कोभिड– १९ः रोकिएन संक्रमित र मृत्युकाे गति
कोरोना महामारीकाे संक्रमण शुरु भएको तीन महीना बितिसक्दा पनि यसलाई रोक्न र व्यवस्थापन गर्न नसक्दा विश्वभर संक्रमितको संख्या र मृत्युदर बढ्ने क्रम राेकिएकाे छैन । ७ अप्रिल, मंगलबार बिहान दश बजेसम्म जम्मा संक्रमितको संख्या १३ लाख ४७ हजार पुगेको छ भने मृत्यु हुनेको संख्या ७४ हजार सात सय पुगेकाे छ।
चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरसबाट २२ जनवरी २०२० मा जम्मा ५८० व्यक्ति संक्रमित थिए । त्यो संख्या क्रमशः १ फेब्रुअरीमा १४ हजार ५५३, १५ फेब्रुरीमा ६९ हजार १९७, १ मार्चमा ८८ हजार ५८७, १५ मार्चमा १ लाख ६९ हजार ५११ पुगेको थियो ।
त्यो संख्या एक्कासी यति तीब्र रुपमा बढ्यो कि १५ मार्चदेखि १ अप्रिलसम्ममा विश्वभर जम्मा संक्रमितको संख्या ९ लाख ३५ हजार ३२ पुग्यो । पछिल्लो समय दैनिक झण्डै ८०–९० हजार जना नयाँ संक्रमित थपिंदैछन् ।
तीब्र रुपमा संक्रमितको संख्या बढेसँगै कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दो क्रममा छ । २२ जनवरीसम्ममा कोरोनाभाइरसले १७ जनाको ज्यान लिइसकेको थियो । यो संख्या १ फेब्रुअरीमा ३०४, १५ फेब्रुअरीमा एक हजार ६६९, १ मार्चमा तीन हजार ५०, १५ मार्चमा ६ हजार ५२० थियो ।
१ अप्रिलसम्म आइपुग्दा संक्रमितको गति जस्तै मृत्युदरको पनि बढेर ४७ हजार पुग्यो । विश्वभरि फैलिएको कोरोनाभाइरसबाट संक्रमितको गति तीब्र रुपमा बढ्दै जाँदा विश्व समुदायमा गम्भीर संकट पैदा गरेको छ ।
अमेरिका, चीन, अष्ट्रेलियालगायतका देशका अनुसन्धानकर्ता, चिकित्सकहरु रातदिन कोरोनाभाइरसको भ्याक्सिनको खाेजीमा खटिरहेका छन् । तर अझै तात्विक निष्कर्शमा पुग्न सकेका छैनन् ।
छिमेकी मुलुक भारतमा पनि पछिल्लो समय बढ्दै गएको कोरोनाभाइरस संक्रमितको संख्याले दुई हप्तादेखि बन्दाबन्दीकै अवस्थामा रहेको नेपाललाई झन् चिन्तित बनाएको छ । भारतममा कोरोनाभाइरसबाट संक्रमितको संख्या चार हजार चार सय पुग्दा ११४ जनाले ज्यान गुमाइसकेका छन् ।
नेपालमा हालसम्म ९ जना संक्रमित भेट्टिएको र एकजनाको पूर्ण रुपमा निको भएको र बाँकी ८ जनाको उपचार भइरहेको छ ।