महामारीको वेला सुरक्षा सामग्रीबिनै काममा छन् सफाइ मजदुर
सीता नेपाली (३५) दुई वर्षदेखि एक अस्पतालमा सफा मजदुर छिन् । ६ जनाको परिवारसहित उनी १४ वर्षदेखि थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्छिन्। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि बन्दाबन्दी घोषणा भए पनि उनी हरेक दिन काममा जानुपर्छ।
अस्पतालमा उनका लागि विशेष सुरक्षा सामग्री केही छैन। सधैँजस्तै युनिफर्म र जुत्ता दिइएको छ। उनी भन्छिन्, “हामी अन्य समयमा पनि अनिवार्य मास्क, पञ्जा र छुट्टै यूनिर्फम लगाउछौँ तर, महामारीमा सामान्य मास्क र पञ्जाले मात्र हुँदैन।”
जोखिममा काम गर्नुपर्दा सधैँ मनमा त्रास भइरहने उनी बताउँछिन्। अस्पताल बिरामीहरुको जमघट हुने ठाउँ भएको र नेपालमा पनि धमाधम संक्रमित भेटिन थालेपछि काममा जानै समस्या भएको उनको भनाइ छ। “रोगसँग डराएर घरैमा बसौँ भने भोकै मरिन्छ, अस्पताल जाँदा घरकाले दुख पाउँने हुन् की भन्ने चिन्ता हुन्छ”, उनी भन्छिन्।
रमिला पोडे (४४) ले सडक बढार्न थालेको धेरै वर्ष भयो। उनी अहिले स्विपरको नाइके छिन्। चमतीमा बस्ने उनी आवश्यकता अनुसार सफाई मजदुरलाई काममा खटाउने र निगरानी गर्छिन्।
कोरोनाभाइरस संक्रमणको जोखिमबाट बचाउन सफाई मजदुरलाई विशेष सुरक्षा सामग्री केही नभएको उनी बताउँछिन्। उनी भन्छिन्, “कोरोनाभाइरसको यस्तो जोखिममा पनि सरकारले सफाई मजदुरका लागि सुरक्षाको कुनै व्यवस्था गरेको छैन।” हरेक पालिकाका प्रत्येक वडा कार्यालयले सफाई मजुदुरको सुरक्षाको लागि विशेष व्यवस्था गर्नुपर्ने उनको माग छ।
नेपालमा बन्दाबन्दी शुरु भएको १४ दिन भइसकेको छ। सबै क्षेत्रका सफाइ मजदुर नियमित काममा छन्। तर, सबै सफाइ मजदुर जोखिममा रहेको सफाइ श्रमिक संघ काठमाण्डौ महानगरपालिका अध्यक्ष योगेश केसी बताउँछन्।
सफाइ मजदुरहरु सरकारी कार्यलय, अस्पताल, सडक, घर, निजि कार्यालय लगायतमा काम गर्छन्। प्रत्येक सफाइ मजदुरलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउनु पर्ने उनी बताउँछन्।
महानगरपालिकाका सफाइ मजदुरलाई भने कोरोनाभाइरस संक्रमणबाट जोगाउन वडा कार्यालयहरूले मास्क, पञ्जा र सेनिटाइजर उपलब्ध गराउँछ। वातावरण विभागबाट सामान्य मास्क र पुनः प्रयोग गर्न सकिने पञ्जा उपलब्ध गराए पनि संक्रमणको जोखिमबाट जोगाउन नसक्ने केसी बताउँछन्।
टाढाबाट कार्यक्षेत्र धाउने मजदुरलाई झनै समस्या छ। उनी भन्छन्, “बाहिर निस्कन मनाही छ, गाडी चलेको छैन। सबैसंग यातायातको साधन उपलब्ध छैन्। प्रत्येक सरसफाइ मजदुरलाई महानगपालिकाले यातायतले आसार्ने व्यवस्था गरिदिनु पर्छ।”
बिकी देउला (४०) फोहोर व्यवस्थापन गर्ने गाडी चलाउँछन्। वडाले दिएको मास्कको भरमा काम गर्नुपर्ने बाध्यता भएको उनको गुनासो छ। विपत् वा महामारीको वेला न्यून आय भएका मजदुर नै समस्यामा पर्ने हुनाले सरकारले छुट्टै राहत प्याकेजको कार्यक्रम ल्याउनुपर्ने बताउँछन्।
उनी महीनाको एकपटक ३५ वटै वडामा फोहोर उठाउन पुग्नुपर्छ। उनी भन्छन्, “घरबाट बाहिर ननिस्के कोरोना आफै घरमा आउँदैन भनेर सरकारले रातदिन फुकिरहेको छ तर, निस्कनै पर्ने हामी जस्ता मजदुरलाई भने सँधै उपेक्षा छ।”
संयुक्त टे«ड युनियन समन्वय केन्द्र (जेटीसीसी) का अध्यक्ष पुस्कर आचार्य अन्य क्षेत्रका मजदुरभन्दा सफाइ मजदुर बढी जोखिममा रहेको बताउँछन्। त्यसकारण सरसफाई मजदुरको विषयमा सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ। उनीहरुलाई अनिवार्य पीपीई उपलब्ध गराउनुपर्ने पनि उनी बताउँछन्।
जेटीसीसीमा देशभरका तीन हजार सरसफाइ मजदुर संगठित छन्। आचार्य भन्छन्, “जसले सहरलाई दुषित, दुर्गन्धित हुनबाट जोगाउँछन् स्वयम् उनीहरु नै जोखिममा छन्।” सरकारले जोखिमका क्षेत्रमा काम गर्ने सबै मजदुरलाई सुरक्षाको मात्र नभइ राहतको पनि विशेष प्याकेज दिनुपर्ने उनी माग गर्छन्।