बेलायती प्रधानमन्त्री जोनसन आईसीयुमा, स्वास्थ्यअवस्था गम्भीर
कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसन सघन उपचार कक्ष (आईसीयु) भर्ना भएका छन्। उनलाई सोमबार साँझ ७ बजे लन्डनको थोमस हस्पिटलको आईसीयुमा राखिएको हो।
आइतबार साँझ अस्पताल भर्ना भएका ५५ वर्षीय जोनसन सोमबार बिहान डिस्चार्ज हुनसक्ने जनाइएको थियो। तर, श्वासप्रश्वासमा समस्या भएपछि उनलाई सोमबार साँझदेखि आईसीयुमा राखेर अक्सिजन दिइएको छ। मार्च २७ मा कोभिड–१९ परीक्षण पोजेटिभ देखिएपछि उनी ‘सेल्फ क्वारेन्टिन’ मा थिए।
अहिले उनको अवस्था निकै खराब भएको प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटका प्रवक्तालाई उधृत गर्दै सीएनएनले जनाएको छ। अहिले जोनसन बोल्न सक्ने अवस्थामा रहेको र उनलाई सावधानीका लागि आईसीयुमा राखिएको पनि प्रवक्ताले जनाएा छन्।
यसअघि डाउनिङ स्ट्रिटले आइतबार सावधानीका लागि मात्र अस्पताल गएको जनाएको थियो। उनलाई संक्रमण देखिँदा पनि ‘मध्यमस्तरको’ भनिएको थियो।
प्रधानमन्त्री जोनसन अस्पताल भर्ना भएपछि विदेशमन्त्री डोमिनिक राबलाई मन्त्रिपरिषद्को जिम्मेवारी सुम्पिइएको छ। प्रधानमन्त्री जोनसनकै निर्देशन अनुसार आफूहरु चल्ने र कोभिड–१९ पराजित गर्न आफूहरु सक्षम रहेको राबले बताएका छन्।