नेपालको चुरोट भारतमा नक्कली उत्पादन
नेपालमा चलेका चुरोट भारतमा नक्कली उत्पादन हुने गरेको छ । नक्कली चुरोट सस्तो मूल्यमा नेपाल भित्र्याइने गरेको पाइएको छ ।
विराटनगर भन्सार नाका हुँदै नेपाल भित्र्याइएका २ सय बट्टा खुकुरी चुरोट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि भारतमा उत्पादित नक्कली चुरोट नेपालका बजारमा आउने गरेको प्रमाणित भएको छ । चुरोटको बट्टा नेपालको उत्पादनसँग हुबहु मिल्छ ।
बरामद गरिएका गोल्ड स्टेप टोब्याको प्रालिको उत्पादन नक्कली खुकुरी चुरोट सशस्त्र प्रहरीको विराटनगर गुल्मले सोमबार भन्सार कार्यालयमा बुझाएको छ । गोल्ड स्टेप टोब्याको प्रालि गुगलमा सर्च गर्दा भारत बिहारको राजधानी पटना ठेगाना देखिन्छ । सो उद्योग निजी क्षेत्रका व्यवसायीको साझेदारीमा संचालित रहेको देखिएको छ ।
भन्सार कार्यालयले भने सो चुरोट लिलामी प्रक्रियामा लैजाने तयारी गरेको छ । भारतमा उत्पादित नक्कली चुरोट नेपालको भन्दा एक बट्टामा ३० रुपैयाँ सस्तो छ ।
यस अघि पनि आन्तरिक राजस्व कार्यालय विराटनगरले नक्कली खुकुरी चुरोट बरामद गरेको थियो । राजस्व कार्यालय प्रमुख विमल सापकोटाका अनुसार, गत वर्ष मोरङको रंगेलीका एक व्यापारीले संचय गरेको नक्कली चुरोट नियन्त्रणमा लिइएको थियो ।
व्यापारीलाई ३ महीना कैदको फैसला गरिएको थियो । ती व्यापारी कैद बापतको जरिवाना तिरेर मुक्त भएका थिए । रंगेलीका व्यापारीलाई भारततर्फबाट चुरोट ल्याइदिने भरियाका रुपमा काम गर्ने एक बालकलाई त्यस बेला प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
नेपालमा कर बुझाएर उत्पादन भएका वस्तुको नक्कली उत्पादन भारतबाट ल्याइँदा राजस्वमा असर परेको सापकोटाले बताए । उनका अनुसार भारतमा उत्पादित पान मसला रजनीगन्धा र तुलसी पनि नक्कली बनाएर नेपाल भित्रिने गरेको छ । विराटनगर बजारबाटै नक्कली रजनीगन्धा र तुलसी नियन्त्रणमा लिएर कारवाही गरिएको उनले बताए ।