए।
मृत्युदर बढ्दै गएकाले सरकार सामु चुनौती थपिएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार यसले राजनीतिक विवाद समेत जन्माएको छ। ग्वायाक्विलका मेयर सिन्टिआ विटेरीले सार्वजनिक स्वास्थ्य प्रणालीको अक्षमताका लागि केन्द्रीय सरकारलाई दोषी ठहर्याएका छन्। उनी स्वयं कोरोना संक्रमित भएर सेल्फ आइसोलेसनमा बसिरहेका छन्।
ल्याटिन अमेरिकामा कोरोना संक्रमित भएको पहिलो घटना फेब्रुअरी अन्तिममा इक्वेडरमै देखिएको थियो। सरकारले यसको गम्भीरता बुझेर विशेष कदम चाल्नुपर्नेमा त्यसो नगर्दा परिस्थिति कठिन बन्दै गएको हो।
- बीबीसीबाट