बेलायतका प्रधानमन्त्री जोनसन अस्पताल भर्ना
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरस (कोभिड-१९) संक्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन्। ५५ वर्षीय जोनसनको ज्वरो नघटेको र लक्षणहरु पनि एकनासको देखिइरहेकाले चिकित्सकहरुको सल्लाहमा अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले जनाएको छ।
उनलाई आइतवार साँझ लन्डन अस्पताल पुर्याइएको छ। सावधानीका लागि यो कदम चालिएको डाउनिङ स्ट्रीटको विज्ञप्तिमा उल्लेख छ।
उनलाई गत २७ मार्चमा कोभिड-१९ पोजेटिभ देखिएको थियो। क्वारेन्टिनबाटै उनले उनले सरकार नेतृत्वको जिम्मेवारी सम्हालिरहेका थिए। त्यति वेला भिडिओ सन्देश जारी गर्दै उनले आफूले क्वारेन्टिनबाटै काम गर्ने भन्दै सबै नागरिकलाई पनि बन्दाबन्दी पालना गर्न आह्वान गरेका थिए।
तर, उनी अस्पताल भर्ना भएपछि सोमवार बिहान हुने कोभिड-१९ सम्बन्धि कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता विदेशमन्त्रीले गर्ने छन्। जोनसन रातभरि अस्पतालमा नै रहने र सोमबार फर्किन सक्ने प्रधानमन्त्री कार्यालयकी प्रवक्तालाई उधृत गर्दै बीबीसीले जनाएको छ।
बेलायतमा अहिलेसम्म ४७ हजार ८०० भन्दा बढी संक्रमित फेला परेका छन्। चार हजार ९३४ जनाको मृत्यु हुँदा १३५ जना मात्र उपचारपछि निको भएका छन्।