बन्दाबन्दीको मौकामा गुपचुप पार्न खोजिएको एउटा हत्या
बन्दाबन्दी (लकडाउन) मा चहलपहलशून्य पर्साको बहुदरमाई रामनगरीकी उर्मिलादेवीको शुक्रबार राति हत्या भयो। वैदेशिक रोजगारीमा गएका श्रीमान् पर्खिरहेकी तीन छोरीकी आमाको हत्या किन र कसरी भयो ?
मधेशकी बुहारी– उर्मिलादेवी पण्डित। उमेर जम्मा २५ वर्ष। तीन छोरीकी आमा। १८ वर्षको उमेरमा जन्माएकी जेठी छोरी सात वर्षकी भइन् भने अर्की ४ र कान्छी डेढ वर्षकी छिन्। कान्छी छोरी गर्भमा हुँदा रोजगारीका लागि साउदी अरब गएका श्रीमान् उपेन्द्र उतै छन्। उपेन्द्रका भाइ पनि साउदीमै छन्। उनीहरु दुबै जना घर फर्कने दिन नजिकिंदै थियो।
घरमा ससुरा ५१ वर्षीय सुरेश पण्डित, सासू फूलकुमारी देवी र देउरानी २२ वर्षीया मालती देवी अनि उनका एक छोराको परिवार थियो। बन्दाबन्दी भएकाले सबै जना घरमै थिए।
वीरगञ्ज माइत र पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीमा घर भएकी उर्मिलादेवीले शुक्रबार रातिसम्म यही घरपरिवारलाई सर्वस्व मानेर बसिरहेकी थिइन्। तर, परिवार नै उनको काल बन्न पुग्यो। सबैभन्दा सुरक्षित ठानिने घरमै सासू, ससुरा र देउरानीले शुक्रबार राति उनकाे हत्या गरेपछि शनिबार राती जलाएर प्रमाण नष्ट गर्न खाेजेकाे प्रहरीको अनुसन्धानबाट देखिएको छ।
उर्मिलादेवीको शव प्रहरीले लगभग जलेको अवस्थामा घाटमा भेट्यो। प्रहरीले २२ चैत शनिबार राति त्रिमुहान खोला किनारको बाँसघारीको ओतमा शव जलाइँदै गरेको अवस्थामा भेटेको थियो।
घटनास्थलमा बाँकी रहेको हाडखोर प्रहरीले संकलन गरेको छ। उर्मिलाका सासू, ससुरा र देउरानी प्रहरी हिरासतमा छन्।
आरोपितहरूको कथन
उर्मिलादेवीको हत्या गरेको र प्रमाण नष्ट पार्न खोजेको अभियोगमा हिरासतमा रहेका सुरेश पण्डित, फूलकुमारी र मालती देवीले उनले आत्महत्या गरेको दाबी गरिरहेका छन्। उनीहरुको भनाइमा उर्मिलाले शुक्रबार राति झुण्डिएर आत्महत्या गरिन्। आत्महत्या गर्नुको कारण परपुरुषसँगको सम्बन्ध रहेको उनीहरूले बताएका छन्।
अभियुक्तहरूले उर्मिलाको मृत्युका विषयमा उनको माइती पक्षलाई फोन मार्फत जानकारी गराएको बताएका छन्। उनीहरूका अनुसार, माइती पक्षले आफूहरु आउन नसक्ने बताउँदै दाहसंस्कार गर्न भनेका थिए।
तर, प्रहरीको प्रारम्भिक अनुसन्धान, बरामद मुचुल्का र घटनास्थलमा पछिल्ला ७२ घण्टाका गतिविधिले उर्मिलाको घरमै हत्या गरेर शव गुपचुप रुपमा जलाइएको देखाएको छ। उनको स्वाभाविक मृत्यु वा आत्महत्या भएको भए घरमा अन्तिम संस्कारको कुनै गतिविधि हुनुपथ्र्यो, त्यस्तो केही पनि नदेखिएको प्रहरीको भनाइ छ।
पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्त जघन्य अपराधलाई सजिलै ढाकछोप गर्न सकिन्छ भन्ने भ्रम र पीडित पक्ष अगाडि आउन नमान्ने प्रवृत्तिका कारण यस्ता घटना दोहोरिने गरेको बताउँछिन्। उनी भन्छिन्, “उर्मिलाकै घटनामा छरछिमेकीहरू नै प्रतिक्रिया जनाउनबाट तर्किने गरेका छन्। मृतकका बुवालाई कानूनी प्रक्रियाका लागि जाहेरी दिन सम्झाउनुपरेको छ।” माइतीको आर्थिक अवस्था अति कमजोर रहेकाले पनि उनीहरू अगाडि आउन नचाहेको हुनसक्ने प्रहरी बताउँछन्।
उर्मिलाको अवसानपछि उनका तीन छोरी अलपत्र परेका छन्। हाल चारै नाबालकलाई उर्मिलाकी सासू फूलकुमारीको माइतीमा राखिएको छ।
प्रहरीले उर्मिलाको शव पहिचानका लागि घटनास्थलबाट बरामद भागको डीएनए परीक्षणका लागि काठमाडौं पठाएको छ।प्रहरीले मृतकको अनैतिक सम्बन्ध रहेको आरोप लगाएका युवा र घटनामा प्रत्यक्ष संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले अदालतको अनुमति लिएर मृतक, परिवारका सदस्य तथा शंकास्पदहरुको मोबाइल कल डिटेल र उनीहरुको लोकेशनका आधारमा समेत प्रमाण जुटाउनेछ।
इलाका प्रहरी कार्यालय पोखरियाका इन्चार्ज चन्द्रबहादुर सिंहले कर्तव्य ज्यान मुद्दामा म्याद लिएर थप अनुसन्धान भइरहेको बताए।