मोरङको भारतीय सीमामा सशस्त्रका १२ पोष्ट थपिए
सशस्त्र प्रहरीले १२ वटा नयाँ सुरक्षा पोष्ट थप गरेर मोरङसँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रमा २४ सै घण्टा सुरक्षा दिने गरी ३६ वटा पोष्ट बनाएको छ ।
खुल्ला सिमानाका कारण भारतबाट अनियन्त्रित रुपमा नेपाल प्रवेश हुने क्रम अब मोरङमा घट्ने भएको छ । सशस्त्र प्रहरीको ३ नम्बर गण हेडक्वार्टर मोरङले कोरोनाको सम्भावित संक्रमण फैलन नदिन जिल्लामा लकडाउन भएपछि २४ वटा पोष्ट स्थापना गरेको थियो ।
प्रदेशको राजधानी विराटनगर जिल्लामै भएकाले पनि सुरक्षा समितिको सिफारिसमा जनशक्ति थप गरेर सीमामा पोष्ट बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमामा पाल टाँगेर राखिएका अस्थायी सुरक्षा पोष्टहरुमा ७ जनाका दरले हतियारधारी सुरक्षाकर्मीले २४ सै घण्टा ड्युटी गर्ने बताइएको छ ।
कोरोनाको संक्रमण फैलन नदिन राखिएका पोष्टका कारण सीमावर्ती क्षेत्रका नागरिकले सुरक्षित महशुस गर्न थालेका छन् । सीमामा सुरक्षा बढेसँगै तस्करी पनि नियन्त्रण हुने बताइएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीका अनुसार, बराह बाहिनी पकली सुनसरीबाट १ सय ५० जना सुरक्षाकर्मी थप मगाएर मोरङमा पोष्ट थप गरिएको हो ।
“सीमामा अनियन्त्रित रुपमा मानिसको ओहोर दोहोर हुने क्रम अब न्यून हुनेछ” कार्कीले भने–“खेतबारीबाट नेपाल–भारत ओहार दोहोर गर्नेलाई भने अझै पनि रोक्न सक्ने अवस्था छैन ।”
लकडाउन शुरु भएपछि खुल्ला सिमानाको फाइदा उठाउँदै दुवै देशका नागरिक दशगजा पार गर्दै आएका थिए । भारततर्फ सीमामा सडक भएपनि नेपालतर्फ हिंड्नेसम्म बाटो नभएकाले मानिसको आवागमन पूर्ण रुपमा रोक्न सक्ने अवस्था नरहेको उनले बताए ।
भारतसँग सीमा जोडिएको मोरङको ६३ किलोमिटर क्षेत्रमा १ देखि २ किलोमिटरमा सशस्त्रको चेकपोष्ट रहेको छ ।
“सीमामा नेपालतर्फ कतिपय ठाउँमा पैदल हिंड्ने बाटो पनि छैन, लिंकरोड भए मात्रै हामी सुरक्षा साङ्लो बनाएर मानिसको आवतजावत रोक्न सक्छौं”, एसपी कार्कीले भने ।
मोरङको भारतीय सीमावर्ती क्षेत्रमा निरीक्षकको नेतृत्वमा ६ वटा बोर्डर आउट पोष्ट र नायब उपरीक्षकको नेतृत्वमा एक गुल्मले स्थायी रुपमा सुरक्षा दिंदै आएका छन् ।