बन्दाबन्दीमा हल्ला गरेको भन्दै रुसमा एक युवकले गरे पाँच छिमेकीको हत्या
रुसमा बन्दाबन्दीको बेला हल्ला गरेको भन्दै एक युवकले पाँच छिमेकीको गोली हानी हत्या गरेका छन्। उनलाई प्रहरी पक्राउ गरेको छ।
देश बन्दाबन्दीमा भएकाले बाल्कोनीमा निस्किएर हल्ला नगर्न गरेको आग्रह नमानेपछि ती युवकले गोली हानेको रसियसन समाचार संस्थालाई उधृत गर्दै सीएनएनले जनाएको छ। उक्त घटना पश्चिमी रसियास्थित रियाजन क्षेत्रको येलात्मा गाउँमा भएको हो। उक्त क्षेत्रका स्थानीयलाई कोभिड–१९ को संक्रमणबाट बच्न ‘घरैमा बस्ने’ आदेश जारी गरिएको छ।
ती ३३ वर्षीय युवकले सरकारी आदेश नमानेको भन्दै छिमेकीलाई गोली हानेका हुन्। मुत्यु हुनेमा चार पुरुष र एक महिला छन्। ती युवकको अपार्टमेन्ट नजिकको अर्को अपार्टमेन्टबाट पाँचै जनाको शव बरामद भएको प्रहरीले जनाएको छ।
बाल्कोनीमा निस्किएर हल्ला गरिरहेका पाँचै युवालाई ती व्यक्तिले हल्ला नगर्न भनेपछि केहीबेर भनाभन भएको थियो। त्यसपछि घरभित्रबाट लाइसेन्स प्राप्त बन्दुक ल्याएर उनले पाँचै जनालाई गोली हानेका थिए।
पाँचै जनाको घटनास्थलमा नै मृत्यु भएको थियो। ती युवकले हत्या गरेको स्वीकार गरिसकेको रसियन समाचार संस्थालाई उधृत गर्दै सीएनएनले जनाएको छ।
रसियामा अहिलेसम्म ६ हजार ३४३ कोभिड–१९ संक्रमित भेटिएका छन्। तीमध्ये ४७ जनाको मृत्यु भएको छ भने ४०६ जना निको भएका छन्। रसिया युरोपको कम संक्रमित देशमा पर्छ।