कूटनीतिक नम्बरकाे गाडीमा थर्मल गनकाे कालाेबजारी, अनरेरी कन्सल सुलभ अग्रवाल पक्राउ
महानगरीय अपराध महाशाखाकाे विशेष टाेलीले मंगलबार ६७ थान कन्टेक कम्पनीका इन्फ्रारेड थर्माेमिटर (थर्मल गन) प्रतिगाेटा १५ हजारका दरले १० लाख रूपैयाँमा बेच्न कूटनीतिक गाडीमा आएका नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत (अनरेरी कन्सल) सुलभ अग्रवाललाई पक्राउ गरेकाे हाे ।
महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार जगदम्बा सिमेन्ट, जगदम्बा छड र धागाे उद्याेगका मालिक समेत रहेका अग्रवाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे छ। उनी बिरूद्व बुधबार प्रहरीले म्याद लिएर अनुसन्धान अघि बढाउने छ ।
अग्रवाललाई पक्राउ गरेर महाशाखाले कार्यालयमा ल्याएर साेधपुछ गरिरहेकाे छ । उनले काेभिड-१९ काे प्रभाव सुरू भएपछि २० हजार थान थर्मल गन मगाएर लुकाएकाे सूचना प्रहरीले पाएकाे छ ।