पाँच देश, जहाँ पसेको छैन कोरोनाभाइरस
विश्वका अधिकांश देश बन्दाबन्दीमा छन्। कतिपयमा ‘घरैमा बस्ने आदेश’ जारी गरिएको छ। तर, तुर्कमेनिस्तानमा आज (अप्रिल ७) विश्व स्वास्थ्य दिवस मनाउन ठूला साइकल र्याली आयोजना गरिए। त्यहाँ सयौँले साइकल र्यालीमा भाग लिए।
विश्वभर खेल गतिविधि ठप्प हुँदा गत शनिबार ताजिकिस्तानमा दुई फुटबल क्लब इस्तिकलोल दुसान्बे र खुजान्दबीच सुपर कप भयो। दर्शकबिहीन रङ्गशालामा खेलाइएको खेलमा लिग च्याम्पियन इस्तिकलोल २–१ ले विजयी भयो।
सुपर कप हरेक वर्ष फुटबल सिजन सुरु हुनुअघि खेलाइन्छ। यसको अर्थ हो ताजिकिस्तानको फुटबल क्लब लिगको तयारीमा छ। यदि त्यहाँ फुटबल सिजन सुरु भए त्यो विश्वलाई नै आश्चर्यमा पार्ने खेल गतिविधि हुनेछ।
तुर्कमेनिस्तान र ताजिकिस्तानमा अहिलेसम्म कोभिड–१९ संक्रमित फेला परेका छन्। यी दुई देशसँग अन्य तीन देश उत्तर कोरिया, येमन र लेसोथोमा पनि यो भाइरस प्रवेश गरेको छैन। कोभिड–१९ संक्रमित नभेटिएका पाँचमध्ये चार वटा एसियन र एउटा अफ्रिकन देश हुन्।
केही देशलाई भने कोभिड–१९ संक्रमितको संख्या लुकाएको आरोप पनि लागेको छ। खासगरी तुर्कमेनिस्तान र उत्तर कोरियालाई यस्तो आरोप लागेको हो। दुवै देशले दिएको तथ्याङ्कमा केही विज्ञहरुलाई उधृत गर्दै बीबीसीले प्रश्न उठाएको हो।
लण्डनको स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिनका प्राध्यापक मार्टिन म्याककीले तुर्कमेनिस्तानले संसारलाई ढाँटिरहेको दाबी गरेका छन्। उनले भनेका छन्, “तुर्कमेनिस्तानको आधिकारिक तथ्याङ्क अविस्वसनीय र कुख्यात छ।”
उता कोभिड–१९ संक्रमित नभेटिएको उत्तर कोरियाको लामो सीमा चीनसँग जोडिएको छ। तर, सीमा पूर्ण रूपमा बन्द गरेका कारण उक्त भाइरस प्रवेश गर्न नपाएको उत्तर कोरियन अधिकारीले जनाएका छन्।
उत्तर कोरियाको महामारीविरुद्धको मुख्यालयका प्रमुख पाक म्योङ–सुले शंकास्पदहरुको वैज्ञानिक परीक्षण गरिरहेको फ्रान्सेली समाचार संस्था एपीएफलाई जनाएका छन्। आफूहरुको सावधानीले संक्रमण फैलन नपाएको उनको दाबी छ।
तर, छिमेकी दक्षिण कोरियाका उच्च सैनिक अधिकारीले उत्तर कोरियाको दाबी असत्य भएको बताएका छन्। दक्षिण कोरियामा भने अहिलेसम्म १० हजार ३३१ संक्रमित भेटिएका छन्। जसमध्ये १९२ जनाको मृत्यु भएको छ।
अर्को देश यमन खाडी क्षेत्रमा पर्ने देश हो। यो देशको जनसंख्या झन्डै तीन करोड छ। अन्य खाडी मुलुक युएई, कतार, कुवेत, इरान, इराक लगायत देशमा भने संक्रमण फैलिसकेको छ।
संक्रमित नभेटिएको लेसोथो भूपरिवेठित पर्वतीय मुलुक हो। यो देशलाई चारैतर्फबाट दक्षिण अफ्रिकाले घेरेको छ। यहाँको जनसंख्या करीब २२ लाख छ।
छिमेकी दक्षिण अफ्रिकामा भने अहिलेसम्म एक हजार ६८६ जना संक्रमित फेला परेका छन्। त्यहाँ १२ जनाको मृत्यु भएको छ। लिसोथो पूर्ण रूपमा दक्षिण अफ्रिकामा निर्भर मुलुक हो। तर, अहिले भने दुई देशको सीमा बन्द गरिएको छ।
तीन देश दक्षिण सुडान, टिमोर लिष्टे र सेन्ट पियेरे मिक्वेलोनमा कोरोनाभाइरस संक्रमित १/१ जना भेटिएका छन्। संक्रमण फैलिएका ५५ देशमा कसैको पनि मृत्यु भएको छैन।
२६ देशमा अहिलेसम्म १/१ जनाको मात्र मृत्यु भएको छ। सबैभन्दा कम मृत्युदर न्युजिल्याण्डमा छ। त्यहाँ ११६० जना संक्रमित हुँदा एक जनाको मात्र मृत्यु भएको छ। कतारमा १८३२ जना संक्रमित हुँदा चार जनाको मृत्यु भएको छ। उता अल्जेरियामा भने १४७३ जना संक्रमित हुँदा १७३ जनाको मृत्यु भइसकेको छ।
विश्वमा कोभिड–१९ बाट १३ लाख ४७ हजारभन्दा बढी संक्रमित भएका छन्। जसमा ७४ हजार ७८२ जनाको मृत्यु भएको छ। दुई लाख ८६ हजार ४५३ जना निको भएका छन्।